श्रीलंकाका सबै मुस्लिम मन्त्रीले दिए राजीनामा

 जेठ २०, २०७६ सोमबार २०:४६:५६ | एजेन्सी
unn.prixa.net

श्रीलंकामा एक बौद्ध भिक्षुले एक मुस्लिम मन्त्री र एक गभर्नरको राजीनामा माग गर्दै आमरण अनसन बसेको केही दिनपछि सोमबार त्यहाँका दुई मुस्लिम गभर्नरले राजीनामा दिएका छन् ।

गएको अप्रिलमा इस्टर सन्डेको दिनमा श्रीलंकामा चर्च तथा होटलमा आतंककारी आक्रमण भएको थियो ।  त्यसपछि त्यहाँ रहेका मुस्लिम संगठनमाथि प्रश्न उठाउन थालिएको थियो । शुक्रबारदेखि एक बौद्ध भिक्षु अतरालिए रतना थिरोले मन्त्री रिशाद बाथिउद्दीन र गभर्नर एएलएएम हिज्बुल्दाह तथा अजत शैलीको राजीनामा माग गर्दै भोक हडताल सुरु गरेका थिए ।

बौद्ध भिक्षु रतना थिरो सांसद पनि हुन् । उनी प्रधानमन्त्री रानिल विक्रमासिंघेको पार्टी यूएनपीबाट संसदमा प्रतिनिधित्व गर्छन् ।

रतना थिरो र अरु केही कट्टर बौद्ध संगठनले मुस्लिम नेताहरुलाई इस्टर सन्डेका दिन गराइएको आक्रमणमा संलग्न भएको आरोप लगाएका थिए । तर मुस्लिम मन्त्री तथा संगठनले यो आरोपको खण्डन गर्दै आएका छन् । रतना थिरो र केही बौद्ध संगठनले मुस्लिम नेताहरुमाथि जाँच हुनुपर्ने माग राख्दै आएका छन् । बौद्ध भिक्षु आमरण अनसन बसेपछि श्रीलंकाका विभिन्न क्षेत्रमा प्रदर्शनसमेत भएको थियो ।

त्यसैलाई मध्यनजर गर्दै सोमबार दिउँसो मुस्लिम समुदायका दुई गभर्नर अजत सैली र हिज्बुल्लाहले राजीनामा दिएका छन् । राष्ट्रपति मैत्रिपाला सिरिसेनाले दुवै जनाको राजीनामा स्वीकार गरेका छन् ।

गभर्नरहरुको राजीनामापछि केन्द्रीय मन्त्रिमण्डलमा रहेका सबै मुस्लिम मन्त्री, उपमन्त्री तथा राज्य मन्त्रीहरुले पनि राजीनामा दिएका छन् ।
 

अन्तिम अपडेट: चैत १२, २०८०

तपाईको प्रतिक्रिया