विप्लव समूहका पोलिटव्यूरो सदस्य पदम राई सत्तारुढ नेकपामा प्रवेश

 जेठ १९, २०७६ आइतबार १२:१०:३३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ -नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका पोलिटव्यूरो सदस्य पदम राई सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपामा प्रवेश गर्नुभएको छ । 

आइतबार बिहान पार्टी कार्यालय धुम्बाराहीमा भएको कार्यक्रममा उहाँलाई अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्डले’ फूलमाला लगाएर पार्टी प्रवेश गराउनुभएको हो ।  

पार्टी प्रवेश गर्दै राईले आफू सुरक्षा खोज्दै नेकपामा आएको नभई देश समृद्ध बनाउने अभियानमा नेकपा रहेकाले पार्टी प्रवेश गरेको बताउनुभयो । 

राईलाई पार्टी प्रवेश गराउँदै अध्यक्ष प्रचण्डले विप्लवलगायतका कम्युनिष्ट समूहहरुलाई एउटै कम्युनिष्ट पार्टी बनाउने आफ्नो अभियानमा सहभागी हुन आग्रह गर्नुभयो ।  

राई भोजपुरका तत्कालीन माओवादी नेता हुनुहुन्थ्यो । पार्टी शान्ति प्रकृयामा आएपछि संविधानसभा चुनाव प्रयोजनका लागि गठन भएको गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारमा तत्कालीन माओवादी तर्फबाट राई निर्माण तथा भौतिक योजना राज्यमन्त्रीसमेत बन्नुभएको थियो ।  

२०६४ को संविधानसभा निर्वाचनमा भोजपुर १ बाट सभासद बन्नुभएका राई  माओवादीनिकट किराँत राष्ट्रिय मुक्तिमोर्चाका केन्द्रीय अध्यक्ष पनि रहनुभएको थियो । 

तर पछि नेत्रविक्रम चन्द विप्लवले छुट्टै पार्टी गठन गर्दा राई पनि उतै जानुभएको थियो ।   गएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका बेला प्रदेश एकका मुख्य मन्त्री शेरधन राईलाई चुनावी प्रचारका क्रममा आक्रमण गरेको आरोपमा उहाँ पक्राउसमेत पर्नुभएको थियो ।

अदालतले पछि ६० हजार धरौटीमा रिहा गर्ने फैसला गरेपछि उहाँ विप्लव नेतृत्वको नेकपामै रहेर भूमीगत राजनीतिमा सकृय हुनुहुन्थ्यो । 

उहाँले देशमा द्वन्द्व नभई  वार्ता र सम्वाद मार्फत समस्या निराकरण गर्न नेतृत्वलाई दवाव दिँदै आउनुभएको थियो ।   

सरकारसँग वार्ता गरेर समस्याको समाधान गर्नुपर्ने अभिव्यक्ति दिएकै कारण गएको बैशाख २४ गते राईलाई विप्लव नेतृत्वको नेकपाले कारबाही गर्दै जिम्मेवारीबाट हटाएको थियो । 

पार्टी प्रवेश कार्यक्रममा नेकपाका महासचिव विष्णु पाैडेल, गृहमन्त्री रामबहादुर थापा लगायतका नेताहरुकाे सहभागिता रहेकाे थियाे । 
 

अन्तिम अपडेट: चैत १५, २०८०

तपाईको प्रतिक्रिया