साढे २ लाख पर्यटक बढ्दा उल्टै २० अर्ब आम्दानी घट्यो !  पैसा गयो कहाँ ?

 जेठ २०, २०७६ सोमबार १७:१८:९ | अर्जुन पोख्रेल
unn.prixa.net

काठमाण्डौ – सन् २०१७ मा ९ लाख ४० हजार २ सय १८ विदेशी पर्यटक नेपाल भ्रमणमा आएका थिए । 

एकै वर्षमा ९ लाख ४० हजार पर्यटक आएपछि सरकारी र निजी संघ संस्था उत्साहित भए । झण्डै साढे ९ लाख पर्यटक नेपाल आउँदा देशमा ६७ अर्ब रुपैयाँ विदेशी मुद्रा भित्रिएको थियो । 

सन् २०१७ को एक वर्षपछि सन् २०१८ मा नेपालमा ११ लाख ७३ हजार जना पर्यटक नेपाल आए । सन् २०१७ मा भन्दा सन् २०१८ मा २ लाख ३३ हजार धेरै पर्यटक नेपाल आए । यति धेरै पर्यटक आउँदा आम्दानी पनि निकै बढेहोला भनेर अनुमान नहुने कुरै भएन । तर २ लाख भन्दा धेरै पर्यटक आए पनि आम्दानी भने २० अर्बभन्दा धेरैले घटेको छ ।

अर्थ मन्त्रालयले सार्वजनिक गरेको आर्थिक वर्ष २०७५/७६ को आर्थिक सर्वेक्षणले सन् २०१७ मा ६७ अर्ब रुपैयाँ आम्दानी भएकोमा सन् २०१८ मा भने जम्मा ४७ अर्ब रुपैयाँ मात्रै आम्दानी भएको देखाएको छ ।

सन २०१८ मा स्थलमार्ग हुँदै भारतबाट आउने पर्यटकबाहेक नेपालमा ११ लाख ७३ हजार ७२ जना पर्यटक आएका थिए । यो संख्या सन २०१७ को तुलनामा २५ प्रतिशतले धेरै हो ।

तर आर्थिक वर्ष २०७४/७५ मा पर्यटन क्षेत्रबाट ६७ अर्ब ९ करोड रुपैयाँ विदेशी मुद्रा आम्दानी भएकोमा यो आर्थिक वर्षको फागुनसम्म जम्मा ४७ अर्ब ६९ करोड रुपैयाँ विदेशी मुद्रा आम्दानी भएको छ । यस्तै सन् २०१७ मा नेपाल आउने पर्यटकले औसत दैनिक खर्च ५४ डलर रहेकोमा सन् २०१८ मा ४४ डलरमा झरेको छ । 

पर्यटक बढ्दा आम्दानी किन घट्यो ? सबैका आ–आफ्नै तर्क

सन् २०२० मा २० लाख जना पर्यटक नेपाल ल्याएर मनग्य आम्दानी भित्राउने पर्यटनसँग सम्बन्धित सरकारी र निजी संघ, संस्थाको लक्ष्य छ । तर अहिले पर्यटक बढ्दा पनि आम्दानी उल्टो घटेको तथ्याङ्कले सबैलाई झस्काएको छ । यसबारेमा सबैका फरक– फरक तर्क दिएका छन् । 

इन्टरनेटमार्फत विदेशमै कारोबार भएका कारण यस्तो भयो : दीपकराज जोशी, सीईओ पर्यटन बोर्ड

पर्यटक बढ्ने तर आम्दानी घट्नुको मुख्य कारण भनेको डिजिटल भुक्तानी हो । मोबाइल डिभाइसबाट विदेशमै कारोबार गर्ने र नेपाल आएर घुम्ने चलन बढेका कारण पनि यस्तो भएको हो । नेपालमा चीनबाट आउने पर्यटक उल्लेख्य बढेका छन् । तर आम्दानी बढेन, यसो सामान्य अध्ययन गर्दा चीनबाट नेपाल आउने पर्यटकले विच्याट, अली पेलगायतका सिस्टमको प्रयोग गरेर चीनबाट नै सबै कारोबार गरेर यहाँ आउने रहेछन् ।

अर्को एअर बीएनबी पनि अहिले खुब चलेको छ । एक हप्ता वा धेरैको बसाइ नेपालमा गर्नुपर्यो भने यहाँ फ्ल्याट लिने अनि बस्ने । त्यसको लागि विभिन्न वेबसाइटमार्फत बुकिङ गर्ने र भुक्तानी गर्ने सुविधा छ, अहिले काठमाण्डौमा धेरै पर्यटक एअर बीएनबीमार्फत फ्ल्याटमा बसेको पाइन्छ ।

अर्को मुख्य कारण हाम्रो व्यापारमा इनोभेसन र सुविधा बढाउने तर प्रतिस्पर्धा धेरै भएकाले कम मूल्यमा सेवा दिने चलन बढेको छ । यसले गर्दा पनि पर्यटक बढ्दा आम्दानी घटेको हो । 

पर्यटकले अनौपचारिक क्षेत्रमा खर्च गरे र खर्च कम भएको  देखियो : विनायक शाह, उपाध्यक्ष हान 

पर्यटक बढ्ने तर आम्दानी घट्ने तथ्याङ्कबाट हामी पनि खुशी छैनौँ । पहिलो कुरा त पर्यटन क्षेत्रमा कर काटिएको विजक मात्रै जीडीपीमा गणना हुने भएकाले धेरै आम्दानी देखिन्न । अर्को कुरा पर्यटकहरु अहिले अनौपचारिक हिसाबले पनि बसोबास गर्न थाले । जस्तो पर्यटकहरु आएर गुम्बामा बस्न थाले, गाउँगाउँका होमस्टेमा बस्न थाले, पदयात्रामा पनि कुनै व्यक्ति समाएर हिँड्न थाले, यसो गर्दा पनि आम्दान कम भएको या नदेखिएको होला । 

अनि अर्को कुरा होटल क्षेत्र हेर्नुहोस्, हाम्रा पर्यटक बढेका छन्, तर अकुपेन्सी बढेको छैन । होटलहरु धेरै बढेको बढ्यै छन्, सुविधा बढेको बढ्यै छ । तर जुन रफ्तारमा होटल बढेका छन्, त्यो रफ्तारमा पर्यटक बढेनन् । प्रतिस्पर्धा गर्नुपर्दा सस्तोमा सेवा दिनु परेको छ । 

र अन्त्यमा हामीकहाँ आउने पर्यटक धेरै खर्च गर्ने पनि होइनन् । लोन्ली प्लानेटमा हेर्नुभयो भने पनि संसारकै सस्तो गन्तव्यको रुपमा नेपाल पनि छ । यसै पनि सस्ता पर्यटक त्यसमाथि यहाँको प्रतिस्पर्धाले त आम्दानी कसरी बढोस् । 

कसलाई पर्यटक मान्ने दोधारमा छु  : नवराज दाहाल, अध्यक्ष टान 

नेपालमा पर्यटक बढेको तर आम्दानी नबढेको तथ्याङ्क मलाइ नौलो लागेन । नेपालमा कस्ता पर्यटक भित्राएमा धेरै आम्दानी हुन्छ अध्ययन गरौँ भनेर मैले पहिलेदेखि नै भन्दै आएको हो । तर यहाँ त गैरआवासीय नेपालीलाई पनि पर्यटक बढे भनेर मख्ख परेका छौं, अनि नेपालमा एनजीओमा जागिर खान आएका विदेशीलाई पनि खर्च गर्ने पर्यटककै सूचीमा राखेका छौं । 

पर्यटकलाई सेवा दिने क्षेत्रमा विकृति मौलाउँदो छ, त्यसलाई रोक्न पहल भएको छैन । हामी सुध्रेनौँ भने यस्तो क्रम अझै बढ्दै जान्छ । 

विकल्प के त ?

पर्यटक बढ्ने तर आम्दानी नबढ्ने मुख्य कारण डिजिटल भुक्तानी नै देखिएको छ ।  यसलाई बन्द गर्न पनि सम्भव छैन । त्यसैले प्रविधिमा नेपालीको क्षमता बढाउने मुख्य उपाय भएको बताउनुहुन्छ पर्यटन बोर्डका सीईओ दीपकराज जोशी ।

‘हाम्रा सरकारी तथा निजी क्षेत्रको स्मार्टनेस नबढाए यस्ता कुराहरुमा हामी अझै पछि पर्दै जान्छौँ, हाम्रो आम्दानी पनि गुम्दै जान्छ, त्यसैले हामीले प्रविधिमा फड्को मार्नुको विकल्प छैन’, पर्यटन बोर्डका सीईओ जोशीले भन्नुभयो । 

यस्तै सरकारले विदेशमा बसेर नेपालको बारेमा हुने कारोबारलाई पुरै रोक्न नसके पनि केही कम गर्न सक्ने पनि उहाँको दाबी छ । 

अन्तिम अपडेट: चैत १५, २०८०

अर्जुन पोख्रेल

उज्यालोमा कार्यरत अर्जुन पोख्रेल आर्थिक विषयमा कलम चलाउनु हुन्छ।  

तपाईको प्रतिक्रिया