प्रयोग हुँदैनन् परिवार नियोजनका साधन, गर्भपतन गर्ने महिलाको संख्या बढ्दो

 असार २०, २०७५ बुधबार ७:५१:२ | प्रकाश धौलाकोटी
unn.prixa.net

तेह्रथुम – जिल्ला अस्पतालका डा.मुक्तिनारायण शाह सहित स्वास्थ्यकर्मीहरुको टोली जेठको पहिलो साता पुरुष स्थायी बन्ध्याकरण अर्थात् भ्यासेक्ट्रोमी शिविरका लागि पूर्वी सक्रान्ति बजार पुग्यो । आठराई गाउँपालिकालाई लक्षित गरी आयोजित एक दिने शिविरमा एक जना पनि सेवाग्राही आएनन् । सक्रान्ति बजारमा मात्रै हैन, कार्यालयले छथर र फेदाप गाउँपालिकामा आयोजना गरेको शिविरमा पनि सेवाग्राही आएनन् ।

जिल्लाका सबै स्थानीय तह र जिल्ला अस्पतालमा समेत दुई सातासम्म सञ्चालित यो शिविरबाट जम्मा सात जनाले मात्रै सेवा लिए । छथर गाउँपालिकाका विभिन्न स्वास्थ्य संस्थामा सञ्चालित आईयूसीडी र इम्प्लान्ट शिविरमा पनि उल्लेख्य महिलाले सेवा लिएनन् ।

शिविरबाट २९ जना महिलाले मात्रै इम्प्लान्ट सेवा लिए । मेन्छ्यायेम गाउँपालिका क्षेत्रभरि सेवा दिँदै आएको मोराहाङ स्वास्थ्य चौकीको सामाजिक परीक्षण पछि स्वास्थ्य चौकीले सार्वजनिक गरेको एक तथ्यांकमा गाउँपालिका क्षेत्रका सक्रिय यौन उमेरको जनसंख्यामध्ये १५ प्रतिशतले मात्रै परिवार नियोजनका साधनहरु प्रयोग गरेको उल्लेख छ । जिल्लामा परिवार नियोजनका साधन प्रयोग गर्नेको संख्या न्युनमात्रै रहेको छ ।

परिवार नियोजनका साधन प्रयोग गर्नेमध्ये पुरुषको संख्या झनै कम रहेको छ । परिवार नियोजनका साधनको विषयमा जानकारी अभाव तथा लाज र डरका कारण सर्वसाधारणले परिवार नियोजनका साधन प्रयोग गर्दैनन् । जिल्ला स्वास्थ्य कार्यालयले परिवार नियोजनका साधनबारे सचेतीकरण र प्रयोगको दरलाई बढाउन बर्सेनि लाखौँ रुपैयाँ खर्च गर्दै आएको छ । तर त्यो लगानी बालुवामा पानी सरह भइरहेको छ ।

कार्यालयले लाखौँ खर्चिएर सञ्चालन गरेको भ्यासेक्ट्रोमी शिविरमा यो वर्ष ७ जनाले मात्रै सेवा लिएका छन् । पुरुषले प्रयोग गर्ने एकमात्र स्थायी परिवार नियोजनको यो साधन प्रयोग गर्ने सेवा जिल्ला अस्पतालबाहेक अन्यत्र छैन । जिल्ला अस्पतालमा समेत ओपीडीमार्फत एक जनाले पनि सेवा लिएका छैनन् । वर्षमा एक पटक सन्चालन हुने शिविरमा बल्ल ७ जनाले सेवा लिएका हुन् । महिलाले प्रयोग गर्ने स्थायी साधनहरु आईयूसीडी र इम्प्लान्ट प्रयोग गर्नेको संख्या पनि न्यून छ ।

परिवार नियोजनका सबै साधनहरु सरकारी स्वास्थ्य संस्थाहरुमा निःशुल्क पाइन्छन् । सर्वत्र उपलब्ध हुने कन्डमको समेत अत्यन्तै न्यून प्रयोग हुने गरेको तथ्यांकले देखाएको छ । जिल्ला स्वास्थ्य कार्यायलको तथ्यांक अनुसार आर्थिक वर्ष २०७३÷०७४ मा १ हजार ३ सय ५२ जना कन्डम प्रयोग गरेका छन् । ५ सय ५० जनाले पिल्स सेवन गरेका थिए भने १ हजार ५ सय १८ जनाले डिपो लगाएका थिए । यो वर्ष जिल्लाका ३ सय १० जनाले इम्प्लान्ट प्रयोग गरे भने ४० जनाले आईयूसीडी सेवा लिएका जिल्ला स्वास्थ्य कार्यायलका सूचना अधिकारी लभरेन्ज शाहले बताउनुभयो ।

सर्वसाधारणले स्वास्थ्य संस्थाबाट परिवार नियोजनका साधन ल्याएर प्रयोग गर्न नै असहज मान्ने गरेका पाइएको छ । कार्यालयका परिवार नियोजन शाखाका प्रमुख भन्नुकुन्छ, ‘हामीले जिल्लाका सबै स्वास्थ्य संस्थाबाट विभिन्न प्रकारका परिवार नियोजन सेवा दिइरहेका छौँ, तर लाज र डरका कारण धेरैले त्यस्तो सेवा लिदैनन् ।’

गाउँ–गाउँसम्म सूचना प्रवाह गर्न विभिन्न सञ्चार माध्यम, स्वास्थ्य चौकीहरु र महिला स्वास्थ्य स्यवमसेविकाहरुलाई परिचालन गरे पनि परिवार नियोजनका साधन प्रयोगको दर बढ्न नसकेको उहाँले बताउनुभयो । दुई नगरपालिका र चार वटा गाउँपालिका रहेको जिल्लामा ०६८ को जनगणना अनुसार कुल जनसंख्या १ लाख १ हजार ५ सय ७७ रहेको छ । त्यसमध्ये करिब ३० हजार जनसंख्या सक्रिय यौन उमेरका रहेका जिल्ला जनस्वास्थ्य अधिकृत कृष्णदेव यादव बताउनुहुन्छ ।

उहाँ भन्नुहुन्छ, ‘त्यतिका धेरै जनसंख्या यौन उमेरको छ, तर परिवार नियोजनका साधनको प्रयोग अत्यन्तै न्यून छ, यो कसरी सम्भव छ ? । उहाँले परिवार नियोजनका साधनको प्रयोगको कमीका कारण अनिच्छित गर्भधारण धेरै भएको हुनसक्ने अनुमान लगाउनुभयो । जिल्लामा पुरुषहरुले परिवार नियोजनका साधनहरु प्रयोग गर्न नमान्ने गरेकाले पनि त्यो सख्ंया कमी भएको हो ।

जिल्ला अस्पतालकै गाइनोलोजिष्ट डा.रोहितकुमार झा पनि गर्भपतनलाई परिवार नियोजनको साधनको रुपमा लिने गरेकाले परिवार नियोजनका साधनको प्रयोगको कमी भएको बताउनुहुन्छ ।

जिल्ला अस्पतालसहित अन्य मातहतका १४ वटा स्वास्थ्य संस्थाबाट अहिले मान्यताप्राप्त चिकित्सकले सूचिकृत स्वास्थ्य संस्थाको रुपमा गर्भपतन सेवा प्रदान गर्दै आएका छन् । ती स्वास्थ्य संस्थामा सुरक्षित गर्भपतन सेवा सुरु भएको छोटो अवधिमा नै दुई सय बढीले सेवा लिएपछि जिल्लामा परिवार नियोजनका साधनको प्रयोग अत्यन्तै न्युन भएको प्रति सरोकारवालाको ध्यान गएको हो ।

अहिले सुरक्षित गर्भपतन सेवा सुरु भएपछि यो भन्दा अगाडि धेरैले असुरक्षित गर्भतपन गराउदै आएका सरोकारवालाको अनुमान छ । गर्भधारण पछि महिलाले औषधि पसलबाट जथाभावी रुपमा औषधी खदिर गरी प्रयोग गर्ने गरेका छन् ।

गर्भधारण गरी गर्भपतन गर्नेमध्ये ५८ प्रतिशतले अझै पनि असुरक्षित गर्भपतन गर्ने गरेका छन् । सुरक्षित गर्भपतन गर्न पाइने कानुनी प्रावधानबारे अझै पनि ४१ प्रतिशतमात्रै जानकार रहेका छन् । 
 

अन्तिम अपडेट: बैशाख ५, २०८१

प्रकाश धौलाकोटी

उज्यालोका तेह्रथुम सहकर्मी प्रकाश धौलाकोटी रेडियो तेह्रथुममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया