पहिरो गएको एक हप्ता बितिसक्दा पनि प्रशासन बेखबर

 जेठ २२, २०७६ बुधबार २०:२२:२५ | राधाकृष्ण डुम्रे
unn.prixa.net

स्याङ्जा – कालीगण्डकी गाँउपालिका-२, लसर्घामा पहिरो जाँदा झण्डै २० घर परिवार समस्यामा परेका छन् । स्थानीयवासीको घर, गोठ, शौचालयका साथै दुई वटा मोटरसाइकलमा नराम्रोसँग क्षति पुगेको वडा अध्यक्ष नरबहादुर रानाले बताउनुभयो । 

स्थानीयका अनुसार, वैघा-चण्डीभञ्ज्याङ ग्रामीण खडक खण्डका कारण ठूलो पहिरो गएको हो । सडक निर्माण भैरहेको समयमा पानी परेपछि ठूला-ठूला ढुङ्गासँगै आएको पहिरोले क्षति पुर्‍याएको हो  । प्रहरीले मुचुल्का बनाएर फर्किएको भए पनि जिल्ला प्रशासनले वास्ता नगरेको पीडितहरुले गुनासो गरेका छन् । स्थानीयहरु भन्छन्, ‘राहतको त के कुरा प्रशासनबाट सोधपुछसमेत भएको छैन ।’

यता स्याङ्जाका प्रमुख जिल्ला अधिकारी कोशहरि निरौलाले पहिरो गएको जानकारी प्राप्त भए पनि क्षतिको विवरण आफूसम्म नआइपुगेको बताउनुभयो । उहाँले राहत वितरण तथा विवरण संकलनमा ढिलो भएको स्वीकार गर्दै आफू पहिरो गएको ठाँउमा जाने तयारी गरिरहेको बताउनुभयो । सामान्य पानी पर्दा पहिरो नै जाने अवस्था आएको भन्दै सडक निर्माणकर्तासँग छलफलको तयारी भैरहेको समेत स्पष्ट पार्नुभयो । 

त्यस्तै प्रदेशसभा सांसद भागवत प्रकाश मल्लले स्थानीय पीडितको लागि राहत उपलब्ध गराउन प्रदेश सरकारसँग छलफल भैरहको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘स्थानीय प्रशासनलाई पटक-पटक अनुरोध गर्दा पनि क्षतिको विवरण संकलन गर्ने काममा ढिलाइ भएको छ ।’ 

गाँउपालिका अध्यक्ष खिमबहादुर थापाले पहिरोका कारण झण्डै ५० लाख बराबरको क्षति भएको प्रहरीले आफूलाई बताएको जानकारी दिनुभयो । उहाँले गाँउपालिकाको तर्फबाट राहत दिने काम भएको भन्दै अन्य सहयोगको लागि पहल भैरहको बताउनुभयो ।  

पहिरो गएको लसर्घामा संविधान सभा सदस्य एवं कांग्रेसका महासमिति सदस्य मोहनप्रसाद पाण्डेय, प्रदेश सभा सांसद भागवतप्रकाश मल्ल, कांग्रेस महासमिति सदस्य श्याम बस्याल, क्षेत्रीय सचिव महेश भट्टराई, पूर्वमहासमिति सदस्य श्याम भण्डारी, तरुण दल कालीगण्डकीका सभापति  सुन्दर पाण्डेय, क्षेत्रीय सदस्य नारायण भट्टराई, क्षेत्रीय सदस्य छवि गाहालगायतले निरीक्षण गर्नुभएको छ । 

उहाँहरुले स्थानीयहरुलाई राहत सामग्री वितरण गर्नु भएको थियो । लसर्घामा गएको जेठ १५ गते पहिरो गएको हो ।
 

अन्तिम अपडेट: चैत ७, २०८०

राधाकृष्ण डुम्रे

स्याङजाका पत्रकार राधाकृष्ण डुम्रे उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया