नगरकोटका अतिक्रमित घर टहरा भत्काइए

 जेठ १९, २०७६ आइतबार २०:२०:३९ | रमेश गिरी
unn.prixa.net

भक्तपुर - चाँगुनारायण नगरपालिकाले पर्यटकीय क्षेत्र नगरकोटमा अतिक्रमण गरी बनाइएका घर टहरा भत्काउन शुरु गरेको छ ।

सरकारी तथा सामुदायिक वन क्षेत्रको जग्गा अतिक्रमण गरी बनाइएका नगरकोटका टहरा डोजर लगाएर भत्काइएको हो । चाँगुनारायण नगरपालिकाले अतिक्रमित वन क्षेत्र तथा सार्वजनिक जग्गाहरुमा अनधिकृत रुपमा बनेका घर टहरा तथा छाप्राहरु हटाउनका लागि पटक–पटक सार्वजनिक सूचना गर्दा समेत नहटाएपछि प्रहरीको सहयोगमा नगरकोट क्षेत्रमा बनेका २० अतिक्रमित घर टहराहरु भत्काइएको चाँगुनारायण नगरपालिकाका प्रमुख सोम प्रसाद मिश्रले जानकारी दिनुभयो । 

उहाँले जिल्ला प्रशासन कार्यालय भक्तपुर, डिभिजन वन कार्यालय भक्तपुर, चाँगुनारायण नगरपालिका र भक्तपुर जिल्लाका सुरक्षा निकायहरुको संयुक्त प्रयासमा अतिक्रमित घर टहरा भत्काउन शुरु गरिएको जानकारी दिनुभयो ।

चाँगुनारायण नगरपालिकाले अतिक्रमण गरेर बनाएका घर टहरा स्थानीय आफैंले भत्काउन अल्टिमेटम सहितको सूचना जारी गरेको थियो । तर, नगरपालिकाको सूचनालाई स्थानीयले अटेर गरेर बसेका थिए । अतिक्रमण गरेर पसल, रेष्टुरेन्टलगायत अन्य व्यवसाय सञ्चालन गरेर बसेका स्थानीयले तत्काल टहरा नभत्काउन नगरपालिकामा ज्ञापनपत्र समेत बुझाएका थिए ।  

चाँगुनारायण–६, नगरकोटमा रहेकाे सनसेट भ्यू प्वाइन्ट, गड्गडे बसपार्क क्षेत्र र कुसुम सामुदायिक वन क्षेत्रमा सामुदायिक तथा सरकारी जग्गा अतिक्रमण गरि बनाइएका २० वटा टहरा भत्काइएको जिल्ला बन कार्यालय भक्तपुरका प्रमुख प्रेम खनालले जानकारी दिनुभयो ।

उहाँले अतिक्रमित टहरा भत्काउने काम तीन चरणमा गरिने बताउनुभयो । पहिलो चरणको काम सम्पन्न भइसकेपछि दोस्रो चरणमा टावर मुनि र भट्टेडाँडा बजारका सरकारी जग्गामा बनेका टहरा भत्काउने र तेस्रो चरणमा खरिपाटीदेखि गड्गडेसम्मका अतिक्रमित टहरा भत्काइने प्रमुख मिश्रले जानकारी दिनुभयो ।

अन्तिम अपडेट: फागुन २९, २०८०

रमेश गिरी

भक्तपुरका पत्रकार रमेश गिरी उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया