प्रदेश १ का मुख्यमन्त्रीको जवाफ ‘नीति तथा कार्यक्रम गएको वर्षको फोटोकपी होइन’

 जेठ २८, २०७६ मंगलबार ८:५६:९ | उज्यालो सहकर्मी
unn.prixa.net

मोरङ – प्रदेश सरकारका मुख्यमन्त्री शेरधन राईले सरकारले ल्याएको नीति तथा कार्यक्रम गएको वर्षको फोटोकपी नभएको र कार्यान्वयनमुखी रहेको बताउनुभएको छ  ।

प्रदेश १ सरकारकातर्फबाट सदनमा प्रस्तुत गरिएको नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिँदै मुख्यमन्त्री राईले प्रदेश सरकारले ल्याएको नीति तथा कार्यक्रम कार्यन्वायन गर्नको लागि मार्गचित्र स्पष्ट भएको बताउनुभयो ।  प्रदेश सांसदहरुले कार्यान्वयनमा आशंका उत्पन्न भएको तथा गएको वर्षकै फोटोकपीको रुपमा नीति तथा कार्यक्रम आएको जनाएपछि मुख्यमन्त्रीको यस्तो जवाफ आएको हो ।

मुख्यमन्त्री राईले नीति तथा कार्यक्रम माथि ९३ जना सांसद मध्ये २३ जनाले मात्र छलफलमा भाग लिएर सुझाव दिएकोमा अन्य ६९ जनाले नीति तथा कार्यक्रमलाई पूर्ण रुपमा स्वीकार गरेको दाबी गर्नुभयो ।

नीति तथा कार्यक्रममा धेरै नकारात्मक टिकाटिप्पणी नभएको र यो सर्वसम्मतिमा पारित हुनेमा आफू आशावादी रहेको मुख्यमन्त्री राईको भनाइ छ । ‘प्रतिपक्षीको भुमिकाका कारण केही नकारात्मक टिप्पणी आउनु स्वाभाविक ठानेको छु,’ मुख्यमन्त्री राईले भन्नुभयो, ‘आएका सुझावलाई साकारात्मक रुपमा लिएर कार्यान्वयनमा लैजान्छौँ ।’

मुख्यमन्त्री राइले प्रदेश सरकार प्रदेशको कृषि, औद्योगिक र पर्यटकीय क्षेत्रको विकासका लागि संवेदनशील भएर लागि परेको बताउनुभयो । पहिले आफ्नै संरचना अभाव र थुप्रै अन्य कारणले नीति तथा कार्यक्रम कार्यान्वयन गर्न निकै कठिनाइ भएको पनि उहाँले बताउनुभयो ।

मुख्यमन्त्री राईले आवधिक योजनाको बलमा नै अब प्रदेशका विकासका कार्यक्रम सञ्चालन हुने बताउँदै यसलाई थप व्यवस्थित गरिने बताउनुभयो । प्रदेश प्रमुख डा. गोविन्दबहादुर तुम्बाहाङले सरकारकातर्फबाट प्रस्तुत गरेको नीति तथा कार्यक्रमको सैद्धान्तिक छलफलमा जम्मा २३ जना सांसद सहभागी थिए ।

डेंगु प्रभावितको निःशुल्क उपचारका लागि ५० लाख

प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले धरानमा फैलिएको डेंगु नियन्त्रण गर्न प्रदेश सरकारले आवश्यक काम गरिरहेको जानकारी दिनुभएको छ । प्रदेशसभाको बैठकमा बोल्दै उहाँले डेंगु नियन्त्रणका लागि चिकित्सकको टोली घटनास्थलमै रहेको, डेंगु प्रभावित बिरामीको निःशुल्क उपचारका लागि प्रदेश सरकारले ५० लाख रुपैयाँ छुट्याएको पनि बताउनुभयो ।

अन्तिम अपडेट: बैशाख ३, २०८१

तपाईको प्रतिक्रिया