कपिलवस्तुमा इदको रौनक (फोटोफिचर)

 जेठ २२, २०७६ बुधबार १३:५०:४७ | गोपाल भण्डारी
unn.prixa.net

कपिलवस्तु – बुधबार कपिलवस्तुका मुस्लिमहरुले धुमधामका साथ इद मनाएका छन् । 

इदका अवसरमा मुसलमान समुदायका व्यक्तिले सबेरै उठेर नजिकका इदगाहामा गई सामूहिक रुपमा नमाज पढेर खुशीयाली साटासाट गरेका छन् । रमजान महिनाको अन्तिम दिनलाई इद पर्वको रुपमा मनाउने प्रचलन छ । 

यहाँको मुस्लिम समुदायले आफ्ना घर परिवार इष्टमित्र र गैरमुस्लिम समुदायसँग इद पर्वको शुभकमना व्यक्त गरेको कपिलवस्तु नगरपालिका– १ नयाँ टोलका मुस्लिम अगुवा र उफ अहमद खानले बताउनुभयो । 

यस्ता चाडपर्वहरुले समुदायमा धार्मिक तथा सामाजिक सद्भाव बढाएको कपिलवस्तु नगरपालिका– २ का अध्यक्ष रामभजन कलवारले बताउनुभयो । पछिल्लो समयमा देशमा बढ्दै गएको जातीय तथा धार्मिक दुरीलाई चाडपर्वका माध्ययमबाट नै जोड्न सकिन्छ । त्यसको ज्वलन्त उदाहरण इद पर्व पनि हो । जसमा मुस्लिम समुदायले हिन्दु समुदायका साथीभाइ टोल छिमेकसँग मिलेर पर्व मनाउँछन् । 

यसरी सामाजिक सद्भाव बढाउंदै गएको इद पर्वका अवसरमा सदरमुकाम तौलिहवा, कृष्णनगर, चन्द्रौटा, पकडीलगायतका ठाउँका इदगाहा तथा मस्जिदमा बुधबार बिहानैदेखि मुस्लिम समुदायले सामूहिक नमाज पढेका छन् । 

इदको अवशरमा मुस्लिम धर्मावलम्बीहरु भेटेर एक आपसमा शुभकामना आदान–प्रदान गरिरहेका छन् । वर्षभरी भएको आम्दानीबाट साढे दुई प्रतिशत रकम निकाली कपिलवस्तुका मुस्लिम समुदायले गरिबगुरुवाहरुलाई वितरण गरेको स्थानीय मुस्लिम अगुवा मुख्तार अहमद खानले बताउनुभयो । 

इद पर्वको अवसरमा पूर्व राजदुत दीपकुमार उपाध्याय, प्रदेश सभा सदस्य धरमबहादुर लाल श्रीवास्तव, नेपाली कांग्रेसका नेता सुधाकर पाण्डेय, नेकपाका जिल्ला नेता बाबुराम खनाल, वडा अध्यक्षहरु सुदीप पौडेल, रामभजन कलवार, स्वतन्त्र नेता राजुप्रसाद अर्याल, समाजसेवी गुनाखर गैरेलगायत हिन्दु अगुवाहरु इदगाहामा गई शुभकाना व्यक्त गरेका छन् । 


 

अन्तिम अपडेट: चैत १४, २०८०

गोपाल भण्डारी

गोपाल भण्डारी कपिलवस्तुका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया