पानीमाथिको ओभानो नबन्न प्रतिपक्षी दललाई नेकपा सांसद शर्माकाे चेतावनी

 जेठ २३, २०७६ बिहिबार १५:२९:२४ | उज्यालो सहकर्मी
unn.prixa.net

सत्तारुढ दलका सांसद जनार्दन शर्माले गल्तीहरु दोषारोपण गरेर पानीमाथिको ओभानो नबन्न प्रतिपक्षी दललाई चेतावनी दिनुभएको छ । 

प्रतिपक्षी दल नेपाली कांग्रेसकी सचेतक पुष्पा भुसाल गौतमले माओवादीको हिंसात्मक द्वन्द्वका कारण नेपाली युवाहरु विदेश जान बाध्य भएको धारणा राखेपछि त्यसको प्रतिकार गर्दै उहाँले अरुलाई दोषारोपण गरेर उम्कने काम नगर्न चेतावनी दिनुभएको हो ।

उहाँले संविधान निर्माण लगायतका उपलब्धिको श्रेय मात्रै नलिएर सबै कमी कमजोरीको सबैले सामूहिक जिम्मेवारी लिनुपर्ने बताउनुभयो । उहाँले सत्तामा बसेर निरन्तर नेतृत्व लिएकाहरुले राम्रा कामका जस मात्रै नभइ गल्तीहरुको पनि जिम्मेवारी लिनुपर्ने बताउनुभयो ।

गल्तीहरु दोषारोपण गरेर पानी माथिको ओभानो भएर सुख नपाइने भन्दै उहाँले सबै जस अपजसको सामूहिक जिम्मेवारी लिनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘परिर्वतन, संघीयता, संविधानसभालाई अहिलेको अधिकारलाई बडो गर्वका साथ फलानोको पालामा यसो गर्यौ भन्ने ? अनि त्यसपछि आएर जनयुद्ध, जंगल पसेर सब विनाश गरे भनेर भन्ने ? म जिम्मा लिन चाहन्छु,’ उहाँले थप्नुभयाे, ‘जनयुद्ध गरेर यो देशको परिर्वतन गर्नेको एउटा कमाण्डर म पनि हुँ । त्यसकारण म पूर्ण रुपमा जिम्मा लिन चाहन्छु । त्यसले दिएको उपलब्धि , परिर्वतका पक्षहरु, राजतन्त्र अन्त्य गरेको कुराहरु आज बिर्सन मिल्छ ? त्यसकारण गल्तीहरु पनि सामूहिक रुपमा लिउँ । त्यहा भएका कमीकमजोरीहरु लिन म तयार छु । र त्यतिबेलाको माओवादी लिन तयार छ । कमरेड प्रचण्ड लिन तयार हुनुहुन्छ ।’

सांसद भुसालले २०४८ साल देखिको मुलुकको आर्थिक अवस्थाको फेयरिस्त प्रस्तुत गर्दे नेपाली कांग्रेसले लिएको नीजिकरणलाई तात्कालिन कम्युनिष्ट पार्टीले पनि सहयोग गरेको तथा २०५० सालमा एक बर्षको अवधिमा ९० हजारको रोजगारी श्रृजना भएको दावी गर्नुभएको थियो ।त्यसै क्रममा उहाँले तात्कालिन माओवादी द्वन्द्वका कारण युवाहरु बिदेसिन बाध्य भएको बताउनुभएको थियो ।

प्रतिनिधिसभाको बिहीबारको बैठकमा आगामी आर्थिक बर्ष २०७६-७७ को बजेटमाथिको छलफलमा बोल्न रोष्ट्रम पुगेका सांसद शर्माले सांसद भुसालको अभिव्यक्तिको खण्डन गरेपछि मात्रै विषयवस्तुमा प्रवेश गर्नुभएको थियो ।

 

अन्तिम अपडेट: चैत ६, २०८०

तपाईको प्रतिक्रिया