शेयर बजार तीन अङ्कले घट्याे
बैशाख १३, २०८१ बिहिबार
सल्यान – करेन्ट लागेर सल्यानकाे बागचौर नगरपालिका २ शेराचौरमा लागेर एक महिलाको ज्यान गएको छ । करेन्ट प्रवाह भैरहेको विद्युतको तारमा लट्पटिएर खेतमा घाँस काट्न गएकी ३६ वर्षीया भूमी ओलीको ज्यान गएको हो ।
विद्युतको तार लत्रिएर जमिनमा छोएको र हिँडिरहेको बेला करेन्ट लागेर ओलीको घटनास्थलमा नै ज्यान गएको इलाका प्रहरी कार्यालय थारमारेका प्रहरी प्रमुख लिलाभक्त बादेले बताउनुभयो ।
‘विद्युत प्राधिकरणले क्षतिपूर्ति दिने सहमतिमा शव उठाइएको छ र पोष्टमर्टमको लागि शव जिल्ला अस्पताल सल्यान पठाइएको छ’, प्रहरी प्रमुख बादेले भन्नुभयो ।
स्थानीयले भने विद्युतको तार भुइँमा लत्रिँदा पनि प्राधिकरणले ध्यान नदिएको आरोप लगाएका छन् ।
स्थानीयको लापर्वाहीले गर्दा महिलाले ज्यान गुमाउनुपरेको हो : विद्युत प्राधिकरण
नेपाल विद्युत प्राधिकरण सल्यानका प्रमुख अर्जुन घिमिरेले भने बिजुलीको तार भुइँमा झरेको स्वीकार गर्दै घटना हुनुमा स्थानीय नै दोषी रहेको बताउनु भएको छ ।
‘हामीले थोरै दूरीको लागि पठाएको पोल धेरै दूरी बनाएर स्थानीय उपभोक्ता समितिले तार तानेकाले तार भुइँमा झरेको हो । कम पोल दिएका ठाउँमा पनि गाउँभरि बत्ती लैजान खोज्छन् अनि समस्या हुन्छ’, उहाँले भन्नुभयो । स्थानीयले राजनीतिक पहुँचमा टाढा–टाढा पोल राखेर विद्युत सुचारु गरेकाले घटना हुन पुगेको उहाँले दाबी गर्नुभयो ।
त्यस ठाउँमा तारमाथि उठाउनका लागि एउटा पोल थप गरेर कार्यालयबाट पठाएको भए पनि पोल नै गायब भएको उहाँले खुलासा गर्नुभयो । नियम कानुन लत्याएर राजनीति पहुँचमा उपभोक्ता समिति र ठेकेदारले आफू खुशी काम गरेको उहाँले आरोप लगाउनुभयो ।
विद्युतका पोल कम भएका, तार लत्रेकोे र शंकास्पद ठाउँ भएमा तत्काल आफूहरुलाई खबर गर्न समेत उहाँले जानकारी दिनुभयो ।
प्राधिकरणको नेपालगञ्ज शाखाले मृतकको विवरण बुझेर क्षतिपूर्ति दिने उहाँले बताउनुभयो । विद्युत दुर्घटनामा ज्यान गुमाउनेलाइ ५ लाखसम्म क्षतिपूर्ति दिने सरकारी व्यवस्था रहेको छ ।