लमजुङको ग्रामिण सडक : वर्षामा हिलो हिउँदमा धुलो (फोटो फिचर)

 असार २१, २०७५ बिहिबार ८:०:१७ | श्यामशितल परियार
unn.prixa.net

लमजुङ – साँघुरा । कच्ची । खाल्डाखुल्डी । घाम लागे धुलो उड्छ । पानी परे हिलो हुन्छ । लमजुङका अधिकांश ग्रामिण क्षेत्रका सडकको अवस्था हो यो ।     

वर्षाको समयमा लमजुङका ग्रामिण क्षेत्रमा रहेका सडकहरु हिलाम्य हुन्छन् । सडक हिलाम्य हुँदा सवारी आवागमनका साथै स्थानीयलाई हिँड्डुल गर्न पनि समस्या हुन्छ ।

हिलाम्य सडकमा पनि जोखिम मोल्दै सवारी हाँक्छन्, चालकहरु । जोखिम मोलेरै यात्रा गर्छन्, यात्रुहरु ।

डराएर  यात्रा

राईनास नगरपालिका – ८, हर्राबोटकी विष्णुमाया धिताललाई तीनपिप्लेमा रहेको राईनास नगरपालिकाको कार्यालय पुग्न झण्डै डेढ घण्टा लाग्यो । अरुबेला उहाँ आधा घण्टामै नगरपालिका कार्यालय पुग्नुहुन्थ्यो । बर्खा लागेसँगै परेको पानीका कारण सडक हिलाम्य भएपछि उहाँलाई हर्राबोटबाट राईनास(५, तीनपिप्लेमा रहेको नगरपालिका कार्यालय पुग्न १ घण्टा बढि समय लाग्यो ।

‘अरुबेला आधा घण्टामै आइपुगिन्थ्यो । सडक हिलाम्य छ । खाल्डाखुल्डी छ । गाडीमै आउँदा नि डेढ घण्टा समय लाग्यो,’ राईनास नगरपालिका कार्यालयमा भेटिनुभएकी धितालले गुनासो गर्नुभयो, ‘हिँडेर आउन सक्ने अवस्था नै छैन । चिप्लिएर लडिन्छ ।’

चालकहरुले पनि जोखिम मोलेरै सवारी हाँकेको छन् । यात्रुहरु जोखिम मोलेरै यात्रा गरेका छन् ।

धान रोप्न तयार पारकोे खेत जस्तो सडक

सडकमा नाला छैन । कहिँकहिँ त धान रोप्न तयार पारेको जस्तो छ सडक । सडकमा नयाँ माटो हालिएको छ । माटो पानीले बगाएको छ । जसका कारण झनै सडक हिलाम्य भएको छ ।

शिक्षक, विद्यार्थीहरुलाई विद्यालय आउन जान पनि समस्या छ । बाटो हिलो भएपछि बालबालिका पनि चिप्लेर लड्ने गरेका छन् ।

राईनासको मात्रै होईन चार गाउँपालिका र चारै नगरपालिका गरी ८ स्थानीय तह रहेको लमजुङका अधिकांश ग्रामिण सडकको अवस्था सबैतिर मिल्दोजुल्दो छ ।

राईनास नगरपालिकाको सडकमा दिनहुँ झण्डै ५० बढी गाडी गुड्छन् । स्थानीय गोविन्दराज न्यौपानेको अनुसार दिनहुँ बोराङखोलाबाट काठमाडौँका लागि १, काठमाडौँबाट बोराङखोलाका लागि १, डुम्रेबाट बोराङखोलाका ४,  बोराङखोलाबाट डुम्रेका लागि ४, बेसीशहरबाट बोराङखोलाका लागि २, बोराङखोलाबाट बेसीशहरका लागि २ वटा यात्रुबहाक बस आवतजावत गर्छन् ।

यस सडकमा दिनहुँ नगर बसको साथमा साना सवारी साधन मोटरसाईकल, जीप, ट्याक्टर पनि उत्तिक्कै गुड्छन् ।

सडक अबरुद्ध हुँदैन

पानी पर्दा खहरे खोला उर्लिदा सडक सञ्चालनमा केही समस्या हुने गरेको स्थानीय न्यौपानेले जानकारी गराउनुभयो ।

उहाँका अनुसार बर्खाको समयमा राईनासमा रहेको सिम्लेखोला, रेग्मीखोला, खहरेखोला, लुपुखोला उर्लिदा सवारी सञ्चालनमा केही समस्या हुन्छ । तर पूर्ण रुपमा सडक अवरुद्ध भने हुँदैन ।

हिउँद बर्खा नै यस सडकमा बिना अवरोध सवारी सञ्चाल गर्न आफूहरु प्रतिबद्ध रहेको बताउँदै राईनास नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत देवबहादुर अधिकारीले यहाँको सडकको स्तरोन्नतीको क्षेत्रमा काम गर्दै आएको जानकारी गराउनुभयो ।

उहाँका अनुसार चालु आर्थिक वर्षमै नगरपालिकाले ५० लाख रुपैयाँ खर्चेर धमिलिकुवादेखी टिमुरेसम्मको ३ मिटर बाटोलाई १० मिटर चौडा गरिएको छ । ठाउँठाउँमा ग्राभेल गरिएको छ ।

‘बर्खाको समयमा खहरे खोला उर्लिदा सवारी सञ्चालनमा केही समस्या भएको छ, बर्खामा पनि पूर्ण रुपमा सवारी सञ्चालन ठप्प भएको अवस्था छैन,’ उहाँले भन्नुभयो ।

उहाँका अनुसार बर्खामा पनि निरन्तर सडक सञ्चालनका लागि सडकमा ग्राभेल गरिएको छ ।

‘बर्खामा पनि गाडीहरु चलोस् भनेर क्षमताले भ्याएसम्म सडक ग्राभेल गरेका छौँ । मर्मत सम्भार कोष पनि निर्माण गरेका छौँ । सडक अबरुद्ध हुने स्थिति आएमा कोषमा भएको रकम खर्चेर तत्काल सडक मर्मत गरी सडक सञ्चालन गर्नेछौँ,’ प्रमुख प्रशासकीय अधिकृत अधिकारीले भन्नुभयो ।


  
उहाँका अनुसार राईनास नगरपालिकाको हर्राबोटबाट धमिलिकुवासम्म मध्यपहाडी लोकमार्गको काम भैरहेको छ । अहिले धेरै यसै सडकबाट आवतजावत गर्ने गरेका छन् । 

अन्तिम अपडेट: चैत २७, २०८०

श्यामशितल परियार

श्यामशितल परियार उज्यालोकाे लमजुङ र मनाङ जिल्ला सम्वाददाता हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया