सरकारी कर्मचारीको तलब बढ्यो, कसको कति पुग्यो ?

 जेठ १५, २०७६ बुधबार २०:५१:१४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – सरकारले आर्थिक वर्ष २०७६/०७७ को बजेटमा सरकारी कर्मचारीको तलब बढाएको छ ।

आर्थिक वर्ष २०७६/७७ को लागि सार्वजनिक भएको बजेटमा सरकारी कर्मचारीको तलब बढेको छ । आउँदो आर्थिक वर्षमा राजपत्र अनंकितको २० तथा अंकितको लागि १८ प्रतिशत तलब बढाइएको छ । आर्थिक वर्ष २०७३/७४ मा सरकारले कर्मचारीको तलब २५ प्रतिशत बढाएको थियो । 

संसदमा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले नायब सुब्बासम्म २० प्रतिशत र त्यसभन्दा माथि १८ प्रतिशतले तलब बढाइएको घोषणा गर्नुभएको हो । सरकारले विभिन्न पदमा विभिन्न आधारमा तलब बढाएको हो ।

कसको कति पुग्यो ?

अहिले १८ हजार ३ सय ४० रुपैयाँ तलब रहेको कार्यालय सहयोगीको तलब २० प्रतिशतले बढ्दा २२ हजार ८ रुपैयाँ हुन जान्छ । त्यस्तै खरिदार तहका कर्मचारीले २२  हजार १ सय ७० रुपैयाँ तलब बुझ्दै आइरहेकोमा अब उनीहरुको तलब २६ हजार ६ सय ४ रुपैयाँ पुग्छ । सुब्बा तहका कर्मचारीले २३ हजार ५ सय रुपैयाँ तलब बुझ्दै आइरहेका छन् भने अब उनीहरुले २८ हजार २ सय बुझनेछन् । 

अधिकृत स्तर र यसमाथिका कर्मचारीको तलब  पनि १८ प्रतिशतले बढाइएको छ । ३० हजार ५ सय रुपैयाँ बुझ्दै आइरहेका अधिकृत स्तरका कर्मचारीले अब ३५ हजार ९ सय ९० रुपैयाँ बुझ्नेछन् । त्यस्तै उपसचिवको तलब पनि ३४ हजार २ सय २० बाट बढेर ४० हजार ३ सय ७९ रुपैयाँ पुगेको छ ।  

त्यस्तै सहसचिवको तलब ४० हजार १ सय ५० बाट बढेर ४७ हजार ३ सय ७७ पुगेको छ । सचिवको ५१ हजार ४ सय २० बाट झण्डै ९ हजारले बढ्दा ६० हजार ६ सय ७५ रुपैयाँ पुगेको छ । मुख्य सचिवको ५५ हजार २ सय बढेर ६५ हजार १ सय ३६ रुपैयाँ पुगेको छ । 

योसँगै राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, प्रधानन्यायाधीश, मन्त्री, सांसद, मन्त्री र राज्यमन्त्रीको पनि तलब बढ्छ । तलब बढाउनका लागि कर्मचारीहरुले सरकारलाई निरन्तर दबाब दिँदै आइरहेका थिए ।  

 
 

अन्तिम अपडेट: बैशाख २, २०८१

तपाईको प्रतिक्रिया