छात्राहरुलाई सालको पातको टपरी बनाउने तालिम

 जेठ १९, २०७६ आइतबार ८:३५:५५ | किरण लोहनी
unn.prixa.net

गोरखा – गोरखा संग्रहालयले विभिन्न विद्यालयका छात्राहरुलाई सालको पातको टपरी बनाउने तालिम दिएको छ । संग्रहालयको शैक्षिक कार्यक्रम अन्तर्गत परम्परागत टपरी बनाउने तालिम दिइएको हो । 

संग्रहालय आसपासको शक्ति मावि, महेन्द्रज्योती मावि र बालमन्दिर माविका ८ देखि १० कक्षामा पढ्ने छात्राहरुलाई एक दिनको टपरी बनाउने तालिम दिइएको संग्रहालय प्रमुख नवराज अधिकारीले बताउनुभयो ।

तालिममा २४ जना छात्राको सहभागिता रहेको थियो । उनीहरुलाई गोरखा दरबारमा कार्यरत कर्मचारीहरुले टपरी, दुना र बोहोता बनाउन सिकाएका थिए । साँस्कृतिक केन्द्रको रुपमा रहेको संग्रहालयको दायित्वभित्र परम्पराको निरन्तरता पनि पर्ने भएकाले यस्तो तालिम दिइएको संग्रहालय प्रमुख अधिकारीको भनाइ छ । ‘विश्वभरका संग्रहालयहरुको छाता संस्था अन्तर्राष्ट्रिय संग्रहालय परिषदको यो वर्षको थिम पनि यस्तै प्रकारको छ’ अधिकारीले भन्नुभयो, ‘हामी परम्परागत सामग्रीको संग्रह त गर्छौँ, तर नयाँ पुस्तासम्म त्यसको विस्तार हुनु पनि जरुरी छ ।’ 

पातबाट दुना, टपरी बनाउने सीप पनि बिस्तारै हराउँदै जान थालेपछि त्यसको निरन्तरताको लागि तालिम सुरु गरिएको अधिकारीले बताउनुभयो । अहिले तालिम लिएका पुस्ताले आफूले जानेको सीप साथीभाइसँगै अर्को पुस्तालाई पनि सिकाउने भएकाले परम्परागत टपरी बनाउने सीपको विस्तार हुने उहाँको विश्वास छ । 

सहज रुपमा पाइने सालको पातबाट टपरी बनाउँदा प्लाष्टिकका भाँडाको प्रयोग कम गर्न सकिने उहाँले तर्क छ । सालको पातको दुना, टपरी वातावरणमैत्री पनि भएकाले यसको प्रयोगलाई ब्यापकता दिनुपर्नेमा अधिकारीले जोड दिनुभयो ।

तालिममा सहभागी छात्राहरुले पनि अहिले जानेको सीपलाई निरन्तरता दिने बताएका छन् । ‘घरमा हुने पूजा आजामा चाहिने दुना, टपरी म आफैँ बनाउन सक्छु’ शक्ति माविमा १० कक्षामा पढ्ने निर्मला घिमिरेले भन्नुभयो, ‘घरमा थोरै पात हुन्थ्यो, सिक्न पाइन्नथ्यो, यहाँ सिक्न पाउँदा खुशी लागेको छ ।’ 

संग्रहालयले पहिलो चरणमा आसपासका ३ विद्यालयबाट यो अभियान सुरु गरेको हो । विद्यालयहरुले नै पात गाँस्ने तालिममा सहभागी छात्राहरु छनोट गरेर पठाएका हुन् । ‘संग्रहालयबाट पत्र आयो, कक्षामा को–को जाने भनेर सोधेको थियौँ, धेरै नानीहरु उत्साहित देखिए ।’ शक्ति माविका प्रधानाध्यापक राजेन्द्रप्रसाद अधिकारीले भन्नुभयो । 

अहिले दिएको सीपको प्रभावकारिता हेरेर आगामी दिनमा तालिमको निरन्तरता दिने वा नदिने भन्ने तय गर्ने संग्रहालय प्रमुख अधिकारीले बताउनुभयो । पात गाँस्ने तालिम लिएका छात्राहरुबीच दुना, टपरी बनाउने प्रतियोगिता पनि गरिएको थियो । ४५ मिनेटभित्र आकर्षक दुना, टपरी र बोहोता बुनेका तीनवटै विद्यालयका एक एक छात्रालाई शैक्षिक सामग्री पुरस्कार दिइएको छ । 

अन्तिम अपडेट: बैशाख ९, २०८१

किरण लोहनी

उज्यालोका गोरखा सम्वाददाता किरण लोहनी गोरखाको च्वाइस एफएममा पनि काम गर्नुहुन्छ । 

1 Comments

  • रिचा

    June 2, 2019, 11:45 a.m.

    I liked the idea of giving training on making traditional plates out of the tree leaves but why is this training made available for girls only. It's good to follow tradition but changes have to be incorporated as well. Didn't you think boys can take this training as well? Now we have to be able to give a message that says boys or girls, they are able to do anything. No work should be divided on the basis of the sex of a person. And we have to start this from our mindset. We have to change the way we think.

  •  0 Reply

तपाईको प्रतिक्रिया