नेपालकाे रेल वीरगञ्ज र विराटनगरबाट काेलकातासम्म सञ्चालन गर्ने सहमति

 जेठ २७, २०७६ सोमबार १८:५१:७ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै - नेपाल–भारतबीच नेपालको रेल वीरगञ्ज र विराटनगरबाट भारतको कोलकाता-हल्दियासम्म सञ्चालन गर्ने सैद्धान्तिक सहमति भएको छ । 

दुई देशबीचको रेल सेवा सम्झौताअन्तर्गतको हालै भारतको राजधानी नयाँ दिल्लीमा सम्पन्न तेस्रो विस्तृत पुनरावलोकन बैठकमा भारतले नेपालको वीरगञ्ज र विराटनगरसम्म रेल सञ्चालनका लागि सहमति जनाएको हो ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले सोमबार काठमाण्डौमा पत्रकार सम्मेलन गरी त्याे सहमतिले छिट्टै लिखित रुप लिने पनि स्पष्ट पारेको छ । मन्त्रालयका सचिव केदारबहादुर अधिकारीले डेढ वर्षभित्र भारतको कोलकातासम्म नेपालको रेल सञ्चालन हुने गरी त्यस सहमतिलाई अघि बढाउने योजना पनि सार्वजनिक गर्नु भयो ।

बैठकमा नेपालको वीरगञ्ज सुख्खा बन्दरगाहसम्म विद्युतीय रेल लाइन विस्तार गर्न भारतले सहमति पनि जनाएको थियो ।

दुई देशबीच पारवहन सन्धिअनुसार विराटनगर र भैरहवा नाकाबाट समेत रेलबाट बल्क कार्गो ढुवानी गर्न पाउने गरी रेल सेवामा आवश्यक संशोधन गर्ने सहमति पनि गरिएको छ । विराटनगर–जोगबनी, सुनौली–नौतनवा र कुर्था–इनरुवा–जयनगर रुटमा रेल सेवा सञ्चालनमा आएपछि त्यस रुटमा कार्गाे ढुवानी गर्न पनि दुई देशबीच सहमति जुटेको छ ।

सचिव अधिकारीले यो सहमतिसँगै दुई देशबीचको माल सामान ढुवानीमा देखिँदै आएको समस्या समाधान भएर जाने विश्वास पनि व्यक्त गर्नुभयो । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव नवराज ढकाल र भारत सरकारको रेल मन्त्रालयका कार्यकारी निर्देशक मनोजकुमार श्रीवास्तवले नेतृत्व गर्नु भएको त्यस बैठकले नेपाली बैकिंङ च्यानलमार्फत् ढुवानी, दस्तुरलगायतका महशुल नेपाली व्यापारीहरुले गर्न पाउने सहमति पनि गरेको छ ।

नेपाली व्यापारीहरुले विगतदेखि उठाउँदै आएको त्यस समस्यालाई पनि भारत सरकारले समाधान गर्ने सहमति जनाएको सचिव अधिकारीले बताउनु भयो । बैठकमा दुई देशबीचको रेल सेवा सम्झौताको अर्को बैठक ६ महिनाभित्र नेपालमा बस्ने सहमति पनि भएको छ । 

 

अन्तिम अपडेट: चैत २६, २०८०

तपाईको प्रतिक्रिया