विद्युत प्राधिकरणको कालोसूचीमा रहेको जनमैत्री हस्पिटलबाट ५२ लाख रुपैयाँ बक्यौता असुली

 जेठ १९, २०७६ आइतबार १४:१०:२५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - नेपाल विद्युत प्राधिकरणले बालाजुमा रहेकाे जनमैत्री हस्पिटलको विद्युत् बक्यौता असुल गरेको छ ।

प्राधिकरणको बालाजु वितरण केन्द्रले हस्पिटलबाट ५२ लाख ५० हजार रुपैयाँ बक्यौता असुल गरेको हो । महसुल नतिरेपछि प्राधिकरणले हस्पिटलको विद्युत लाइन २०७३ को वैशाखमा काटेको थियो । प्राधिकरणले २०७३ को माघ ३० गतेदेखि हस्पिटललाई कालोसूचीमा राखेको थियो । त्यतिबेला हस्पिटलको विद्युत महसुल वक्यौता ८३ लाख ७८ हजार रुपैयाँ थियो । २५ प्रतिशत जरिवानासहित वक्यौता एक करोड ५ लाख रुपैयाँ पुगेको थियो ।

बालाजु वितरण केन्द्र प्रमुख सुरज रेग्मीका अनुसार, हस्पिटलले अहिले वक्यौता आधा तिरेको छ भने बाँकी रकम पाँच महिनाभित्रमा पाँच किस्तामा तिर्ने व्यवस्था मिलाइएको छ । आधा वक्यौता तिरेको र बाँकी पनि तिर्न हस्पिटल तयार भएपछि विद्युत् लाइन छिट्टै जोडिने रेग्मीले जानकारी दिनुभयो ।

बालाजु वितरण केन्द्रले चालु आर्थिक वर्षको वैशाखसम्ममा  कालोसूचीमा रहेका ७६ ग्राहकबाट ६५ लाख ५४ हजार रुपैयाँ असुल गरेको छ । महसुल नतिर्ने ग्राहकको विद्युत लाइन काटेर एक करोड ६ लाख २५ हजार रुपैयाँ असुल गरिएको प्रमुख रेग्मीले बताउनुभयो । उहाँले बिजुली चोरी गर्ने एक सय पाँच जनालाई कारबाही गरी १२ लाख ९६ हजार असुल गरिएको जानकारी दिनुभयो ।

केन्द्रका २६ हजार ग्राहकमध्ये करिब २९ प्रतिशतले अनलाइनमार्फत विद्युत महसुल तिर्ने गरेका छन् । 

केन्द्रले काठमाण्डौ महानगरपालिकाको वडा नम्बर-१६, तारकेश्वर तथा नागार्जुन नगरपालिका र धादिङको धुनीबेसी नगरपालिकाको छत्रेदेउरालीसम्म सेवा दिँदै आएको छ । केन्द्रले अस्तव्यस्त अवस्थामा रहेका विद्युतका तार र खम्बाहरु सुधार गर्ने, आवश्यक स्थानमा फेर्ने, ट्रान्सफर्मरहरु थप गर्ने लगायतका कार्यहरु गर्दै आइरहेको छ । 
 

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया