विश्वकप क्रिकेट २०१९ : पहिलो शतक रुटको नाममा

 जेठ २०, २०७६ सोमबार २३:१७:३५ | उज्यालो सहकर्मी
unn.prixa.net

इंग्ल्याण्डमा जारी एकदिवसीय विश्वकप क्रिकेटमा घरेलु टोलीका जो रुटले पहिलो शतक प्रहार  गरेका छन् । पाकिस्तानविरुद्ध इंग्ल्याण्डका रुटसहित जस बटलरले पनि शतक प्रहार गरे ।

पाकिस्तानविरुद्धको खेलमा रुटले ९७ बलमा शतक पूरा गरेका हुन् । ३ सय ४९ रनको लक्ष्य पछ्याउने क्रममा इंग्ल्याण्डका लागि तेस्रो नम्बरमा ब्याटिङमा आएका

रुट ३८.५ ओभरमा साहव खानको बलमा मोहम्मद हफीजको हातबाट क्याच आउट हुनुअघि १०७ रनको उत्कृष्ट पारी खेले । रुटको यो करिअरको १५औं एकदिवसीय शतक हो भने जारी विश्वकपको पहिलो । १०४ बल सामना गरेका रुटले १० चौका र १ छक्का प्रहार गरेका छन् । 

इंग्ल्याण्डका लागि जस बटलरले पनि शतक प्रहार गरेका छन् । उनको पनि पहिलो विश्वकप शतक हो भने करिअरको नवौं एकदिवसीय शतक हो । २८ वर्षीय बटलरले ७५ बलमा शतक पूरा गरेका हुन् । छैटौं नम्बरमा ब्याटिङमा आएका उनले पाकिस्तानका मोहम्मद आमिरको बलमा चौका प्रहार गरी शतक पूरा गरे । ७५ बल खेलेर ९ चौका र २ छक्का प्रहार गरेका उनले शतकपछिको पहिलो बलमै वाहव रियाजको हातबाट क्याच आउट भए । 

बटलर विश्वकपमा कम बलमै शतक प्रहार गर्ने इंग्लिस खेलाडी पनि बनेका छन् । यसअघि केभिन पिटर्सनले इंग्ल्याण्डका लागि यो कीर्तिमान बनाएका थिए । 

शतक प्रहार गर्ने रुट र बटलर आउट भएपछि ठूलो लक्ष्य पछ्याएको इंग्ल्याण्ड समस्यामा परेको छ ।
 

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया