एस जयशंकर : नेपालमा नाकाबन्दीदेखि भारतीय ‘विदेश मन्त्री’ सम्म

 जेठ १७, २०७६ शुक्रबार १०:२५:३३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – बिहीबार भारतको १५औँ प्रधानमन्त्रीका रुपमा नरेन्द्र मोदीले सपथ ग्रहण गरेका छन् । साथै उनको मन्त्रिमण्डलमा क्याबिनेट मन्त्री र राज्यमन्त्री गरी ५७ जनाले पनि सपथ लिएका छन् । 

नरेन्द्र मोदीले आफ्नो दोस्रो कार्यकालका लागि केही नयाँ अनुहार थपिएका छन् ।  प्रधानमन्त्री नरेन्द्र मोदीपछिको वरीयतामा बीजेपी अध्यक्ष अमित शाहलाई राखिएको छ । सम्भवतः उनलाई वित्त मन्त्रालयको जिम्मेवारी दिइने छ । त्यस्तै यस पटक निकै चर्चामा रहेका मोदी मन्त्रिमण्डलका सदस्य हुन् भारतका पूर्व विदेश सचिव सुब्रमण्यम(एस) जयशंकर । उनी भारतका सफल कुटनीतिज्ञ मानिन्छन् ।

त्यसैले पनि उनले मोदी क्याबिनेटमा विदेश मन्त्रीको जिम्मेवारी पाउने प्रबल सम्भावना रहेको छ । अघिल्लो कार्यकालमा मोदी सरकारमा विदेश मन्त्री रहेकी सुषमा स्वराज स्वास्थ्य अवस्थाका कारण चुनावमा उठेकी थिइनन् । त्यसैले पनि विश्व मञ्चमा भारतीय कुटनीतिलाई अझ प्रगाढ बनाउन सक्ने व्यक्तिको रुपमा एस जयशंकरलाई चुनिएको हुन सक्ने विश्लेषकहरु बताउँछन् । 

एस जयशंकरलाई कुटनीतिक महारथ बुवा के सुब्रमण्यमबाटै विरासतमा प्राप्त भएको हो । उनी भारतका प्रमुख रणनीतिक विश्लेषकका रुपमा चिनिन्छन् । जयशंकर लोकसभा चुनावमा उम्मेदवार नबनेकाले मन्त्री पदमा रहिरहनका लागि उनले राज्यसभाको आउँदो चुनावमा भाग लिनुपर्ने हुन्छ । 

विदेश सचिवका रुपमा जयशंकर

सरकारमा आएको आठ महिनाभित्रै मोदी सरकारले सन् २०१५ मा तत्कालीन विदेश सचिव सुजाता सिंहलाई हटाएर एस जयशंकरलाई नियुक्त गरेको थियो । सुजाता सिंहको नियुक्ति कांग्रेस नेतृत्वको यूपीए सरकारको पालामा भएको थियो । कार्यकाल समाप्त हुनुअघि नै उनलाई मोदी सरकारले हटाएको भन्दै जयशंकरको नियुक्ति विवादमा परेको थियो । 

तर केही मिडिया रिपोर्टका अनुसार पूर्व प्रधानमन्त्री मनमोहन सिंहले सन् २०१३ मा जयशंकरलाई विदेश सचिव नियुक्त गर्न चाहन्थे । अन्तिम समयमा सुजाता सिंहलाई मनमोहनले विदेश सचिवमा नियुक्त गरेका थिए । 

डिप्लोम्याट जयशंकर

दिल्लीको सेन्ट स्टिफन कलेजमा अध्ययन गरेका जयशंकरले राजनीति विज्ञानमा एमफिल गरेका छन् । साथै उनले जेएनयूबाट पीएचडीसमेत गरेका छन् । उनी परमाणु कुटनीतिका जानकार मानिन्छन् । 

अन्तराष्ट्रिय राजनीतिक क्षेत्रमा जयंशकर एक कुटनीतिज्ञका रुपमै चिनिन्छन् । भारतीय विदेश सेवामा सन् १९७७ का ब्याचका कर्मचारी रहेका उनको पहिलो पोस्टिङ रुसस्थित भारतीय दूतावासमा भएको थियो । उनी तत्कालीन भारतीय राष्ट्रपति शंकरदयाल शर्माका प्रेस सचिव पनि भएका थिए । 

त्यसपछि विदेश मन्त्रालयका अण्डर सेक्रेटरी समेत रहेका थिए । अमेरिकास्थित भारतीय दूतावासमा प्रथम सचिव रहेका जयशंकर श्रीलंकामा भारतीय सेनाको राजनैतिक सल्लाहकारका रुपमा सकेत काम गरेका थिए । त्यसपछि उनी जापान र चेक रिपब्लिकका लागि भारतको राजदूतका रुपमा पनि काम गरे । 
चीनसँग वार्ताका माध्यमबाट डोक्लाम विवाद समाधानका लागि जयशंकरको ठूलो भूमिका रहेको बताइन्छ । 

यस्तो छ टिम मोदी : केही पुराना, केही नयाँ अनुहार

जयशंकरले भारत–अमेरिका असैन्य परमाणु सम्झौताका लागि पनि महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । यसै वर्ष पद्मश्री पुरस्कार पाएका भारतीय विदेश सेवाका वरिष्ठ अधिकारी जयशंकर विदेश सचिवका रुपमा पनि काम गरेका छन् । 

मोदी निकटका मान्छे

मोदी मन्त्रिमण्डलमा जयशंकर मात्रै एक गैरराजनीतिक अनुहार हुन् । पूर्व विदेश सचिव एस जयशंकरको क्याबिनेटमा ‘सरप्राइज इन्ट्री’ मानिए पनि उनी मोदीका प्रिय प्रशासनिक अधिकारी मानिन्छन् । 

विदेश सचिवका रुपमा उनको कार्यकाल २०१७ मै सकिन्थ्यो तर सन् २०१८सम्म उनको कार्यकाल लम्ब्याइएको थियो । सन् २०१८ सम्म प्रायजसो मोदीको हरेक विदेश यात्रामा जयशंकर पनि जान्थे । सन् २०१८ मा सेवाबाट अवकाश पाएपछि भने उनी टाटा समूहका वैश्विक कोर्पोरेट मामिलाका अध्यक्षका रुपमा काम गरेका थिए । 

अहिले नै जयशंकरलाई कुन मन्त्री दिइनेछ भन्ने स्पष्ट नभए पनि धेरैले विदेश मन्त्रीको जिम्मेवारी पाउने अड्कलबाजी गरेका छन् । भारतीय वरिष्ठ पत्रकार नीरजा चौधरीका अनुसार भारतले वर्तमान समयमा अमेरिका र चीनका साथ काम मिलेर काम गर्नु आवश्यक रहेको छ । त्यसैले पनि जयशंकरलाई छान्नु भारतीय विदेश नीतिका लागि महत्वपूर्ण कदम मानिनेछ । 

नेपाल कनेक्सन

भारतीय विदेश सचिव एस जयशंकर नेपालको संविधान जारी हुनुुभन्दा ठिक २ दिनअघि नेपाल आएका थिए ।

संविधानसभाबाट नयाँ संविधान जारी हुन लागेको बेला भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका विशेष दूतका रुपमा उनी विक्रम संवत २०७२ साल असोज १ गते नेपाल आएका थिए । उनले राष्ट्रपति र प्रधानमन्त्रीसहितका प्रमुख दलका शीर्ष नेतालाई भेटेर संविधान जारी नगर्न दबाब दिएका थिए । 

उनले मधेशी समुदायको सहमति लिएर मात्रै संविधान जारी गर्ने कुरामा अघि बढ्न नेपाली नेताहरुलाई दबाब दिएका थिए । भारतले चाहेको अनुसारको संविधान जारी गर्न उनले दबाब दिए पनि नेपाली कांग्रेसका सुशील कोइराना, तत्कालीन एमालेका केपी शर्मा ओली तथा तत्कालीन माओवादीका पुष्पकमल दाहाललगायतले उनको प्रस्ताव अस्वीकार गरेका थिए ।

भारतको प्रस्ताव नमानेकैले नेपालले ६ महिना भारतीय नाकाबन्दीको मार खेप्नु परेको थियो । यस्तो अवस्थामा एस जयशंकरलाई विदेश मन्त्रीमा नियुक्त गरेपछि नेपाल–भारतबीच कस्तो कुटनीतिक सम्बन्ध रहला भन्ने धेरैलाई चासो रहेको छ ।

 

–बीबीसी हिन्दीको सहयोगमा 
 

अन्तिम अपडेट: चैत १५, २०८०

तपाईको प्रतिक्रिया