बम र बारुद छल्दै लिबियाबाट नेपाल

 जेठ १७, २०७६ शुक्रबार १५:४२:० | सन्जिता देवकोटा

काठमाण्डौ – मान्छेले जिन्दगीको माया कति बेला मार्छ ? शायद कसैले पनि यस्तो क्षणको कल्पना गर्दैनन् होला, जतिबेला जिन्दगीकै माया मार्न परोस् ।

तर कमाउनका लागि पाँच लाख रुपैयाँ एजेण्टलाई बुझाएर लिबिया पुगेका गणेश थापा मगरले जब आफ्नै आँखा अगाडि बम पड्किएर मानिस मरेको देख्नुभयो, तब आफ्नै जिन्दगीको पनि माया मार्नुभयो । 

काम गरिरहँदा कान दुख्ने गरि बम पड्केको सुनिन्थ्यो । खाना खाँदा होस् या काममा, जतिबेला पनि बम आफैं माथि खस्ने हो कि भनेर मुटु ढुकढुक भैरहन्थ्यो । ती दिन सम्झँदै गणेश भन्नुहुन्छ ‘घर फर्किने आश त मरिसकेको थियो, लाग्थ्यो जिन्दगी यति नै रहेछ, अन्तिम नै रहेछ, कसरी बाँचेर फर्कियौं भन्ने त भोग्नेलाई मात्र थाहा हुन्छ ।’

आफूले आफ्नै मृत्यु कुर्दाको अत्यास कस्तो होला ? गणेशले भनेजस्तै भोग्नेलाई मात्र थाहा हुन्छ । आफूले मात्र हैन, परिवारका सदस्यलाई पनि सपना बाँडेर कमाउन परदेशिएका गणेश जस्तालाई थाहा हुन्छ । 

गणेशलाई त्यो बेला दुईटा पीर थिए । एउटा, आफ्नो अवस्था परिवारलाई थाहा नहोस् भन्ने लाग्थ्यो । अर्को आफू कुन पनि बेला मरिन्छ भन्ने ठेगान थिएन । 

गणेशको जस्तै सिन्धुपाल्चोकका कृष्ण कोइरालाको पनि जिउँदै घर फर्किने आश मरिसकेको थियो ।‘ भन्नुहुन्छ ‘बस्ने क्याम्पभन्दा अलि पर ड्याङ ड्याङ पड्कन्थ्यो, बमका छर्राहरु हावामा उड्थे’ कृष्णले सम्झनुभयो, ‘बम पड्किएको आवाज कानमा पर्दा मनमा चाहिँ परिवार आउँथे ।’ 

मरिन्छ भन्ने चिन्ताले भन्दा पनि कतिबेला चाहिँ मरिन्छ भन्ने बढी चिन्ता हुन्थ्यो दुवैलाई । न रातभरि निद्रा लाग्थयो, न दिउँसो ढुक्क भएर सास फेर्न सकिन्थ्यो । 

गणेशलाई एक दिन लाग्यो – ‘मरियो भने मरियो, तर बाचुञ्जेल त यो ठाउँबाट फर्किने कोशिस गरौं ।’

साथमा फोन थियो । तर कहाँ फोन गर्दा आफ्नो समस्या सुनुवाइ हुन्छ पत्तो पाउनुभएन । क्याम्पमा भएका स्थानीयसँग मोबाइल मागेर फेसबुकमा नेपालका मिडियामा आफूलाई बचाइदिन अनुरोध गर्नुभयो । 

गणेशलाई मिडियाकर्मीले नै वैदेशिक रोजगार विभाग अन्तर्गत टोल फ्रीको नम्बर उपलब्ध गराए । बाँच्ने आशसहित गणेशले नम्बर डायल गर्नुभयो ।

‘हामीलाई बचाइदिनुस् भन्दै आएको त्यो फोन’

वैदेशिक रोजगार विभागको टोल फ्रिमा बस्ने सुजना राना दिनहुँ समस्यामा पर्ने धेरैको फोन उठाउनु हुन्छ । तर त्यो २०७५ चैत ३ गते आएको गणेशको फोन अरु धेरैको भन्दा फरक थियो । सूचना परामर्शकर्ता सुजना राना भन्नुहुन्छ ‘अरुले फोन गर्दा समस्याका भारीहरु सुनाउँथे । तर गणेशले भन्नुभयो, ‘हामीलाई बचाइदिनुस्, हामी लिबियामा छौं ।’ 

सुजना गणेशले फोनमा भनेको कुरा सम्झँदै भन्नुहुन्छ, ‘उहाँले म मात्रै हैन, १५/१६ जना नेपाली यहाँ फसेका छौं भन्नुभयो । लेबनान देशमा काम गरेर फर्केकी सुजनालाई अचम्म लाग्यो उनीहरु कसरी पुगे त्यस्तो देशमा भनेर । त्यसपछि बिभागको टोली सबै निकायसँग समन्वय गर्न थाल्यो । 

सुजनाले उनीहरुको उद्धारका लागि प्रवासी नेपाली समन्वय समिति (पीएनसीसी)सित कुरा गर्नुभयो । युद्धग्रस्त देश लिबियामा फसेका गणेशसहित अरु नेपालीको उद्धारका लागि पीएनसीसीले अन्तर्राष्ट्रिय आप्रवासन संगठन (आईओएम)सँग समन्वय गर्‍यो । 

दुई महिनाभन्दा लामो प्रयासपछि गणेश र कृष्णसहित १५ जना नेपाली गएको जेठ ८ गते नेपाल फर्किए । आईओएमले उद्धार गरी टर्की हुँदै १५ जनालाई काठमाडौ  पठाएको हो ।

काठमाडौबाट उड्दा पनि लिबिया भन्ने थाहा थिएन

२०७१ सालमा यूएई गएका गणेश तीन वर्षमा घर फर्किनुभएको थियो । फस्ट सेक्युरिटी कम्पनीमा ‘अफिस ब्वाई’ को काम गर्नुहुन्थ्यो ।

महिनाको तलब मासिक १५ सय दिर्हाम थियो । घर खर्च कटाएर तीन वर्षमा कमाएको पैसाले उहाँले गाउँमा पाँच वटा खोर बनाउनुभयो । योजना बंगुर पाल्ने थियो।

एउटा खोरमा तीन वटा बंगुरका बच्चा पनि हाल्नुभयो । तर, रुपन्देहीको सैनामैनामै व्यवसाय गर्ने योजना बिस्तार गर्न पैसा पुगेन । ब्यवसाय गर्न कसैले ऋण पनि पत्याएनन् । 

भन्नुहुन्छ ‘म यहीँ केही गरेर कमाउँछु अनि तिर्छु भन्दा कसैले ऋण दिएनन्, तर विदेश जान्छु भनेपछि जसले पनि ऋण दिने कुरा गरे ।’ 

ब्यवसाय गर्न खोज्दा पैसाको अभावले भौंतारिएका गणेशलाई ठूलो बुवा पर्ने अम्बरबहादुर बगालेले लिबियामा महिनाको एक हजार डलर कमाइ हुने कुरा सुनाए । काम गाडी चलाउने । एक हजार डलरलाई नेपाली रुपैयाँमा कन्र्भट गर्नुभयो । लाखभन्दा बढी भयो । 

‘आखिर त्यति धेरै कमाइ हुने रहेछ, बरु केही वर्ष त्यहाँ कमाएर आउँछु अनि व्यवसाय अघि बढाउँछु भन्ने लाग्यो, त्यसैले जाने सुरु कसेँ,’ गणेशले दलालको कुरामा फस्दाको क्षण सम्झनुभयो ।

गाउँमा व्यवसाय गर्छु भन्दा ऋण नदिने साहुसँग विदेशमा हुने कमाइ सुनाएर ऋण माग्नुभयो । ऋण सजिलै मिल्यो । पाँच लाख रुपैयाँ ऋण काढ्नुभयो र एजेण्टलाई बुझाउनुभयो । 

मलेसियामा पाँच वर्ष बिताएर फर्किएका कृष्ण पनि गणेशको जस्तै अवस्थामा फँसेपछि विदेशिनु भएको थियो । एजेण्टले हजार डलर कमाइ हुने आश देखाएपछि कृष्णले पनि आफन्त नै पर्ने एजेण्टलाई साढे तीन लाख रुपैयाँ दिनुभयो ।

गणेश र कृष्णले लिबिया भन्ने देशको नाम पनि सुन्नुभएको थिएन त्यसअघि । एजेण्टले राम्रो कमाइ हुने देश हो भनेका थिए । भनेका थिए – नेपालबाट भिसा लाग्दैन, नेपालबाट श्रम स्वीकृति लिन मिल्दैन । अनि त्यसको विकल्प दिएका थिए, यूएई । जहाँ यो सबै काम हुन्छ भनेका थिए । 

कृष्ण र गणेश २०७५ भदौको अन्तिममा लिबिया जान भिजिट भिसामा यूएई उडे । यूएईबाट लिबिया जाने सबै प्रक्रिया पूरा गर्न २८ दिन लाग्यो । यूएईको अलायनमा २८ दिन एउटै कोठामा बस्नुपर्यो । 

पासपोर्ट साथमा नहुँदाको बाध्यता

यूएई पुगेको केही दिनमा गणेशलाई लिबियाको बारेमा थाहा भयो । सरकारले प्रतिबन्ध लगाएको देश जहाँ द्वन्द्व भइरहेको छ भन्ने मात्र हैन त्यहाँ पुग्दा हुने जोखिमको बारेमा पनि थाहा पाउनुभो ।

गणेशले यूएईबाटै नेपाल फर्किने कोशिस गर्नुभयो । तर यूएईका एजेण्ट रबी प्रसाईंको हातमा थियो पासपोर्ट । त्यसैले गणेशको प्रयास सफल भएन । यूएईबाटै फर्किएमा पाँच लाख रुपैयाँ फिर्ता दिंदैनौं भन्दै धम्काए एजेण्टले । 

‘मेरो ट्राभलमा काम गर्ने साथी थियो, उसलाई मैले फ्लाई दुबईको टिकट समेत होल्ड गर्न लगाएको थिएँ, तर एजेण्टले भन्यो कि तँ फर्किइस् भने पाँच लाख रुपैयाँको माया मार,’ बीच बाटोमा पुगेपछिको बाध्यता सुनाउहुन्छ गणेश । 

गणेशलाई सय कडा पाँचमा काढेको पाँच लाख रुपैयाँको पीर थियो । त्यसैले एजेण्टले भनेझैं पुग्नुभयो लिबिया । 

दुई सय डलर तलब पाउँदा छाँङ्गाबाट खसेजस्तो

लिबियाको  इन्जिरा त्रिपोलीको एउटा गाउँमा थियो काम गर्ने ठाउँ । जहाँ बस्ती पातलो थियो । चर्को गर्मी थियो । बम पड्किएको आवाज प्रायः सुनिन्थ्यो । 

एजेण्टले काम दूध डेरीमा हो भनेर पठाएका थिए । तर काम पर्‍यो अंगुर खेतीमा । ‘मेरो काम अंगुर फार्ममा थियो, काम त साह्रै दुःख थियो, खन्नेदेखि टिप्नेसम्मको काम गर्नु पथ्र्यो’ कृष्ण भन्नुहुन्छ । खेतीका मालिक लिबियाका थिए । काम गर्ने ६ जना नेपाली र केही सुडानी थिए ।

गणेशलाई भने गाडी चलाउने काम दिने भनिएको थियो । तर उता पुगेपछि लेबरको काम गर्न पर्‍यो । ‘खुल्ला आकाश मुनि, त्यो पनि त्यस्तो बम पड्कने ठाउँमा,’ गणेश भन्नुहुन्छ, ‘हातभरि ठेला उठ्थ्यो ।’

‘हामी त घामले डढेर नचिनिने भएका थियौं, एक हप्ताजस्तो आईओएमको अफिसमा बस्यौं, यहाँ आएको पनि केही दिन भयो र पो हामी यतिका गोरा भएका,’ आफ्ना हत्केला हेर्र्दै कृष्ण र गणेशले एकै स्वरमा भन्नुभयो । 

भने अनुसारको काम त मिलेन नै, पैसा पनि महिनाको दुई सय डलरमात्रै हात पर्‍यो । सुरुवाती महिनामा त पैसा नै दिएन कम्पनीले । तलब माग्दा ‘यहाँ बैंक छैन, तिमीहरुले घरमा पठाउन सक्दैनौं, साथमा राख्दा जोखिम हुन्छ’ भनेर टारे । केही समय त हो जस्तो पनि लाग्यो उनीहरुलाई ।

तर जब दुई सय डलर हातमा आयो, तब महिनाको हजार डलर कमाउने सपना पनि बमको छर्राले उडाई दिए जस्तो भयो । कृष्ण भन्नुहुन्छ, ‘त्यो पैसा पनि घरमा पठाउन पाइएन, घरमा पठाउन नपाएपछि त त्यो पैसा कागज बराबर नै भयो नि ।’ 

खान बस्न पनि उस्तै समस्या थियो  । सुत्ने कोठा थिएन । पुराना, फ्यालिएका म्याट मात्र थिए । महङ्गी उस्तै थियो । ‘एक ग्लास चामल पकाएर माड जस्तो बनाएर हामी सबैजना खान्थ्यौं,’ कृष्णले त्यो क्षण सम्झनुभयो, ‘अवस्था यस्तो थियो कि हामीले त बाँच्छौं र यसरी यहाँ आइपुग्छौं भन्ने आशै मारेका थियौं ।’

‘ज्यानको माया मारेर भाग्यौं’

एजेण्टहरु सम्पर्कबिहीन हुँदै गए । उनीहरुको कुरा साहुले सुन्नेवाला थिएन । जताजतै बमको मात्र आवाज सुनिने ठाउँमा फर्किने आश गर्नु नै बेकारजस्तो थियो । 

तर उनीहरुको अवस्थाबारे थाहा पाएका इजिप्टस्थित नेपाली दूतावासका कन्सुलर सुजन बिडारी र लिबियामा रहेका नेपाली शान्ति सेनाले आँट दिए ।

‘क्याप्टेन सरले नआत्तिनु तिमीहरु गोर्खालीका छोरा हौ, हामी छौं भन्नुहुन्थ्यो’ कृष्ण भन्नुहुन्छ, ‘हामी त्यो बेला खान पनि नपाएर बसेको अवस्था थियो, उहाँले त्यसो भन्दा हो जस्तो लाग्थ्यो, अनि आँट आउँथ्यो, तर छिनछिनमा बम बारुद देख्दा चाहिँ आश नै मथ्र्यो ।’

जतिसक्दो चाँडो कार्यालयमा आउन भन्दै आईओएमबाट फोन आउँथ्यो । तर बाटोभरी खतरा थियो । आईओएमबाट उद्धारका लागि त्यहाँ पुग्न सक्ने अवस्था पनि थिएन । उनीहरु जान सक्ने अवस्था पनि थिएन । 

उनीहरुले भागेर जाने विचार गरे । बाटोमा जोखिम थियो । काम गर्ने ठाउँमै बस्दा पनि झन् जोखिम । 

‘मरे पनि मरियोस् भन्ने सोच्यौं, बाँचेर आईओएमसम्म पुग्यौं भने घर गइन्छ नत्र जे होला भनेर हामीले राती नै भाग्ने तयारी गर्यौं,’ गणेशले भाग्दाको क्षण सम्झँदै भन्नुभयो, ‘बाहिर गएर ट्याक्सी चढ्यौं, बढी नै पैसा दिएर झण्डै एक घण्टाभन्दा टाढा रहेको आईओएमको अफिस पुग्यौं ।’ कृष्णले थप्नुभयो, ‘धन्न बाटोमा केही भएन र आज यहाँसम्म आइपुग्न पायौं ।’

आईओएमले भागेर सेल्टरमा आइपुगेका कृष्ण र गणेशसहित पूर्णबहादुर गुरुङ, अमृत गुरुङ, भुवन आचार्य, सनम विश्वकर्मा, बुद्धिबहादुर क्षेत्री अधिकारी, राजु विश्वकर्मा, गुप्तबहादुर बिक, राजु विष्ट, शेखर खरेल, जयराम धामी, प्रकाश विश्वकर्मा, अजयकुमार चौधरी र मनोहर कार्कीलाई नेपाल फर्कायो । 

गणेशलाई अझै पनि आफू नेपालमा छैन कि झैं लाग्छ बेलाबेलामा । भन्नुहुन्छ, ‘म त यहाँ यसरी आउने आश नै मारेकाले होला नेपालमा छु भनेर सपना जस्तै लाग्छ ।’

आफन्त भनेर एजेण्टको विश्वास गर्दा झण्डै ज्यान गयो भन्ने लाग्छ गणेशलाई । गणेश सकुशल घर फर्किन पाएकोमा खुशी हुनुहुन्छ । घरमा बंगुरपालनका लागि खोर बनाइसकेकाले अब त्यही कामलाई अघि बढाउने र फेरि कहिल्यै पनि विदेश नजाने उहाँको योजना छ । 

गणेशजस्तै कृष्ण पनि स्वदेशमै केही गर्ने योजना लिएर फर्किनुभएको छ । भन्नुहुन्छ, ‘अब त यहीँ केही गर्छु, त्यति धेरै पैसा फसाएर विदेश कहिल्यै पनि जाँदिन, आफ्नो देश र परिवारको माया कस्तो हुँदोरहेछ भन्ने बुझेर आएको छु ।’

अन्तिम अपडेट: कात्तिक १५, २०७६

सन्जिता देवकोटा

उज्यालोमा कार्यरत सन्जिता देवकोटा वैदेशिक रोजगार र नेपाली महिलाका बिषयमा कलम चलाउनुहुन्छ ।  

तपाईको प्रतिक्रिया