विश्वकपमा भारतीय टिम : कोहलीको कि धोनीको ?

 जेठ २२, २०७६ बुधबार १५:१४:१२ | एजेन्सी
unn.prixa.net

भारतीय क्रिकेट टिमलाई सन् १९८७ को विश्व कपदेखि नै हरेक पटकको विश्वकप विजेताको दाबेदारको रुपमा हेरिन थालियो र सन् २०११ मा पनि भारतले विश्वकप आफ्नो पोल्टामा पार्‍न सफल भयाे ।  

प्रायजसो विश्व कपमा चार वटा टिमलाई नै मुख्य दाबेदार मानिन्छ । यो संस्करणको विश्व कपमा पनि यही अनुमान गरिएको छ । 

क्रिकेट विश्लेषक र सट्टेबाजको नजरमा आयोजक इंग्ल्याण्ड बाहेक अष्ट्रेलिया र भारतलाई दाबेदार मानिएको छ । यही टिम नै सेमिफाइनलमा पुग्ने अनुमान गरिएको छ भने यी टिम नै वास्तवमा सन्तुलित देखिएका छन् । 

सेमिफाइनलको चौथो टिमका लागि दक्षिण अफ्रिका र न्यूजिल्याण्डलाई दाबेदार मानिए पनि कुनै समयको क्रिकेटको बादशाह मानिने वेस्टइण्डिजको लागि पनि राम्रो मौका छ । 

यो विश्व कपमा खेल्नका लागि वेस्ट इण्डिजले छनोट खेल खेल्नुपरेको थियो । तर यो टिम प्रतिभाशाली खेलाडीले भरिएको छ र यो टिमको सहजै आँकलन गर्न पनि असम्भव देखिएको छ । उता न्यूजिल्याण्ड पनि कुनै दोस्रो टिमको तुलनामा सबैभन्दा धेरै सेमिफाइनलमा पुग्ने टिम हो । 

फेरि विश्व विजेता बन्न भारतको सम्भावना कति ?

याे विश्वकपमा सबैभन्दा ठूलो प्रश्न त के हो भने, के भारतले यो संस्करणको उपाधि जित्न सक्छ कि सक्दैन ? यसको उत्तर पनि जित्न सक्छ भन्ने नै छ । तर सेमिफाइनलमा पुग्ने चार वटा नै टिम यसको प्रबल दाबेदार हुन सक्नेछन् । 

यस पटकको विश्व कपमा अफगानिस्तान, बंगलादेश र श्रीलंकाजस्ता टिम पनि अरु टिमलाई टक्कर दिन सक्नेछन् । श्रीलंका टिमले सन् १९९६ मा विश्व कप जितेको थियो भने तीन पटक फाइनलमा पुगिसकेको छ । 

तर विश्व कपमा त्यही टिम सफल हुन्छ, जसको प्रदर्शन सधैँ सन्तुलित हुन्छ । केही टिमले उत्कृष्ट पुनरागमन गर्दै, लगातार जित हात पर्दै उपाधिसम्म जितेको पनि इतिहास छ । 

यो पनि सत्य हो कि धमाकेदार सुरुवात गरेर लगातार जित हासिल गरेका केही टिमले अन्तिममा गएर उपाधि नजितेका उदाहरणहरु पनि छन् । विश्व कप तिनैले जिते, जसले अपेक्षाकृत सन्तुलित प्रदर्शन गरे, प्रत्येक खेलमा आत्मविश्वास बटुल्दै गए, कमजोरीका कारण एक दुई खेल गुमाए र आफ्नो गल्तीलाई सुधारे । 

कैयौ पटक प्रतियोगिताको कुनै खेल टिमको लागि ‘टर्निंग प्वाइन्ट’ सावित भएको छ । सन् २०११ को विश्व कपमा भारतीय टिमले अष्ट्रेलियालाई हराएपछि एउटा छुट्टै टिमको रुपमा चिनियो । भारतले फिल्डिंगमा पनि निकै सुधार भएको थियो । 

इंग्ल्याण्डमा जारी विश्वकपमा सेमिफाइनलमा पुग्नका लागि कुनै पनि टिमले ‘राउण्ड रोबिन’ लिगमा कम्तिमा पाँच खेल जित्नुपर्छ । शीर्ष चार टिम नै सेमिफाइनलमा पुग्छन् । 

भारतीय समर्थकहरुले आफ्नो टिमले आफूभन्दा तलका तीन वटा टिमलाई सहजै हराउने अनुमान लगाएका छन् । यसको अलावा वेस्टइण्डिजविरुद्ध पनि जित हासिल गर्नेमा विश्वस्त छन् । यसपछि भारतीय टिमलाई सेमिफाइनलमा पुग्नका लागि मात्र एक खेलमा जित आवश्यक हुन्छ । तर यो त्यति सहज छैन, किनकि यो नियम अरु टिममा पनि लागू हुन्छ । 

‘चोकर्स’ टिम र भारत–पाकिस्तानको चर्चा

यो सबै कुरा गर्दैगर्दा १६ जुन पनि आउँछ, जुन दिन भारतीय टिमले वर्ल्ड कपमा पाकिस्तानको सामना गर्नेछ । यी दुई टिमबीच पछिल्लो केही वर्षमा कुनै पनि सिरिज भएको छैन । यी दुई टिम केबल बहुराष्ट्रिय प्रतियोगितामा आमने सामने भएका छन् । 

विश्व कप क्रिकेट विशेषतः दुई कुराको लागि चर्चित छः पहिलो कुरा त दक्षिण अफ्रिका यो प्रतियोगितामा सधैँ असफल रहेको छ, जसका कारण दक्षिण अफ्रिकालाई ‘चोकर्स’ पनि भनिन्छ । दोस्रो खास कुरा चाहिँ भारतले विश्व कपमा पाकिस्तानसँग एक पटक पनि हारेको छैन । 

भारत र पाकिस्तान विश्व कपमा अहिलेसम्म छ पटक खेलेका छन्, जसमा छ पटक नै भारतले बाजी मारेको छ । यही कारणले गर्दा पनि भारत–पाकिस्तानको खेललाई सबैभन्दा रोमाञ्चक मानिन्छ । 

यी दुई टिमका खेलाडी यो प्रतियोगितालाई लिएर तनावमा छन् किनकि हारपछि यी दुवै टिमका फ्यानले उनीहरुको पुतला जलाउन सक्छन्, खेलाडीहरुको घरमा ढुंगा हान्न सक्छन् । 

यो विश्व कपमा भारतको स्थिति कस्तो छ ?

भारतीय टिमका शीर्ष तीन खेलाडी र अन्तिम तीन खेलाडी विश्वस्तरीय छन् । 

शिखर धावन र रोहित शर्माको जोडी विश्वको सबैभन्दा उत्कृष्ट जोडी ब्याट्सम्यान मानिन्छन् । यसपछि तीन नम्बरमा विराट कोहली छन् । विराटलाई विश्वकै सर्वाेत्कृष्ट ब्याट्सम्यानको रुपमा हेरिन्छ । त्यसैगरी केएल राहुल पनि भारतको लागि भरपर्दा ब्याट्सम्यान हुन् । 

उता जसप्रिल बुमराहलाई विश्वका सबैभन्दा उत्कृष्ट बलर मानिएको छ । बुमराह अन्तिम ओभरमा शानदार बलिङ गर्नका लागि चर्चित छन् । यद्यपि उनको सुरुवाति ओभर पनि विपक्षी टिमका ब्याट्सम्यानका लागि निकै घातक सावित भएको छ । मोहम्मद शमी र भुवनेश्वर कुमार पनि शानदार लयमा छन् ।

यी तीन जना बलर बाहेक स्पिनर बलर यजुवेन्द्र चाहल र कुलदीप यादव पनि भारतको भराेसा बन्नेछन् । यी दुई जनाले इंग्ल्याण्डको मैदानमा आफ्नो क्षमता पनि देखाइसकेका छन् । 

भारतीय टिमको लागि सबै सन्तुलित छ भन्ने अवस्था पनि छैन । मध्य क्रमका ब्याट्सम्यान टिमको लागि सबैभन्दा चिन्ताको विषय रहेको छ । यद्यपि सातौं नम्बरका ब्याट्सम्यान महेन्द्रसिंहको उपस्थितिले भारतीय टिमलाई भने केही राहत हुनेछ । उनले अभ्यास खेलमा शतक बनाएर पनि संकेत दिइसकेका छन् । तर भारतीय टिम प्रबन्धक नै पाँचौं नम्बरमा विशुद्ध ब्याट्सम्यानलाई खेलाउने कि अलराउण्डरलाई खेलाउने भन्ने बारेमा निश्चित हुन सकेको छैन । 

टिमको पाँचौ ब्याट्सम्यानका रुपमा हार्दिक पाण्ड्या छन्, जो तल्लो क्रममा पनि ब्याट चलाउन सक्छन् । उनको अलावा बायाँ हाते स्पिन बलर रवीन्द्र जडेजा पनि सक्षम छन् । त्यस्तै केदार जाधवको ब्याटिङको स्ट्राइक रेट १०० भन्दामाथि हुँदा बलिङ पनि राम्रै गर्छन् । 

चार नम्बर खेलाडीका रुपमा सामेल गरिएका विजय शंकर मध्यम पेस बलिङ गर्न सक्छन् र ब्याटिङ पनि गर्न सक्छन् । 

विकेटपछाडि धोनीको उपस्थिति निकै महत्वपूर्ण हुनेछ । हालको खेलमा भारतीय टिम दुई कप्तानसँग खेलिरहेको छ । भारतीय टिमले ब्याटिङ गर्दा कोहलीले कप्तानी गर्दै आइरहेका छन् भने भारतीय टिमले फिल्डिङ गर्दा धोनीले कप्तानको भूमिका निभाएको देख्न सकिन्छ । विशेषगरी स्पिन बलहरुका लागि विकेटकिपरको ‘इनपुट्स’ निकै उपयाेगी हुन्छ ।  

विश्व कप कप्तानले नै जित्दै आइरहेका छन् 

सन् १९७० को दशकमा क्लाइव लायडले दुई पटक विश्वकप जिताएका थिए । सन् १९८० को दशकमा कपिल देव र एलन बर्डर विश्व विजेता बने । ९० को दशकमा इमरान खान, अर्जुन रणातुंगा र स्टीव वले आ–आफ्नो टिमका लागि विश्वकप जिताए । 

यो दशकमा रिकी पोन्टिंग, महेन्द्र सिंह धोनी र माइकल क्लार्क विश्व विजेता कप्तान साबित भए । यी मध्ये हर कप्तानले विश्व कपको दौरान आफ्नो नेतृत्वशैली र आफ्नो पकडको परिचय दिए । 

अहिलेको भारतीय क्रिकेट टिम पनि कोहलीकरण भैसकेको छ । वर्तमान भारतीय टिम पनि कोहली जस्तै आक्रामक, फिट र जितको भोको छ । 

-बीबीसी हिन्दीका लागि वरिष्ठ खेल पत्रकार सुरेश मेननले तयार पारेकाे सामग्रीकाे अनूदित अंश

 


 

अन्तिम अपडेट: चैत १६, २०८०

तपाईको प्रतिक्रिया