संसदमा जबर्जस्ती गरे सरकारविरुद्ध सडक आन्दोलन गर्छौंः कांग्रेस सभापति देउवा

 जेठ २६, २०७६ आइतबार १७:३९:५४ | किरण लोहनी
unn.prixa.net

गोरखा - नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारविरुद्ध सडक संघर्ष गर्ने चेतावनी दिनुभएको छ ।

सरकारलाई मिडिया काउन्सिललगायतका विधेयक पास गर्न नदिन सदन अवरुद्ध गर्ने चेतावनी दिँदै आउनुभएका देउवाले संसदमा जबर्जस्ती गरे सडकमा आन्दोलन गर्ने चेतावनी दिनुभएको हो । उहाँले संसदबाट मिडिया काउन्सिल विधेयक कुनै हालतमा पास हुन नदिने बताउनुभयो ।

यस्तै मानव अधिकार ऐन संशोधन गर्न बनेको विधेयक र गुठीको जग्गा व्यवस्थापन सम्बन्धी विधेयक पनि पास हुन नदिने उहाँले दोहोर्‍याउनुभयो । गोरखा सदरमुकाममा भएको नेपाली कांग्रेसको दोस्रो नगर सम्मेलन उद्घाटन कार्यक्रममा बोल्दै देउवाले वर्तमान सरकारले सारा कुरा बर्बाद गरेको बताउनुभयो ।

‘ओलीको सरकार आएपछि सारा कुरा बर्बाद भएको छ’, सभापति देउवाले भन्नुभयो, ‘हुँदा हुँदा सेना पनि आफ्नो मातहत राख्न खोजिएको छ ।’ 
नेपाली सेनालाई प्रधानमन्त्री मातहत नभै राष्ट्रिय सुरक्षा परिषद् अन्तर्गत राखिनुपर्ने उहाँको भनाइ छ । देउवाले गोरखा दरवारको पुननिर्माणमा भैरहेको ढिलाइप्रति पनि असन्तुष्टि जनाउनुभयो । 

कार्यक्रममा कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले पनि बूढीगण्डकी आयोजना नेपाली लगानीमै बनाउनुपर्नेमा जोड दिनुभयो । सम्बोधनको अधिकांश समय सरकारको आलोचनामा खर्चनुभएका शर्माले सरकारको क्रियाकलाप हेर्दा अधिनायकवादतर्फ उन्मुख भएको प्रष्ट हुने बताउनुभयो ।

‘हामीले कालो पञ्चायतलाई त सहेनौं, अब रातो अधिनायकवाद ल्याउने दुस्साहस नगर्नुहोला’, शर्माले प्रश्न गर्नुभयो, ‘देशमा निर्वाचन नगराई सत्ता कब्जा गर्ने हिम्मत छ? देशलाई उत्तर कोरीया बनाउने हिम्मत छ ?’ 
 

अन्तिम अपडेट: बैशाख १२, २०८१

किरण लोहनी

उज्यालोका गोरखा सम्वाददाता किरण लोहनी गोरखाको च्वाइस एफएममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया