इजरायल : प्रधानमन्त्री नेतान्याहूले सरकार बनाउन नसकेपछि पुनः निर्वाचन

 जेठ १६, २०७६ बिहिबार १८:३१:४ | एजेन्सी
unn.prixa.net

इजरायलका सांसदहरुले बुधबार राति बहुमतको मद्दतमा संसद भंग गर्ने फैसला गरेका छन् । अब इजरायलमा एकै वर्ष दोस्रो पटक संसदीय चुनाव हुने भएको छ । 

प्रधानमन्त्री बेन्यामिन नेतान्याहूले बुधबार र बिहीबारको मध्य रातसम्म गठबन्धनको सरकार बनाउन नसक्दा संसद भंग भएको हो । अब आगामी १७ सेप्टेम्बरमा पुनः चुनाव हुने भएको छ । ‘हामी फेरि चुनाव जित्नेछौं’, नेतान्याहूले भनेका छन् । 

सांसदहरुको ७४ मतबाट संसद भंग भएको हो । गएको अप्रिलमा भएको आम चुनावमा कुनै पनि दललाई स्पष्ट बहुमत पाएका थिएनन् । १ सय २० सदस्यीय संसदमा नेतान्याहूको लिकुड पार्टीले सबैभन्दा धेरै ३६ सिट जितेको थियो । मुख्य प्रतिद्वन्द्वी ब्लू एण्ड ह्वाइट पार्टीको खातामा ३५ सिटमात्र आएको थियो । 

बचेको सिटमा साना पार्टीहरुले जितेका थिए । बहुमत नपुग्दा पनि नेतान्याहू पाँचौ पटक सत्ता सम्हाल्ने तयारीमा जुटेका थिए । उनले राष्ट्रवादी र धार्मिक दलको सहयोगमा गठबन्धन सरकार बनाउने दाबी गरेका थिए । नेतान्याहू सन् २००९ देखि इजरायलका प्रधानमन्त्री छन् । 

इजरायलको संवैधानिक व्यवस्था अनुसार, चुनाव भएको ५० दिनभित्र नयाँ सरकार गठन हुनुपर्छ । यस्तो नहुँदा संसद भंग गर्ने र पुनः चुनाव गर्ने प्रावधान छ । 
 

अन्तिम अपडेट: बैशाख ७, २०८१

तपाईको प्रतिक्रिया