ठूला सभाहल नहुँदा नेपालको बेइज्जतः अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र बनाउन दुई प्रस्ताव

 जेठ २६, २०७६ आइतबार १४:४२:२२ | अर्जुन पोख्रेल
unn.prixa.net

–२०७५ सालको साउनमा नेपालले एसिया प्रशान्त क्षेत्रीय सम्पति शुद्धीकरण सम्मेलनको आयोजना ग¥यो । सम्मेलनमा एसिया प्रशान्त क्षेत्रका ५० देशका ५ सयभन्दा धेरै पाहुना बोलाइएको थियो । काठमाण्डौको सोल्टी होटलमा भएको सम्मेलनमा अति कडा सुरक्षा व्यवस्थाले नेपालले पनि ठूल्ठूला अन्तर्राष्ट्रिय सम्मेलन गर्न सक्छ भन्ने गतिलो सन्देश दिएको थियो । 

तर योसँगै नेपालमा ठूला अन्तर्राष्ट्रिय सम्मेलन गर्ने सभाहल नै छैन भन्ने नकारात्मक सन्देश पनि बाहिर गयो ।  

अर्थमन्त्री डा. युवराज खतिवडाले उद्घाटन गरेको सम्मेलन स्थल भद्रगोल थियो । सम्मेलनमा भाग लिन आएका विदेशी पाहुना सिट नपाएर यताउता भौंतारिरहेका देखिन्थे । विदेशी पाहुनाको बिजोग अवस्था देखेर पत्रकारले नै उनीहरुलाई आफ्नो सिट उपलब्ध गराएका थिए ।  

–२०७५ सालको चैत १५ र १६ गते काठमाण्डौमा नेपाल लगानी सम्मेलन भयो । सम्मेलनमा ८ सय विदेशी लगानीकर्ता र ७ सय स्वदेशी उद्योगी–व्यवसायी सहभागी थिए । समृद्ध नेपाल निर्माणको लागि विदेशी लगानी नभइ नहुने भन्दै सरकारले ठूलो महत्वकांक्षाका साथ सम्मेलन गरेको थियो । 

सम्मेलनमा अरु त ठिकै थियो, तर अभाव भयो हलको । सम्मेलनमा सोल्टी होटलको मुख्य मेघा हलको बाहिर पश्चिमतर्फको चौरमा पनि दुईवटा ठूला टेन्ट लगाएर स्क्रीन राखिएको थियो । तर पनि मान्छे अटेका थिएनन् । केही विदेशी पाहुनाले उभिएरै हेरिरहेका थिए ।

विदेशी पाहुनाले बस्न पनि नपाएको कुरा लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीलाई सुनाउँदा उहाँले भन्नुभएको थियो, ‘हामीसँग एउटा पनि ठूलो हल छैन, लाजमर्दो नै भएको छ, त्यसैले हामीले लगानी सम्मेलनमा विदेशी लगानीकर्तालाई आह्वान गर्न बहुउपयोगी सभाहल बनाउने परियोजना पनि समावेश गरेका छौँ, हेरौं लगानी आउला कि ।’ 

–२०७५ सालको साउनमा सरकारले बडो उत्साहका साथ भारतीय चर्चित जी सिनेमा अवार्ड नेपालमा गर्ने घोषणा ग¥यो । विश्वभरका चलचित्रकर्मी र कलाकार नेपाल आउने अनुमान गरियो । मंसिरमा अवार्ड आयोजना गर्ने भनेर साउनमा खुब प्रचारप्रसार भयो । 

तर अवार्ड नेपालमा हुन सकेन । कारण थियो हलको अभाव । नेपाल ट्रष्टको जग्गा भक्तपुर र ललितपुरको भैंसेपाटी आवास क्षेत्रको जग्गा अनि रेडियो नेपालको जग्गामा अस्थायी हल बनाएर जी सिनेमा अवार्ड नेपालमै गर्ने योजना भए पनि सरकारले त्यो गर्न सकेन ।

–काठमाण्डौमा भर्खरै हिमालयन ट्राभल मार्ट सकिएको छ । नेपाल भ्रमण वर्ष २०२० मा २० लाख पर्यटक नेपाल भित्र्याउने योजनालाई सफल पार्न प्यासिफिक एसिया ट्राभल्स नेपाल च्याप्टर अर्थात पाटा नेपालले हिमालयन ट्राभल मार्ट ग¥यो । सोल्टी होटलमा भएको यो सम्मेलनमा नेपालसहित ४१ देशका ७ सय जना उपस्थित थिए  ।  

नेपाल पर्यटन बोर्ड र पाटा नेपाल च्याप्टरले धेरै पाहुना बोलाउने र कार्यक्रमलाई थप भव्य बनाउने योजना बनाएका थिए । तर हल नहुँदा त्यो सम्भव भएन । 
‘हामीले कार्यक्रमलाई अझै भव्य बनाउन सक्थ्यौँ, तर हलको कारण त्यो सम्भव भएन’ नेपाल पर्यटन बोर्डका सीईओ दीपकराज जोशीले भन्नुभयो, ‘हामीलाई एउटा राम्रो हलको खाँचो छ ।’

माथिका ४ यी घटना प्रतिनिधि मात्र हुन् । चाहे सरकार होस् या निजी क्षेत्र, नेपालमा ठूला अन्तर्राष्ट्रिय सभा सम्मेलन गर्नुप¥यो भने हलकै चिन्तामा हुन्छन् । 
प्रधानमन्त्री र मन्त्रीहरु नेपाललाई पनि विकसित देशहरुले गन्न थालेको र अन्तर्राष्ट्रिय फोरमहरुमा नेपाललाई पनि सहभागी गराएको भन्दै छाती फुलाएर भन्छन् । 

तर नेपालले पनि अन्तर्राष्ट्रिय सभा सम्मेलन गर्नुपर्ला भनेर आजसम्म एउटा ठूला हल भने बनाउन सकेका छैनन् । योजना बनाएर नाक त ठूलो बनाए, तर  हल बनाउन भने सकेनन् । 

नेपालमा हुने ठूला अन्तर्राष्ट्रिय सम्मेलन र राष्ट्रिय सम्मेलन धेरैजसो हायात रिजेन्सी बौद्ध, होटल याक एन्ड यती दरबारमार्ग र सोल्टी क्राउन प्लाजा कालिमाटीमा हुन्छन् । यी होटलको क्षमताले नभ्याउने सभा सम्मेलन हुने भए भने कि त पाहुनाको संख्या नै कटौती गर्नुपर्छ, कि कार्यक्रम नै स्थगित गर्नुपर्छ ।
यी हरेक होटलले आफ्नो परिसरमा टेन्ट हालेर कार्यक्रम गरेमा बढीमा १ हजार जनासम्म धान्न सक्छन् ।

योजना कैयौं, हल शून्य

सरकारले ५ हजार मान्छे अट्ने गतिलो सभाहल काठमाण्डौमा बनाउने योजना बनाएको थुप्रै वर्ष भैसक्यो । पछिल्ला केही वर्षका बजेट वक्तव्यमा पनि यो कुरा अर्थमन्त्रीले भन्दै आएका छन् । 

आर्थिक वर्ष २०७६÷०७७ को बजेटमा पनि सरकारले यो कुरा राख्न भुलेको छैन । बजेटमा भनिएको छ, ‘काठमाण्डौ उपत्यकाभित्र संघीय संसद, राजकीय अतिथि गृह, मन्त्री निवास, प्रदेश प्रमुख र मुख्य मन्त्रीको सम्पर्क कार्यालय एवम निवास निर्माण गरिनेछ ।’ 

काठमाण्डौ उपत्यकामा यसै वर्ष ३ हजार व्यक्ति क्षमताको सम्मेलन केन्द्र निर्माण गरिनेछ । आगामी तीन वर्षभित्र सार्वजनिक निजी साझेदारीमा ५ हजार व्यक्ति क्षमताको बहुउद्देश्यीय सम्मेलन केन्द्र निर्माण गरिनेछ । सबै प्रदेशमा २ हजार व्यक्ति क्षमताका सम्मेलन केन्द्र निर्माण गर्ने क्रममा धनगढी, सुर्खेत र विराटनगरमा निर्माणाधीन सभाहलको लागि बजेट व्यवस्था गरिएको छ ।

जनकपुर, हेटौंडा र पोखरामा सभाहल निर्माणको लागि विस्तृत सम्भाव्यता अध्ययन गर्न र बुटवलमा निर्माणाधीन अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र र अन्तर्राष्ट्रिय प्रदर्शनी केन्द्रको निर्माणका लागि बजेटको व्यवस्था छ ।

तर आउँदो बजेटमा भएको यो वाचा पूरा हुने हो होइन भन्न सकिन्न । किनकि विगतका बजेट र सरकारका घोषणा सम्झने हो भने हामीले आशाभन्दा पनि निराश हुने उदाहरण धेरै छन् । 

वीरेन्द्र अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र संसद भवन भएपछि ठूला हलको अभाव

काठमाण्डौमा अन्तर्राष्ट्रिय सम्मेलनहरु नयाँ बानेश्वरमा रहेको वीरेन्द्र अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा हुन्थे । तर संविधानसभाको चुनावपछि बानेश्वरको वीरेन्द्र अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र संविधानसभा भवनमा परिणत भयो । पछि संसदीय चुनाव भयो, त्यसपछि पनि सम्मेलन केन्द्र संघीय संसद भवनमा रुपान्तरण भएको छ । सरकारले वीरेन्द्र अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रलाई वार्षिक ११ करोड रुपैयाँ भाडा तिरेर संघीय संसद भवनको रुपमा उपयोग गरिरहेको छ । 

सम्मेलन केन्द्रमा २ हजार जना अट्ने सिट तथा ४ सय वटा गाडी पार्किङ, सुरक्षाका उपकरण, पानीका फोहरा, बगैँचासहित सबै सुविधा छन् । संविधान सभाको चुनावअघि नेपालमा हुने ठूला अन्तर्राष्ट्रिय सभा, सम्मेलन बानेश्वरको सम्मेलन केन्द्रमै हुन्थे । अहिले २ हजार मान्छे अटाउने कुनै सभा सम्मेलन गर्नुपर्यो भने हलको अभाव हुने गरेको छ ।

सरकारले सिंहदरबारमा रहेको तत्कालीन संसद भवनको मर्मत गरेर त्यसमै संसद बैठक राख्ने र बानेश्वरको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र छाड्ने योजना बनाए पनि भूकम्पले भत्काएर जीर्ण बनेको संसद भवन पुनर्निर्माण भएको छैन ।

अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र बनाउन २ वटा प्रस्ताव

नेपालमा अन्तर्राष्ट्रिय लगानी सम्मेलनमा पाहुना बस्ने ठाउँ पनि नभएको देखेका विदेशीले अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र बनाउन प्रतिबद्धता पेश गरेका छन । लगानी बोर्डले राखेका ७५ वटा परियोजनामध्ये भक्तपुरमा बन्ने भनिएको नेपाल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र तथा प्रदर्शनीस्थल बनाउनको लागि २ वटा विदेशी प्रस्ताव आएका छन । 

‘प्रतिस्पर्धा र अरु कुराको ख्याल गरेर अहिले हामीले कसले आवेदन दियो भन्ने खुलाउन मिल्दैन, तर सम्मेलन केन्द्रको लागि पनि २ वटा विदेशी कम्पनीले आवेदन दिएका छन्’,  लगानी बोर्डका सीईओ महाप्रसाद अधिकारीले  भन्नुभयो । 

भक्तपुरको मध्यपुर ठिमीमा २४ एकड अर्थात ९ दशमलव ७१ हेक्टर क्षेत्रफलमा बहुउद्देश्यीय हल बनाउन सरकारले अन्तर्राष्ट्रिय लगानीकर्तालाई आह्वान गरेको थियो ।

लगानी बोर्डले विदेशी लगानीकर्तालाई लक्षित गरेर वेबसाइटमा राखेको जानकारीमा बहुउद्देश्यीय सम्मेलन केन्द्र बनाउन १६ मिलियन डलर अर्थात १ अर्ब २७ करोड रुपैयाँ लाग्ने अनुमान गरिएको छ । 

सम्मेलन केन्द्र ५ हजार सिट क्षमताको हुनेछ । जहाँ सभा, सम्मेलन, कन्सर्ट, कुनै वस्तुको प्रदर्शनी र व्यापारिक कार्यक्रम हुने उल्लेख छ । 
यस्तै सम्मेलन केन्द्रमै अन्तर्राष्ट्रिय स्तरको होटल पनि बन्नेछ, जहाँ एक सय सुविधासम्पन्न कोठा हुनेछन् । होटलमा अपार्टमेन्ट सुविधा पनि हुनेछ, जहाँ विदेशी पाहुनाहरु लामो समयसम्म पनि बस्न सक्नेछन ।

हेलिप्याडसमेत भएको सम्मेलन केन्द्रमा भीआईपी कक्षहरु पनि हुने लगानी बोर्डले राखेको जानकारीमा उल्लेख छ । सम्मेलन केन्द्र सार्वजनिक निजी साझेदारीमा बन्नेछ,  कानुनी स्वीकृति, जग्गा अधिग्रहण, आयोजनास्थलको सुरक्षालगायतका जिम्मा सरकारले लिने लगानी बोर्डको वेबसाइटमा उल्लेख छ । ३० वर्षको आयु रहने सम्मेलन केन्द्र ३ वर्षमा बनाउन सकिने पनि बोर्डको दावी छ ।

अन्तिम अपडेट: भदौ ४, २०७६

अर्जुन पोख्रेल

उज्यालोमा कार्यरत अर्जुन पोख्रेल आर्थिक विषयमा कलम चलाउनु हुन्छ।  

तपाईको प्रतिक्रिया