बाँदरमुढे घटनाको १४ वर्ष : पीडितको अवस्था उस्तै ‘न राहत न न्याय’

 जेठ २३, २०७६ बिहिबार १२:२४:४२ | राधेश्याम खतिवडा
unn.prixa.net

तस्बिर एएफपी

चितवन – चितवनको माडीमा पर्ने बाँदरमुढे खोलामा तत्कालीन माओवादीले यात्रुबसमा गराएको विष्फोटपछि ४१ जनाको ज्यान गएको आज १४ वर्ष पुगेको छ । वि.सं २०६२ साल जेठ २३ गते यात्रु बोकेर गुडिरहेको ना १ ख ३२४५ नम्बरको सार्वजनिक बस विस्फोटमा पर्दा घटना स्थलमै ३८ जनाको ज्यान गएको थियो । ७५ जना घाइते भएका थिए । 

घटना पश्चात् पीडितको राहतका लागि विभिन्न समयमा विभिन्न प्रतिबद्धताहरु व्यक्त गरिएपनि पूरा नहुँदा पीडितहले थप पीडा भोगिरहेका छन् । घटना घटेको एक वर्षपछि बाँदरमुढे घटना पीडित संघर्ष समिति बनाएर पीडितहरु न्याय माग्दै आएका छन् । घटनामा परी आफन्त गुमाएका  र अपाङ्ग भएकाहरु अझै पनि न्याय र राहतको आशामा बसिरहेका छन् ।

तत्कालीन माओवादीले सकरकारको नेतृत्व गरिसकेको र पटक–पटक सरकारमा पुग्दा समेत पीडितको पक्षमा न्याय हुनसक्नेगरी काम गर्न नसके पीडितहरु बताउँछन् । आश्वासन आउने गरेको तर काम नभएको उनीहरुको गुनासो छ । 

तत्कालीन माओवादीका नेतृत्व सम्हालेका पुष्पकमल दहाल अहिले यो क्षेत्रको सांसद समेत रहनुभएको छ । संसदीय निर्वाचनका क्रममा दाहालले २०७४ मंसिर १७ गते माडीमै पुगेर पीडित पक्षसँग गरेका सहमति अझै लागू हुन सकेको छैन । मृतकका आश्रीत परिवारलाई काम गर्न सक्नेलाई रोजगार, काम गर्न नसक्नेलाई जीवनवृत्ती र बालबालिकालाई पढाइदिने समहमति भएको थियो । 

घाइतेको अवस्था हेरी औषधि उपचारको व्यवस्था गर्ने, काम गर्न सक्नेलाई रोजगार र नसक्नेलाई जीवनवृत्ती दिने सहमति थियो । यसैगरी घटनामा ज्यान गुमाएकाहरुको सम्झनामा बाँदरमुढेमा १० विगाह जमिनमा नमूना संग्राहालय बनाउने अर्को सहमति पनि भएको थियो । अहिले यी सहमति कुनै पनि पूरा भएका छैनन् । 

हरेक वर्ष झैँ यो वर्ष पनि पीडित परिवारले घटना स्थलमा धुपवत्ति बालेर मृतकहरुको सम्झना गरेको बाँदरमुढे घटना पीडित समितिका अध्यक्ष मुक्तिनाथ न्यौपानेले बताउनुभयो । गएका वर्षहरुको निरन्तरता दिने काम बाहेक अरु केही गर्न नसकिएको उहाँले बताउनुभयो ।

घटना भएको १४ वर्ष पुग्दा पनि पीडितले न्याय पाउन नसकेको बताउँदै उहाँले पीडितको माग अहिलेसम्म सुनुवाई हुन नसकेको बताउनुभयो । उहाँले राज्यका तर्फबाट पीडित परिवारले केही पाउन नसकेको गुनासो गर्नुभयो ।

घटनामा घाइते भएका १५ जनाले अहिले पनि औषधि सेवन गरिरहेको र सात जना मानसिक समस्यामा रहेको न्यौपानेले बताउनुभयो । 

बाँदरमुढेमा पार्क निर्माणका लागि विस्तृत अध्ययन प्रतिवेदन तयार गरी बजेट माग गरिएको बताउँदै माडी नगरपालिकाका प्रमुख ठाकुरप्रसाद ढकालले आउँदो आर्थिक वर्षबाट काम गर्ने गरी बजेट विनियोजन भएको भन्ने सुनिएको बताउनुभयो । स्वरोजगार कार्यक्रम अन्तर्गत २५ पीडित परिवारलाई १ लाख रुपैयाँका दरले अनुदान दिन लागिएको ढकालले बताउनुभयो । 

मृतकको सम्झनामा घटनास्थल बाँदरमुढे खोलामा स्थानीय प्रशासन, नेपाली सेना र स्थानीय बासिन्दाबाट उठाएको सहयोग रकमबाट स्मारक निर्माण गरिएको छ । 
 

अन्तिम अपडेट: चैत २३, २०८०

राधेश्याम खतिवडा

राधेश्याम खतिवडा उज्यालोका चितवन सहकर्मी र नेपाल पत्रकार महासंघ चितवन शाखाका पूर्व अध्यक्ष हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया