चालु आर्थिक वर्षमा नेपालकाे आर्थिक वृद्धिदर ७ दशमलव १ प्रतिशत पुग्ने विश्व बैंककाे प्रक्षेपण

 जेठ २३, २०७६ बिहिबार १३:३८:१५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - विश्व बैंकले चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ७ दशमलव १ प्रतिशत पुग्ने प्रक्षेपण गरेको छ । 

विश्व बैंकले बिहीबार काठमाण्डौमा सार्वजनिक गरेको नेपालको आर्थिक अवस्थासहितको प्रतिवेदनमा चालू आर्थिक वर्ष नेपालको आर्थिक वृद्धिदर ७ दशमलव १ प्रतिशत पुग्ने प्रक्षेपण गरिएको हो ।

नेपालको अर्थतन्त्र द्रुत गतिमा अघि बढिरहेको पनि प्रतिवेदनमा उल्लेख गरिएको छ । विश्वका दुई शक्तिशाली अर्थतन्त्र भएको दुई छिमेकी देश भारत र चीनबाट फाइदा लिन सके नेपालको आर्थिक विकासले झनै फड्को मार्ने देखिएको पनि बैंकका दक्षिण एसियाका वरिष्ठ अर्थशास्त्री हान्स टिम्मेरले जानकारी दिनु भयो ।

बैंकले पर्यटकको आगमनमा वृद्धि, विद्युत आपूर्तिमा सहज तथा निजी क्षेत्रको लगानीमा भएको विस्तारका कारण व्यापार घाटा बढ्दै जाँदा पनि नेपालको आर्थिक वृद्धिदरमा कमी हुन आउने सम्भावना नदेखिएको पनि स्पष्ट पारेको छ । सरकारी खर्च भने यो वर्ष निराशाजनक हुने विश्व बैंकको ठहर छ । प्रतिवेदनमा तीन वटै तहमा बलियो सरकार बन्नु नेपालको आर्थिक क्षेत्रको विकासका लागि अवसर भएको पनि उल्लेख गरिएको छ ।

कार्यक्रममा बोल्दै अर्थमन्त्री डा. युवराज खतिवडाले नेपालको व्यापार घाटा बढदै गए पनि चिन्तित हुनुपर्ने अवस्था नरहेको बताउन भयो । उहाँले आर्थिक गतिविधि बढाउँदा हुन गएको व्यापार घाटाबाट देशलाई घाटा नभई लाभ नै हुने पनि स्पष्ट पार्नुभयो । अर्थमन्त्री खतिवडाले सीमित स्रोत भित्र रहेर सरकारले असीमित दायित्व पूरा गर्न लागि परे पनि वित्तीय अनुशासनलाई पूर्ण पालना गरेको दाबी गर्नुभयो ।

अर्थमन्त्री खतिवडाले सरकारले आन्तरिक उत्पादनलाई जोड दिएको उल्लेख गर्दै त्यसबाट केही वर्षभित्र व्यापार घाटा अन्त्य गर्ने दाबी पनि गर्नुभयो । निरन्तर रुपमा भैरहेको आर्थिक वृद्धिदरलाई कायम राख्न सरकारले विशेष ध्यान दिने अर्थमन्त्री खतिवडाको भनाइ छ । अर्थमन्त्री खतिवडाले देशको आर्थिक विकासमा जोड दिन सरकारले कृषि क्षेत्रमा आधारित उद्योग र विद्युत उत्पादनको कामलाई उच्च प्राथमिकता दिएको पनि स्पष्ट पार्नुभयो ।

अन्तिम अपडेट: चैत ७, २०८०

तपाईको प्रतिक्रिया