प्रधानमन्त्री ओलीको युरोप भ्रमण: आधा घन्टा अरु जहाज उड्न नपाउने, दर्जनौँ उडान प्रभावित हुने

 जेठ २५, २०७६ शनिबार १८:३६:३१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - प्रधानमन्त्री केपी शर्मा ओलीको युरोप भ्रमणका कारण शनिबार पनि आकास आधा घन्टा बन्द हुने भएको छ ।

८ दिने युरोप भ्रमणका लागि शनिबार साँझ सवा ७ बजे युराेप प्रस्थान गर्न लाग्नुभएका प्रधानमन्त्रीको सुरक्षाको लागि भन्दै त्रिभुवन विमानस्थलले नो टाम जारी गरेर आधा घण्टा विमानस्थलमा अरु उडान र अवतरण नगर्ने जनाएको छ ।

‘प्रधानमन्त्रीको उडान सवा सात बजे हो, १५ मिनेट अघि र १५ मिनेट पछि कुनैपनि उडान र अवतरण नगर्नु भन्ने माथिको आदेश भएकाले आधा घण्टा अरु उडान र अवतरण बन्द हुन्छन्’, विमानस्थलका एक अधिकारीले उज्यालो अनलाइनलाई बताए । 

बेलुका सात बजेदेखि आठ बजेसम्म त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विमानको अध्यधिक चाप हुने भएकाले यो समयलाई पिक आवर भनिन्छ । त्यसमाथि प्रधानमन्त्रीको सुरक्षाको कारण देखाएर आधा घण्टा विमानस्थल बन्द गर्दा दर्जनौँ उडान र अवतरण प्रभावित हुने विमानस्थल कार्यालयले जनाएको छ । 

‘रन वे मर्मतको लागि राति १० बजेदेखि विमानस्थल बन्द गर्नुपर्छ, त्यसैले हामीलाई यसै पनि चाप छ, त्यसमाथि प्रधानमन्त्रीको फ्लाइटको कारण पिक आवरमा आधा घण्टा अरु उडान नहुँदा चाप झनै बढ्छ, व्यवस्थापन गर्ने समस्या छ’,  कर्मचारीकाे भनाइ थियाे । 

प्रधानमन्त्रीको भ्रमणका लागि बालुवाटारबाट त्रिभुवन विमास्थलसम्मको सडकमा गाडी  र मोटरसाइकल चलाउन पनि केहीबेरका लागि रोक लगाइएको छ । राष्ट्रपति र प्रधानमन्त्रीको विदेश भ्रमणका बेला सडक र हवाइमार्ग समेत बन्द गरेर सर्वसाधारणलाई दुख दिएको भन्दै आलोचना भैरहे पनि भीआईपी सवारीको नाममा नागरिकले दुख पाउन छाडेका छैनन् । 

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया