बदलिँदो मनसुन : खै पूर्व तयारी ?

 जेठ २१, २०७६ मंगलबार ८:८:७ | मिनकुमार अर्याल
unn.prixa.net

उपत्यकासहित देशभरको पहाडी क्षेत्रमा केही दिनदेखि नियमितजसो वर्षा भैरहेको छ । बिहान आकाशमा डम्म बादल लाग्ने, बेला बेलामा घाम लाग्ने र दिउँसोपछि अपरान्हतिर असिनासहित पानी आउने गर्छ । कहिलेकाहीँ एकै ठाउँमा एकदमै ठूलो पानी पर्छ ।

अहिले प्रिमनसुन (मनसुन सुरु हुनुभन्दा पहिले) को समय भएकाले यस्तो मौसमी गतिविधि भैरहेको हो । प्रिमनसुनी समयमा यस्तो गतिविधि सामान्य मानिन्छ । नेपालमा समान्यतया जुन १० तारिखदेखि मनसुन सुरु हुन्छ । यो वर्ष केही ढिलो गरी मनसुन सुरु हुने देखिएको छ । 

प्रत्येक वर्ष हिन्द महासागरलगायत ठाउँमा उत्पत्ती हुने मनसुनी वायु केरला हुँदै उत्तरपूर्वतिर बढ्दै भारतका विभिन्न स्थान तथा बंगलादेशतिर प्रवेश गर्छ । त्यहाँबाट मनसुनी वायुको दिशा परिवर्तन भई दक्षिणपूर्वी दिशाबाट नेपालमा मनसुन प्रवेश गर्छ । अहिलेसम्म मनसुन भारतको केरला आसपासमा आइपुग्नुपर्ने हो, तर भारतको केरला आसापास अहिले कुनै मनसुनी गतिविधि देखिएको छैन । तसर्थ नेपालमा जुन १० तारिख भन्दा केही ढिलो गरी मनसुन भित्रिन सक्छ । 

दक्षिण एसियाली जलवायु दृष्टिकोण मञ्चले गरेको अध्ययनले यो वर्षको मनसुनमा प्रदेश १, २ र ३ का धेरै ठाउँ तथा प्रदेश ५ को पश्चिमी क्षेत्रमा औसतभन्दा कम पानी पर्ने र अरु ठाउँमा औसत पर्ने आँकलन गरेको छ ।

केही वर्षयतादेखि मनसुनका समयमा असामान्य झरीहरु पनि पर्दै आइरहेको छ । अतिवृष्टि, अनावृष्टि, खण्डवृष्टिलगायत वर्षाबाट पैदा हुने जोखिम पनि उत्तिकै हुन्छ । ठूलो पानी जुनसुकै बेलामा पनि पर्न सक्छ । यो वर्ष प्रिमनसुनका समयमा पनि केही मात्रामा बढी पानी परेको देखिएको छ ।

पूर्व तयारी  

मनसुनको समयमा आउनसक्ने सम्भावित जोखिमबाट बच्न हामी सबै सचेत हुन जरुरी छ । पहिला पनि मनसुन सुरु हुनुभन्दा पहिले मानिसहरु सचेत रहन्थे । अहिले पनि नेपालका ग्रामिण भूभागमा बर्खा सुरु हुन लाग्दा घरको करेसामा नाली बनाउने, बर्खाका लागि आवश्यक पार्ने काठ दाउराको जाहो गर्ने, घरगोठमा बलियो छानो लगाउने गरिन्छ । 

देशका केही भूभागमा अहिले पनि यही अवस्था रहे पनि अधिकांश भूभागमा मानिसहरुको जीवनशैली परिवर्तन भैसकेको छ । विशेषगरी शहरी भूभागमा अहिले बर्खाको समयमा जोखिम बढ्दै गैरहेको छ । नेपालमा वैज्ञानिक ढंगबाट शहरीकरण भैरहेको छैन । शहरीकरणको अवधारणामा मनसुनी गतिविधिले निम्तिन सक्ने जोखिमको बारेमा खासै ध्यान दिइएको पाइँदैन । 

शहरमा कतिपय स्थानमा त खोलाहरु मिचिएका छन् । अलि ठूलो वर्षा हुनेबित्तिकै पानी बग्न पाउँदैन । काठमाण्डौ उपत्यकाभित्र नै हेर्ने हो भने, हनुमन्ते, वागमती, विष्णुमतीमा आएको बाढीले गएका वर्षहरुमा पनि क्षति पुर्‍याउँदै आइरहेको छ । 

पछिल्लो समयमा मानिसको जीवनशैली एकातर्फ फेरिँदै गइरहेको छ भने मनसुनी गतिविधि पनि अर्कोतर्फ फेरिँदै गइरहेको छ । यसले गर्दा थप चुनौती पनि बढीरहेको छ । 

यो वर्ष प्रिमनसुनी समयमा धेरै वर्षा भैरहेको र मनसुन कस्तो होला भने जिज्ञासा धेरैलाई लागिरहेको हुनसक्छ तर प्रिमनसुनी वर्षा र मनसुनी वर्षामा कुनै पनि सम्बन्ध रहँदैन । प्रिमनसुन अर्थात् मनसुन प्रवेश गर्नुअघि स्थानीय वायुको प्रभावले वर्षा गराउँछ । 

यो समयमा बिस्तारै तापक्रम बढ्दै जाने हुनाले अपरान्हसम्म वायुमण्डलको तल्लो सतहको हावा बेस्सरी तात्छ र माथि जान्छ । त्यसले छिट्टै बादल विकास हुन्छ । साँझपख हावा हुरी र असिनासहित पानी पर्छ । भने मनसुनी वर्षा बंगालको खाडीबाट आएको वायुको प्रभावले हुने गर्छ ।

यो वर्ष प्रिमनसुनी समयमा नै भएको मौसमी गतिविधिले मानिसमा त्रास पनि फैलाएको छ । नेपालमा नै पहिलो पटक बारा र पर्सामा आएको टोर्नाडोले ठूलो जनधनको क्षति भएको छ । मौसमी अवस्थाको बारेमा पूर्वजानकारी भएको भए पनि यसको क्षति कम गर्न सकिन्थ्यो होला भन्ने कतिपयको गुनासो पनि आएको थियो त्यो बेलामा । तर नेपालमा प्रयोगमा आएका पूर्वानुमानसम्बन्धी उपकरणले यसबारेमा थाहा पाउन सकेन ।

मौसम पूर्वानुमान 

केही वर्ष अघिसम्म मौसमविदहरुले परम्परागत प्रविधिमार्फत मौसमको भविष्यवाणी गरिन्थ्यो । वेदर चार्ट एनालाइसिस अर्थात् नक्सामा पहिलेका डाटाहरु तथा उच्चचापीय र न्यूनचापीय क्षेत्र हेरेर मौसमको हिसाब गरेर मौसम पूर्वानुमान गरिन्थ्यो ।

तर अहिले परम्परागत विधिसँगै आधुनिक प्रविधिको पनि प्रयोग गरिन थालिएको छ । कम्प्युटर भूउपग्रहको तस्बिर र वायुमण्डलको अवस्था हेरेर मौसमको भविष्यवाणी गरिन्छ ।

यस प्रविधिबाट वायुको बहाव, न्यूनचापीय र अधिकचापीय क्षेत्रको अवस्थालगायतको विश्लेषण गरी मौसम भविष्यवाणी गरिन्छ । आधुनिक ‘स्याटलाइट डिस्ट्रिब्युट सिस्टम’ मार्फत प्राप्त हुने विश्वका विभिन्न स्थानको मौसम जानकारीलाई थप स्रोतको रूपमा उपयोग समेत गरिन्छ । 

यसरी विस्तृत रूपमा विभिन्न वैज्ञानिक प्रविधिको माध्यमबाट अध्ययन तथा विश्लेषणपछि सामान्यतया नेपालका भूभागलाई तीन भागमा अर्थात् पश्चिम, मध्य र पूर्वी भेगमा विभाजन गरिन्छ । र ती भेगमा देखा पर्न सक्ने मौसमी गतिविधिलाई समेटेर मौसम भविष्यवाणी गरिन्छ ।

यसैगरी मेघ गर्जन र चट्याङ परिरहेको क्षेत्र र त्यो प्रणाली कता सर्दैछ भन्नेबारेमा पनि पछिल्लो समयमा अध्ययन र पूर्वानुमान हुन थालेको छ । यसबाट पनि सम्भावित जोखिम न्यूनीकरणमा सहयोग पुग्न सक्छ ।

–मौसमविद् मिनकुमार अर्यालसँग अशोक कोइरालाले गरेको कुराकानीमा आधारित 
 

अन्तिम अपडेट: चैत ३, २०८०

मिनकुमार अर्याल

अर्याल माैसम पूर्वानुमान महाशाखाका माैसमविद् हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया