नारायणगढ–मुग्लिन सडकमा पहिरो : फसेका ३० वटा गाडी सुरक्षित स्थानमा पुर्‍याइयो

 असार २०, २०७५ बुधबार १४:८:४३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – नारायणगढ–मुग्लिन सडक खण्डको पहिरोमा फसेका एम्बुलेन्ससहित ३० वटा गाडीलाई सुरक्षित स्थानमा लगिएको छ । बिहान तोपेखोलामा पहिरो खसेपछि सडक बन्द भएको थियो । तर कालीखोलामा पनि पहिरो जाँदा एम्बुलेन्ससहित ३० वटा गाडी दुईवटा पहिरोको बीचमा फसेका थिए । ति गाडी पहिरोको जोखिममा रहेकाले कालिखोलाको पहिरो हटाएर गाडीलाई सुरक्षित ठाउँमा पठाइएको मुग्लिन प्रहरीले जनाएको छ ।

यस्तै पहिरो खसेका कारण अहिले पनि गाडी चलेका छैनन् । बिहान तोपेखोलामा अहिलेसम्मकै ठूलो पहिरो खसेपछि बन्द भएको सडक अझैसम्म खुलेको छैन । पहिरो निक्कै ठूलो भएकाले पञ्छाउन बेलुकीसम्मै लाग्ने मुग्लिन प्रहरीले जनाएको छ । तोपे खोलाको पहिरो हटाउने काम भैरहेको तर कालिखोलामा पनि अर्को पहिरो खसेकाले सडक खुल्न समय लाग्ने मुग्लिन प्रहरीले जनाएको छ ।

बिहानै पहिरो गएपछि काठमाडौंका लागि छुटेका गाडी जुगेडीमा र काठमाडौंबाट छुटेका गाडी मुग्लिनमा रोकिएको प्रहरीले जनाएको छ । वर्षात सुरु भएसँगै दिनहुँ पहिरो खस्दा यो सडकखण्डको यात्रा जोखिमपूर्ण बन्दै गएको छ । यसअघि गएको मंगलबार र बुधबार खसेको ठूलो पहिरो १२ घण्टाभन्दा लामो समयमात्र हटाइएको थियो । 


 

अन्तिम अपडेट: चैत २५, २०८०

तपाईको प्रतिक्रिया