विदेशबाट सुन ल्याउँदै हुनुहुन्छ ? थाहा पाउनुहोस् भन्सार शुल्क बढ्यो

 जेठ २२, २०७६ बुधबार १३:४८:५३ | उज्यालो सहकर्मी

काठमाण्डौ – विदेशबाट फर्किंदा सुन तथा सुनको गहना ल्याउने तयारीमा हुनुहुन्छ ? यदि हुनुहुन्छ भने थाहा पाइराख्नुहोस्,  अब सुनको भन्सार शुल्क बढी तिर्नुपर्ने भएको छ । सरकारले तोकेको परिणाममा ल्याउन पाउने सुनको भन्सार शुल्क बढेको हो । 

आउँदो आर्थिक वर्ष २०७६/०७७ को बजेटसँगै सार्वजनिक भएको आर्थिक विधेयकमा भन्सार मूल्याँकन बढेको छ । 

कति बढ्यो त सुनको भन्सार शुल्क ?

सरकारले प्रति १० ग्राममा १ हजार रुपैयाँको दरले भन्सार महशुल बढाएको छ । विदेशमा ६ महिनाभन्दा बढी बसेका व्यक्तिलाई १०० ग्रामसम्म काँचो सुन ल्याउन दिने व्यवस्था छ ।

आर्थिक विधेयक अनुसार अबदेखि ५० ग्रामसम्मको सुन आयात गर्दा प्रति १० ग्रामको दरले ६ हजार २ सय रुपैयाँ तिनुपर्छ । यसअघि ५० ग्रामसम्म सुन ल्याउँदा प्रति १० ग्राम ५ हजार २ सय रुपैयाँ भन्सार शुल्क तिनुपर्ने व्यवस्था थियो । 

यस्तै ५० ग्रामभन्दा बढी थप ५० ग्रामसम्ममा ७ हजार २ सय रुपैयाँ प्रति १० ग्रामको दरले भन्सार शुल्क लाग्छ । पहिला यस्तो सुन ल्याउँदा प्रति १० ग्राम ६ हजार २ सय रुपैयाँ लाग्ने गरेको थियो । 

यसअघि १०० ग्राम सुन ल्याउँदा ५० ग्रामको २६ हजार रुपैयाँ तथा बाँकी ५० ग्रामको ३१ हजार रुपैयाँ भन्सार शुल्क तिनुपर्ने हुन्थ्यो । यसरी १०० ग्राम सुन ल्याउँदा ५७ हजार रुपैयाँ भन्सार शुल्क लाग्ने गरेको थियो ।

अहिलेको व्यवस्था अनुसार १०० ग्राम काँचो सुन ल्याउँदा ५० ग्राममा ३१ हजार र बाँकी ५० ग्राममा ३६ हजार रुपैयाँ भन्सार शुल्क तिनुपर्छ । यसअनुसार अब १०० ग्राम सुन ल्याउँदा ६७ हजार रुपैयाँ भन्सार शुल्क तिनुपर्छ ।

तर, ५० ग्रामसम्मको सुनको गहनामा कुनै पनि भन्सार शुल्क लाग्दैन । १०० ग्राम सुनको गहना ल्याउँदा बाँकी ५० ग्राममा  प्रति १० ग्रामको दरले ७ हजार २ सय रुपैयाँ भन्सार शुल्क लाग्छ । योभन्दा बढी सुन ल्याएमा परिणामभन्दा माथिको सुन जफत हुने व्यवस्था छ ।

विदेशबाट ल्याउने अरु सामानमा लाग्ने भन्सार शुल्क बढेको छैन ।

 

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया