भ्रष्टाचार गरेका पदाधिकारीलाई कारबाही गर्नसक्ने कानुनी व्यवस्था आवश्यक छ: मन्त्री विश्वकर्मा

 जेठ २६, २०७६ आइतबार १५:३०:३६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - युवा तथा खेलकुदमन्त्री जगत विश्वकर्माले अदालतले भ्रष्टाचार गरेकाहरुलाई पनि राष्ट्रिय खेलकुद परिषदमा पुनर्बहाली गर्ने गरेकोमा असन्तुष्टि व्यक्त गर्नुभएको छ । 

मन्त्री विश्वकर्माले गम्भीर गल्ती गरेकाहरुलाई परिषदबाट हटाए पनि अदालतको आदेशबाट पुनर्बहाली हुने गरेको भन्दै असन्तुष्टि व्यक्त गर्नु भएको हो । आइतबार संघीय संसदको विधायन व्यवस्थापन समितिको बैठकमा ‘राष्ट्रिय खेलकुद विकास विधेयक, २०७५’ माथिको दफावार छलफलमा भाग लिँदै उहाँले अदालतले पुनर्बहाली गर्न नसक्ने गरी भ्रष्टाचारलगायतका गलत काम गर्ने परिषदका पदाधिकारीलाई कारबाही गर्न सक्नेगरी कानुनी व्यवस्था गर्न आवश्यक सुझाव दिन पनि राष्ट्रिय सभाका सांसदहरुलाई आग्रह गर्नुभयो ।

बैठकमा समितिका सदस्य ठगेन्द्रप्रकाश पुरीले राष्ट्रिय खेलकुद परिषदमाथि नियन्त्रण गर्ने प्रयास नगर्न सरकारलाई सचेत गराउनु भएको थियो । उहाँले अधिनायकवादको आरोप लागेको सरकारले राष्ट्रिय खेलकुद परिषदलाई पनि नियन्त्रण गर्नेगरी विधेयक ल्याएको आरोप लगाउनु भयो ।

समितिका अर्का सदस्य राधेश्याम अधिकारीले खेलकुद क्षेत्रमा काम गर्न सक्नेहरुलाई मात्रै राष्ट्रिय खेलकुद परिषदमा नियुक्ति गर्न सरकारको गम्भीर ध्यानाकर्षण गराउनु भयो । उहाँले खेलकुदसँग सम्बन्धित सरकारी निकायका पदाधिकारी नियुक्ति गर्दा उमेर हद नराख्न पनि सरकारलाई सुझाव दिनुभयो ।

समितिका सदस्यहरुले ऐन, कानुनद्धारा निर्देशित हुने सरकारी निकायलाई मन्त्रीहरुले ठाडो निर्देशन गर्न नमिल्ने दावी पनि गरेका थिए ।

 

अन्तिम अपडेट: चैत ६, २०८०

तपाईको प्रतिक्रिया