घर-आँगनमै पानी आएपछि मण्डनदेउपुर‍वासीमा हर्षाेल्लास

 जेठ २५, २०७६ शनिबार १६:६:३० | भाेजेन्द्र बस्नेत
unn.prixa.net

काभ्रेको मण्डनदेउपुर–९, जितपोखरीकी सावित्रा रम्तेलको आँगनमा चिटिक्क परेको धारो छ । 

धारो खोल्दै सावित्राले भन्नुभयो, ‘यो पानीले त भन्नै नसक्ने खुशी दिएको छ, चार ठाउँ बिसाएर खोलाबाट पानी ल्याउँदा कम्मर कटक्क दुख्थ्यो, तर अहिले शान्ति मिलेको छ ।’

गाउँमा भएको एउटै मात्र मुहान २०७२ सालको भूकम्पले सुकेपछि पानी लिन एक घण्टा हिँडेर इन्द्रावती झर्नुपर्थ्याे । 

‘दिनभर अरुको मेलापात गर्यो, साँझ परेपछि पानी लिन तलतिर । पानी लिएर आउँदा रात छिप्पिसक्थ्यो’, सावित्राले पीडा पोख्नुभयाे, ‘पानी लिएर घरमा आइपुग्दा छोराछोरी भोकै निदाइसक्थे ।’ 

सावित्रा बोल्दै गर्दा कालिका रम्तेलले बीचमै कुरा काट्दै भन्नुभयो, ‘धारा बनेपछि त हाम्रो दुःख सकिएको छ । पानी खान दिन नसकेर गाई पालिएको थिएन, दुध खान त के देख्न पनि पाइँदैनथ्यो, तर अहिले त गाई पालेकोले घरमा कुँडेभरी दुध हुन्छ ।’

उहाँले घर छेवैमा बाँधेको खसी देखाउँदै थप्नुभयो, ‘उ त्यो दशैंलाई, अर्को चाहिँ बेचेर खर्च गर्ने’, उन्मुक्त हाँसोले अनुहारमा खुशीको भाव प्रश्ट देखिन्थ्यो । 

मण्डनदेउपुर ९ को ५५ घरधुरीका लागि लिफ्ट प्रणाली मार्फत पानी वितरण गरिएको छ । विश्व बैंकसँगको सहकार्यमा ग्रामीण खानेपानी तथा सरसफाइ कोष विकास समिति (फन्डबोर्ड) ले त्यहाँ खानेपानी योजना सञ्चालन गरेको हो । अहिले प्रतिघर महिनाको २५० रुपैयाँ संकलन गरेर उपभोक्ताहरुले नै आयोजनाको मर्मत–सम्भार गरिरहेका छन् । 

यहाँको ५५ घरधुरी दलित समुदाय हिजोआज दङ्ग छ । सानीनानी रम्तेलले खुशी हुँदै भन्नुभयो, ‘साँझ बिहान पानी नहुँदा तल्लो बस्तिमा रहेको उपल्लो जातिकोमा पानी माग्न जानुपर्थ्याे, ट्याङकीमा पानी छुन नहुने, उनीहरुले भरिदिएको पानी लिँदा अपमानित महसुस हुन्थ्यो’, उहाँले थप्नुभयो, ‘बिहानै जाँदा उनीहरुको पूजा चल्दै हुन्थ्यो अलग्गै बस्नुपर्ने, अहिले त हाम्रो घरमा धारो छ, त्यसैले आफूहरुलाई समान्नित भएको महसुस हुन्छ ।’ 

पहिले पानी नहुँदा यहाँका बासिन्दाले चर्पीको प्रयोग गर्न सक्दैनथे, चर्पीमै गए पनि पानी नहाल्दा दुर्गन्धित हुन्थ्यो, तर आजभोलि चर्पी सफा छ । 

कालिका रम्तेलले धारासँगै जोडिएको करेसाबारी देखाउँदै भन्नुभयो, ‘आजभोलि त तरकारी पनि आफै फलाउँछौँ, पहिले तरकारी किनेर खानुपथ्र्यो अहिले आफुलाई खान मजाले पुग्छ, तरकारी किन्ने पैसा छोराछोरीलाई पढाउन काम लाग्छ ।’

पहिलाे परिवारको एक सदस्यको दैनिकी पानी ओसार्नमै बित्ने गरेको भन्दै सुशीला रम्तेलले भन्नुभयो, ‘एक महिना अघि बस्ती तल रहेको ठूलो खोलाबाट पानी लिफ्ट गरी ल्याएपछि अहिले निकै सुविधा भएको छ, त्यसरी पानी ल्याउनुअघि घर बनाउन वा अन्य आवश्यक कामका लागि लिटरको १ रुपैयाँ तिरेर गाडीबाट ओसार्नुपथ्र्याे ।’

दलित बस्तिका प्राय मजदुरी गर्छन् । अरुको खेतबारी तथा निर्माण लगायतको क्षेत्रमा काम गर्ने उनीहरु त्यसैबाट गुजारा गरिरहेका छन् । आफ्नै खेतबारी नभएका उनीहरु घर÷घरमा धारा बनेपछि ठूलो समस्याबाट पार पाएको बताउँछन् ।

दातृ निकाय अनुगमनमा जाँदा उनीहरुले स्वागत गर्दै भने, ‘पुज्ने भगवान त कसले देखेको छ र, हामीलाई जसले पानी ल्याईदियो, उनीहरु नै हुन् हाम्रा भगवान ।’ 
अनुगमनका लागि आएको टोली गाउँमा पुग्नसाथ ताली बजाएर स्वागत गरेका उनीहरुको ताली पानीले घुमाउने मेसिनले भन्दा पनि जोडले बजिरहेको थियो । लाग्थ्यो पानीकै थोपाको शक्तिले उनीहरुको हात थपडी बजाउन चलिरहेका छन् । 

ठूलो खोला लिफ्ट खानेपानी उपभोक्ता समितिका अध्यक्ष कान्छा सार्की यसअघि खानेपानी नभएकै कारण समस्या भोगेको भन्दै अहिलेको खुसी बयान गरीसाध्य नभएको बताउँदै भन्नुहुन्छ, ‘खानेपानीका लागि यहाँका रातोमाटोमा लड्दै पानी ओसार्नुपर्थ्याे, त्यस्तो गर्दा कहिले लडेर गाग्री नै कुच्चिने र कहिले मान्छे नै घाइते हुने अवस्था हुन्थ्यो, अब त्यो अवस्था रहेन, खानेपानी पाएकामा साह्रै खुसी छौँ ।’

ग्रामीण खानेपानी तथा सरसफाइ कोष विकास समिति (फन्ड बोर्ड) को आर्थिक सहयोगमा शान्ति जनआर्दश सेवा केन्द्रको समन्वयमा ५५ घरमा खानेपानीको धारा निर्माण गरिएको हो । ५५ घरका २ सय ३८ जनाले अहिले खानेपानी प्रयोग गरिरहेका छन् ।
 
बस्तीभन्दा तलबाट लिफ्ट प्रणाली मार्फत पानी तानेर ट्याङकीमा जम्मा गरी उपभोक्ताहरुलाई निस्चित समय पानी वितरण गरिन्छ । पानी वितरण तथा अन्य व्यवस्थापनको लागि स्थानीय बासिन्दाले संकलन गर्ने मासिक २५० रुपैयाँबाट खर्च गर्ने गरी एक जनालाई रोजगारी दिइएको छ । 

खर्च भएर बाँकी रहेको रकम उनीहरुले मर्मत–सम्भार कोषमा बचत गर्ने गरेका छन् । कोषमा अहिलेसम्म झण्डै डेढलाख रुपैयाँ जम्मा भइसकेको भन्दै उपभोक्ता समितिका अध्यक्ष कान्छा सार्की भन्नुहुन्छ, ‘हामी धेरै पीडा भोगिरहेको बेला आएको योजना हो, यसलाई बिग्रन नदिई सँधैभरी पानी ल्याउन हामी सबै एकजुट छौं ।’ 
 

अन्तिम अपडेट: जेठ ३१, २०७६

भाेजेन्द्र बस्नेत

भाेजेन्द्र बस्नेत उज्यालाेमा कार्यरत हुनुहुन्छ।  

तपाईको प्रतिक्रिया