जापान जाने साेच त्यागेर गाईपालन : उत्पादन नबिक्ला, मूल्य नपाउला भन्ने चिन्तै छैन

 जेठ २४, २०७६ शुक्रबार १८:५६:१५ | श्यामशितल परियार
unn.prixa.net

लमजुङ – डुम्रे-बेसीशहर सडकअन्तर्गत पर्ने पाउँदीकाे सडकछेवैमा जगतमाया गाई फार्म छ ।

यो गाई फार्म सुन्दरबजार नगपालिका–७, पाउँदीका ध्रुवराज पोखरेलको हो । व्यवासायिक गाईपालक ध्रुवराज प्राय: गाईगोठमै भेटिनुहुन्छ, । गाईको स्याहारसुसारमै उहाँकाे दिन बित्ने गर्छ।

जापान जाने सोच त्यागेर व्यावसायिक गाईपालनमा लाग्नुभएका ध्रुवराजको मन यसैमा रमेको छ । गाईपालनबाट उहाँले मनग्य कमाउँदै आउनुभएको छ । गाईको लागि फार्म वरपर नेपिएर, मोलाटो, स्टाइलोलगायतका घाँस रोपिएका छन् । झण्डै ४० रोपनी जग्गामा गाईका लागि घाँस खेती गरिएको छ। 

५२ गाई : २ सय ४० लिटर दूध उत्पादन 

९ रोपनी जग्गामा फैलिएको याे आधुनिक गाई फार्ममा अहिले ‘होलेस्टेन क्रस’ र ‘जर्सी क्रस’ जातका साना ठूला गरी ५२ वटा गाई रहेका छन् । 

अहिल उहाँको फार्मबाट दैनिक २ सय ४० लिटर दूध उत्पादन हुन्छ । ‘१८ वटा गाईले नियमित दूध दिन्छन् । ७ वटा गाई ब्याउने छन् । अरु कोरली गाई छन्,’ उहाँले भन्नुभयो ।

गाईपालन व्यवसायमा उहाँलाई श्रीमती जानुका तिवारीको पनि साथ र सहयोग छ । गाईफार्ममा २ जनाले रोजगारी समेत पाएका छन् । पोखरेल गाईपालन व्यवसायमा लागेको वर्षौँ भइसकेको छ । उहाँका अनुसार विगतमा उत्पादित दूधले खासै बजार र मूल्य पाउन सकेको थिएन ।  

‘उत्पादनले बजार र मूल्य नपाउनुका साथै समयमै पैसा नपाउँदा गाईपालक किसानलाई समस्या थियो,’ उहाँ भन्नुहुन्छ, ‘उत्पादनले बजार र मूल्य नपाउँदा कतिपय किसानले यस व्यवसाय छोडिसकेका छन् ।’

उत्पादन नबिक्ला, मूल्य नपाउला भन्ने चिन्ता छैन

तर अहिले ध्रुवराजलाई उत्पादन नबिक्ला, मूल्य नपाउँला भन्ने रतिभर चिन्ता छैन । किनकि अहिले उहाँले फार्मबाटै दूधबाट विभिन्न परिकार बनाएर बेच्न सुरु गर्नुभएको छ । पोखराका एक जना चीज व्यवसायीसँग मिलेर उहाँले फार्ममा उत्पादित दूधबाट विभिन्न परिकार बनाई बेच्न सुरु गर्नुभएको हो । उहाँले स्थानीय २९ जना किसानले उत्पादन गरेको दूध पनि उचित मूल्य दिएर खरिद गर्दै आउनुभएको छ । 

‘पाउँदीमा २९ जना गाईपालक किसान आबद्ध भएको दशरथ दूध उत्पादक समूह छ,’ उहाँले भन्नुभयो, ‘समूहमा आबद्ध सबै किसानहरुकाे उत्पादनले समेत बजार पाएको छ । हामीले प्रतिलिटर ५६ रुपैयाँसम्ममा किसाने उत्पादन गरेको गाईको दूध खरिद गर्दै आएका छौँ ।’

विगतमा उचित बजार र मूल्य नपाएका किसान गाउँघरमै उत्पादनले राम्रो मूल्य पाउँदा हौसिएका छन् । आफ्नो गाई फार्मका साथै स्थानीय किसानबाट किनेको समेत गरी दैनिक ६ सय ५० लिटर दूध संकलन हुँदै आएको उहाँले बताउनुभयो ।

माेजरेला चीज उत्पादन: माग र मूल्य दुवै राम्रो

संकलित दूधबाट माेजरेला चीज बनाई बिक्री गर्ने गरिएको उहाँ बताउनुहुन्छ । ‘अहिले दैनिक ६ सय ५० लिटरसम्म दूध संकलन हुन्छ । यसबाट हामीले माेजरेला चीज बनाएर बिक्री गर्ने गरेका छौँ,’ उहाँले भन्नुभयो । उहाँका अनुसार अहिले दैनिक झण्डै ८० केजीसम्म माेजरेला चीज उत्पादन हुँदै आएको छ ।

मजरेला पोखरामा खपत हुँदै आएको छ । ‘मजरेलाको माग र मूल्य दुवै राम्रो छ,’ उहाँले भन्नुभयो, ‘हाम्रो उत्पादन पोखरामा खपत हुँदै आएको छ ।’
प्रतिकेजी ८ सय रुपैयाँसम्म माेजरेला चीज बिक्री हुँदै आएको उहाँ बताउनुहुन्छ ।

‘दूधबाट विभिन्न परिकार बनाएर बेच्न थालेसँगै दूध नबिक्ने र मूल्य नपाउने समस्या हटेको छ,’ उहाँ भन्नुहुन्छ । संकलित दूध चिस्यानका लागि उहाँसँग ५ सय लिटर क्षमताको २ वटा ‘चिलिङ भ्याट’ रहेका छन् । एउटा चिलिङ भ्याट फार्मको हो भने अर्को चिलिङ भ्याट सुन्दरबजार नगरपालिका, पशु सेवा शाखाले दिएको हो । माेजरेला चीज बनाउनका लागि उहाँले २ जनालाई रोजगारी समेत दिनुभएको छ ।

परिकार बनाएर बेच्न सके फाइदा

आवश्यक ज्ञान, सीप लिएर व्यावसायिक गाईपालन गर्न सके, दूध बिक्रीका साथै दूधबाट विभिन्न परिकार बनाएर बेच्न सके यसबाट राम्रो कमाउन सकिने उहाँकाे भनाइ छ ।

पछिल्लो समय दूधको माग र मूल्य राम्रो भएकाले पनि व्यावसायिक गाईपालनमा किसानको आकर्षण बढ्दो रहेको सुन्दरबजार नगरपालिका पशु सेवा शाखाका प्रमुख डा. शुलव चौधरी बताउनुहुन्छ । किसानहरुलाई शाखाले विभिन्न सहयोग गर्दै आएको पनि उहाँ बताउनुहुन्छ ।

अन्तिम अपडेट: बैशाख २, २०८१

श्यामशितल परियार

श्यामशितल परियार उज्यालोकाे लमजुङ र मनाङ जिल्ला सम्वाददाता हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया