विश्वकप क्रिकेट : घरेलु मैदानमा ब‌ंगलादेशलाई हराएर पुनरागमन गर्ने दाउमा इंग्ल्याण्ड

 जेठ २५, २०७६ शनिबार ९:३३:११ | उज्यालो सहकर्मी
unn.prixa.net

आफ्नो पछिल्लो खेलमा पाकिस्तानविरुद्धको अप्रत्याशित हारपछि पुनरागमनको योजनामा रहेको आयोजक देश इंग्ल्याण्डले आईसीसी विश्वकपको आफ्नो तेस्रो खेलमा बंगलादेशी टिमसामु बलिङमा सुधार गर्नुपर्नेछ ।

यो खेल कार्डिफ वेल्स रंगशालामा शनिबार दिउँसो नेपाली समयअनुसार सवा ३ बजेदेखि सुरु हुनेछ ।

प्रतियोगिताको उपाधि दाबेदार घरेलु टोलीलाई पुनरागमन अत्यावश्यक छ । किनभने उनीहरुले ट्रेन्ट ब्रिजमा पाकिस्तानसँग १४ रनको पराजय व्यहोरेका थिए ।

यसअघिका दुवै खेलमा ३ सय भन्दा बढी रन प्रहार गरेको इंग्लिस ब्याटिङ पंक्तिमा टिप्पणी गर्ने ठाउँ छैन । तर, तीनपल्टको फाइनलिष्ट टोलीका लागि बलिङमा सुधार गर्नुपर्ने यसअघिका दुई खेलले देखाइसकेको छ ।

बंगलादेशविरुद्ध ओयन मोर्गानको टोलीलाई कुनै पनि गल्ती गर्ने छुट छैन । किनभने इंग्लिस समर्थकले चार वर्षअघि बंगलादेशसँग पराजित हुँदै विश्वकपबाट बाहिरिएको भुलेका छैनन् ।

बंगलादेशले दक्षिण अफ्रिकाविरुद्ध ओभलमा सानदार बलिङ प्रदर्शन गरेको थियो । २१ रनको जितका क्रममा उनीहरुले दक्षिण अफ्रिकी ब्याट्सम्यानलाई पूरा नियन्त्रणमा राखेका थिए । तर, न्यूजिल्याण्डविरुद्ध इनिङको सुरुवातमा बलिङ प्रभावकारी बन्न सकेन ।

ब्याट्सम्यानले पनि सुरुवातदेखि नै उल्लेख्य साझेदारी गर्न सकेनन् । कप्तान मसरफे मुर्तजाले आफ्ना ओपनिङ र मध्य क्रमका ब्याट्सम्यानसँग प्रदर्शनको अपेक्षा राखेका छन् । विशेष गरी शकिब अल हसनसँग बंगलादेशी टोली धेरै हदसम्म उनको प्रदर्शनमा निर्भर छ ।

कार्डिफको विकेट नयाँ बलमा खेल्न निकै कठिन हुन्छ । त्यसैले दुवै टोलीका ओपनरहरुका लागि यो खेल मुश्किल हुन सक्छ । इंग्ल्याण्डको पछिल्लो लय र घरेलु मैदानको परिचितताका कारण शनिबार बंगलादेशभन्दा इंग्ल्याण्ड हावी हुन सक्छ ।

अन्तिम अपडेट: चैत १२, २०८०

तपाईको प्रतिक्रिया