बजेट थाहा छैन, महंगी मात्र थाहा हुन्छ !

 जेठ १५, २०७६ बुधबार ११:५१:२३ | बेदानन्द जाेशी
unn.prixa.net

बजेट सार्वजनिक हुँदै गर्दा सरकारी कर्मचारीका कान ठाडा भएका छन् । किनकी यसपाली तलब बढ्ने चर्चा छ । सामाजिक सुरक्षा भत्ता पनि बढ्न सक्ने आशाले बृद्धबृद्धा र अरु नागरिक पनि बजेटको पर्खाइमा छन् ।

तर कतिपय नागरिकलाई भने बजेटको त्यति वास्ता छैन । बजेट आउने बेला बजारमा बढेको महंगी र यसअघि बजेटमा भनेअनुसारका काम नभएको देख्दा नागरिकमा निराशा बढेको हो ।

बजेटको बारेमा नागरिक प्रतिनिधिका विचार जस्ताको तस्तै :

बजेट पनि नेताले नै ल्याउने होइन र ? 
– कान्छामान तामाङ (समाजसेवी)

हाम्रो पालामा त बजेट भनेको के हो भन्ने नै थाहा थिएन । अहिले अनेकथरी कुरा समेटेर बजेट आउँछ । के के नयाँ योजना ल्याए भन्छन् । ठूलाठूला भाषण ठोकेको मात्र सुनिन्छ । बजेटमा जति ठूला कुरा गरे पनि झन् पहिलेको भन्दा बिग्रेको छ देश । कसैलाई कसैको मतलबै छैन ।
 
पुलिसले लुट्छ, डाक्टरले लुट्छ, मस्टरले लुट्छ, पुजारीले लुट्छ । सबैले लुट्न मात्रै थाले । म त कुनै पनि राजनीति मन नपराउने मान्छे हो । भोट माग्ने बेला हात जोड्दै भोट माग्न म ठाउँ कति आए कति । मलाई नेताहरु मनै पर्दैनन् । बजेट पनि नेताले नै ल्याउने होइन र बाबु ? 

महंगी नबढाउने बजेट आउनुपर्छ
–रोशनी प्रधान (शिक्षिका)


साधारण नागरिकको इच्छा भनेको त महंगी नबढोस् भन्ने हो ।  साना व्यापारी र ठूला व्यापारीलाई एउटै किसिमको ट्याक्स छ । व्यापार अनुसारको ट्याक्स तिर्नु परोस् । दिनदिनैको महंगीबाट सर्वसाधारण पिल्सिनुपरेको छ । भ्रष्टाचार र घुसखोरीले गर्दा नै महंगी बढेको छ । महंगी नियन्त्रण होस् ।

ठूला बजेट ल्याउने भन्दा पनि कुन क्षेत्रमा कति बजेट ल्याउने अध्ययन गरेर मात्रै बजेट विनियोजन गर्नुपर्छ । अन्धाधुन्ध बजेट विनियोजन गर्दा असारे विकास मात्र हुन जान्छ । हेर्नुस् त बाटोमा जताततै पिच भैरहेको छ अहिले ।

त्यही भएर विनियोजन गरेको बजेट सही ठाउँमा सही ढंगले उपयोग भएको छ कि छैन भनेर सरकारले निगरानी गर्नुपर्यो । शिक्षाको बारेमा भन्नुपर्दा शिक्षामा एकदमै न्यून बजेट विनियोजन हुने गरेको छ । शिक्षा नै देशको मेरुदण्ड हो त्यही भएर शिक्षा क्षेत्रमा धेरैभन्दा धेरै बजेट विनियोजन गरियोस् । शिक्षालाई व्यवहारमुखी बनाउन सरकार लागिपरोस् ।

युवा केन्द्रित हुनुपर्छ
– उमेश केसी

युवाहरुलाई रोजगार प्रदान गर्ने विषयमा बजेट वृद्धि गर्नुपर्यो । मास्टर पढेर पनि १५ हजारको जागिर गरिरहेका छन् युवाहरु । शिक्षामा सुधार र बेरोजगारलाई रोजगारी दिनको लागि युवा केन्द्रित बजेट हुनुपर्यो ।

हुन त जति जोगी आए पनि कानै चिरेका भनेजस्तो हो । बजेट कसको लागि किन आउँछ भन्ने पनि थाहा हुँदैन सबैलाई । दुर्गम ठाउँमा अस्पतालदेखि शिक्षाको अवस्थामा स्तरोन्नति गर्नको लागि यो वर्षको बजेटले महत्वपूर्ण भूमिका खेलोस् ।
 
सबैलाई देशमा शान्ति छ भन्ने आभाष होस् । अहिले त बमको आतंक मात्र छ जताततै त्यसको लागि प्रहरी प्रशाशनदेखि सुरक्षा निकायमा पनि थप जनशक्ति भर्ना गरियोस् ।

हाम्रो देशको सबैभन्दा ठूलो समस्या नै भ्रष्टाचार हो । भ्रष्टाचारीले गर्दा देशको बजेट दुरुपयोग भइरहेको छ । बजेटलाई सही ढंगले सदुपयोग गर्न भ्रष्टचारलाई निर्मूल पारियोस् ।

बजेट थाहा छैन, महंगी चाहिँ थाहा हुन्छ
– महालक्ष्मी श्रेष्ठ 

मलाई त थाहा नै छैन यो बजेटको बारेमा । तर जे भए पनि बजेट आउने बेला महंगी बढेको चाहिँ थाहा भइहाल्छ, हाहाहाहा..... । राजाको पालामा त महंगो भयो कि बजेट आउने समय भयो भन्ने लाग्थ्यो । अहिले त दिनको दिन महंगी बढिरहन्छ ।

बजेट आउने बेला सामान लुकाएर व्यापारीहरुले छैन भन्छन् र महंगोमा बेच्न थाल्छन् । यस्तो किन हुन्छ ? सामानको भाउ नबढाएरै बजेट ल्याउँदा हुँदैन र ?

स्वदेशमै लगानी गर्ने व्यवस्था हुनुपर्छ
– काशिराम आचार्य (कपडा व्यापारी)

म आफू व्यापारी हो तर सबैभन्दा बढी बजेट कृषिमा लगाउनुपर्छ भन्छु । कृषिले नै यो देशको कायापलट गर्न सक्छ । सबै युवाहरुलाई विदेश जानबाट रोकेर स्वदेशमै लगानी गर्ने वातावरण मिलाइदिने हो भने दुख गर्न क्वै विदेश किन जान्थे र ।

कृषिमा लगानी गर्नेलाई बिना व्याजको ऋणको व्यवस्था सरकारले गरिदिनुपर्छ । त्यसको लागि अहिले नै बजेटको व्यवस्था गरिनुपर्छ । नेपाल ममिलो माटो भएको देश हो । यहाँ गर्मी हावापानी देखि अत्यन्तै चिसो हावापानीमा पाइने खाद्यन्नबाली उब्जाउन सकिन्छ ।

अब विदेशबाट नेपालमा आयात गर्ने होइन, नेपालमा उत्पादन गरेर विदेश निर्यात गर्ने वातारणको सिर्जना गर्नुपर्छ । त्यसको लागि सरकारले कृषि क्षेत्रमा लगानी गर्नको लागि युवाहरुलाई विभिन्न अभिमूखिकरण कृषि तालिम दिने र उत्पादन भएको वस्तुको उचित मूल्यमा बेच्ने जिम्मा लिनुपर्ने हुन्छ ।

रोजगारी र तलब वृद्धि
– गंगा बलामी 


सबैभन्दा पहिला त हामीलाई रोजगारी चाहियो । त्यसको लागि सरकारले धेरैभन्दा धेरै मात्रामा जागिरका अवसरहरु प्रदान गर्नुपर्‍यो । त्यसपछि तलब वृद्धि होस् । अहिले एकदमै कम तलब दिएर काम गराउने अनि समयमै तलब नदिने गर्छन् । सबैको क्षमताको बराबर सम्मान होस् र महिला पुरुष सबैलाई बराबरी ज्यालाको व्यवस्था गरियोस् ।

महिला सशक्तिकरणको लागि पनि बजेटको आवश्यकता छ जस्तो लाग्छ । अझै पनि हाम्रो देशमा महिलाहरु अगाडि बढ्न डर मान्ने अवस्था छ । महिला हिंसाको पूर्णतया अन्त्य हुनुपर्छ । 

बजेट आउनु र नआउनु उस्तै लाग्छ
–केशव अर्याल, ठेलागाडा व्यापारी

२७ वर्ष भयो यसरी फलफूलको व्यापार गर्न थालेको । बजेटले हामीलाई के नै प्रभाव पार्छ र ? मलाई त केही बजेट आए पनि नआए पनि केही हुनेवाला छ जस्तो लाग्दैन ।

आफूले मेहनत नगरेसम्म यो बजेटले केही पनि दिने होइन । सरकारको मुख ताकेर बस्ने हो भने त केही पनि हुनेवाला छैन । बजेट उनीहरुकै लागि आउँछ, जसको पहुँच हुन्छ, जसले पैसा पचाउन सक्छन् । प्रशंसा गर्नजस्तो त अहिलेसम्म केही पनि देखेको छैन मैले ।

न त युवाहरुको सीप चिन्न सकेको छ यो सरकारले । न त गरिखान्छु भन्नेलाई पनि खान दिएको छ । जता हेर्यो त्यतै असन्तुष्टी मात्रै छ । तर पनि राम्रो ठाउँमा बजेट लगाउने हो भने त देशको विकास हुन के बेर लाग्छ र । जस्तो विद्युतमा बजेट छुट्यायो भने हुन्छ । यस्तै जडिबुटी प्रशोधन गरेर युवाहरुले राम्रो कमाइ गर्ने बाटो तयार पारिदियो भने  हुने थियो ।

महिलाहरुको पक्षमा हुनुपर्छ
– बबी नकर्मी 

मलाई त अबको बजेट महिलाहरुको पक्षमा होस् जस्तो लाग्छ । महिलाहरु धेरै ठाउँबाट पछि परेका छौँ । शिक्षा पाउनेदेखि जागिर पाउनेसम्म सबै ठाउँमा महिलालाई प्राथमिकता दिइनुपर्यो । खानेपानीको समस्या छ काठमाण्डौमा ।

काठमाण्डौमा पहिले बिजुलीको समस्या थियो । अहिले पानीको समस्या भैरहको छ । मेलम्चीको पानी आयो भने हुन्थ्यो, त्यो पनि पैसा नपुगेर रोकिएको त होला । हो यस्ता यस्ता ठाउँमा बजेट विनियोजन गर्नुपर्यो । मन्त्रीहरुको विदेश भ्रमणमा बजेट खर्च भएपछि कहाँ हुन्छ त ?

हामीले आश गरेर केही हुन्न
– राम मगर (दृष्टिविहीन)


जति ठूलो बजेट आए पनि हामीसम्म पुग्दैन । हामीहरुले त आशा गर्नु बेकार हो । कति सरकार परिवर्तन भए, कति आन्दोलन भए, हामीहरुको लागि केही बन्यो त ? दिनभरी घाम पानी नभनेर सडकमा बसेन भने राति भोकै बस्नुपर्ने अवस्था आउँछ । 

हामीहरुको लागि त सरकारले सीप सिकाइदिएर आत्मनिर्भर पो बन्न प्रेरित गर्नुपर्ने हो त । यहाँ त सीप भएकाहरु पनि केही काम नपाएर यी यसरी मागेर खानुपरेको छ । नत्र मागेर खाने रहर कसलाई हुन्छ र ? 

बजेट ल्याउनेहरुको थोरै पनि दिमाग छ भने, हामी अपाङ्गता भएका व्यक्तिहरुको हितमा होस् भन्ने लाग्छ । हामीलाई राज्यका हरेक सेवाहरु निःशुल्क पाइयोस् । कि त रोजगार दिनुपर्यो, हैन भने हाम्रो परिवारको खर्चको जिम्मा राज्यले नै उठाओस् भन्न चाहान्छु ।


 

अन्तिम अपडेट: चैत १४, २०८०

बेदानन्द जाेशी

उज्यालाेमा कार्यरत बेदानन्द जाेशी वैदेशिक रोजगारी र समसामयिक विषयमा कलम चलाउनुहुन्छ। 

तपाईको प्रतिक्रिया