आईसीसी विश्वकपमा भारतकाे लगातार दोस्रो जित, अष्ट्रेलिया ३६ रनले पराजित

 जेठ २७, २०७६ सोमबार ६:१५:३४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - आईसीसी विश्वकपमा भारतले लगातार दोस्रो जित निकालेको छ । आइतबार भएको खेलमा भारतले पाँच पटकको च्याम्पियन अष्ट्रेलियालाई ३६ रनले पराजित गर्‍यो ।

जारी विश्वकपमा अष्ट्रेलियाको याे पहिलो हार हो । यसअघि भएको खेलमा अष्ट्रेलियाले वेष्ट इण्डिज र अफगानिस्तानलाई हराएको थियो । भारतले पनि यसअघि दक्षिण अफ्रिकालाई पराजित गरेको थियो ।

केनिङटन ओभलमा भारतले दिएको ३ सय ५३ रनको फराकिलो लक्ष्य पछ्याएको अष्ट्रेलियाले पुरै ५० ओभर खेल्दै १० विकेट गुमाएर ३१६ रन मात्र बनाउन सक्यो । अष्ट्रेलियाका स्टिभ स्मिथ, डेभिड वार्नर र एलेक्स केरीले अर्धशतकीय इनिङ्स खेले पनि टोलीलाई जित दिलाउन सकेनन् ।

स्मिथले ६९ रन जोड्दा वार्नरले ५६ रनको योगदान दिए । एलेक्स ५५ रनमा अविजित रहे । यस्तै उस्मान ख्वाजाले ४२, कप्तान आरोन फिन्चले ३६ तथा ग्लेन म्याक्स्वेलले २८ रन बनाए ।

भारतका जस्प्रित बुम्राह र भुवनेश्वर कुमारले ३/३ विकेट लिए । यस्तै युजभेन्द्र चाहलले २ विकेट लिए । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको भारतले पुरै ५० ओभर खेल्दै ५ विकेट गुमाएर ३ सय ५२ रन बनाएको थियो ।

भारतको यो विश्वकपमा चौंथो सर्वाधिक ठूलो स्कोर हो । भारतको उच्च स्कोरमा शिखर धवनले शतकीय इनिङ् खेले । धवनले १ सय ९ बलमा १६ चौकासहित १ सय १७ रन बनाए ।

यस्तै कप्तान विराट कोहली र रोहित शर्माले अर्धशतकीय इनिङ्स खेले । कोहलीले ८२ रन जोड्दा शर्माले ५७ रन बनाए । हार्दिक पाण्ड्याले ४८ रन जोडे ।

यस्तै महेन्द्र सिंह धोनीले विस्फोटक ब्याटिङ गर्दै १४ बलमा २७ रन बनाए । अष्ट्रेलियाका मार्कस स्टोनीसले २ विकेट लिए । यस्तै पाट कमिन्स, मिचेल स्टार्क र नाथन कोल्टर नाइलले एक एक विकेट लिए ।

जितसंगै भारतले २ खेलबाट ४ अंक जोडेको छ ।

अन्तिम अपडेट: चैत २७, २०८०

तपाईको प्रतिक्रिया