१६ वर्षमै श्रीमान गुमाएकी रोशनलाई न्याय मिल्यो

 जेठ २८, २०७६ मंगलबार १५:८:५९ | सन्जिता देवकोटा

काठमाण्डौ – ‘यो पैसाले बुवाआमाले मेरो बिहे गरिदिने होलान्, तर मलाई बिहे गर्न मन छैन,’ रोशन खातुनले छेवैमा रहेका बुवाले नसुन्ने गरी भन्नुभयो, ‘पहिलो बिहेमा त दाइजो माग्छन्, झन अब दोस्रो बिहेमा यो सबै पैसा सकिन्छ, मलाई राम्रो पनि हुन्न ।’ 

साउदीमा दुई वर्षअघि बितेका पतिको नेशनल लाइफ इन्युसेन्सबाट बिमाको रकम पाएको चेक हातमा लिएपछि रोशनलाई अर्को चिन्ता थपिएको छ ।

बुवाआमाले फेरि बिहे गरिदिए भने के होला ? एकल महिलालाई भित्र्याउने मान्छे कस्ता होलान् ? उसले गर्ने व्यवहार कस्तो होला ? रोशनको मन यस्तै प्रश्नले भरिएको छ । 

रोशनको पहिलो बिहेमा ६ लाख रुपैयाँ ऋण लाग्यो । ६ लाख खर्च गरेर गरेको बिहेले अनगिन्ती पीडा दियो । अब झन् के होला ? रोशनलाई छटपटी भएको छ, ‘मलाई बिहे गर्न मन छैन, दोस्रो पटक बिहे गरेको त हो नि भन्छन्, के राम्रो होला र ?’

रोशनको आमा बुवालाई भने अर्कै चिन्ता छ । १८ वर्ष मात्र लागेकी छोरीलाई जीवनभरी कसरी एक्लै जिउन दिने ? 

ससुराले रोशनलाई विदेशबाट शव ल्याएको थाहा दिएनन् । बुहारीलाई पत्तै नदिई सदगद गरे । अनि अविवाहित भएको कागज बनाएर सरकारी राहत बुहारीलाई नदिने चाल चले । तर रोशनका ससुरा ल्याकत मियाको यो प्रयास सफल भएन ।

 करार अवधिभित्रै विदेशमा मृत्यु हुनेका परिवारले पाउने सरकारी राहत पाउन पनि उहाँले धेरै हण्डर सहनु पर्‍यो । 

 १८ वर्ष मात्रै लागेकी रोशन न आफ्नो निर्णय आफैं गर्न सक्नुहुन्छ, न परिवारको कुरा नर्कान । मनमै गुम्सिएका छन् चाहनाहरु ।

बिहे गर्ने उमेर नहुँदै एकल महिला हुनुको पीडा

धनुषा साविकको भरतपुर गाविस ८ की रोशन खातुन अहिले १८ वर्षकी हुनुभयो । १४ वर्षमा बिहे गरेकी रोशनले २ वर्ष नहुँदै पति् गुमाउनु पर्‍यो । त्यो पनि कानुनी रुपमा बिहे हुन नपाउँदै ।

२०७२ साउनमा ६ लाख रुपैयाँ दाइजोसहित धनुषाकै सविकको भरतपुर गाविसका सबिर रायनसँग बिहे भएको थियो रोशनको । बिहे भएको केही समयमै पति साउदी गए । पति साउदी लागेपछि रोशनलाई पनि परिवारका सदस्यले घरबाट निकालिदिए । 

रोशन आमाबुवाको साथमा माइतीमै बस्नुहुन्थ्यो । पति सबिरले दिनहुँ फोन गर्थे । पति पत्नीबीच सम्बन्ध राम्रो थियो । ‘मलाई घर नजाउ बुवाआमा राम्रो छैन, त्यहीँ बस, म आएपछि घर बनाउँला, म दुई तीन वर्षमा सबै मिलाएर आउँछु भनेका थिए, तर अन्तिम पटक लास पनि देख्न पाइनँ,’ रोशन मसिनो स्वारमा बोल्नुभयो । 

२०७३ भदौमा रोशनका पतिले साउदीमा आत्महत्या गरेको खबर आयो । परिवारले घरबाट निकाले पनि पति फर्किने आशमा पर्खिरहेकी रोशनले पति बाकसमा फर्किएको  सुन्नुपर्यो । 

जब ससुराले अविवाहित कागज बनाए

पतिकाे मृत्यु भएको खबरपछि रोशनले कुनै जानकारी पाउनुभएन । ससुराको डरले रोशन घरमा जान पनि सक्नुभएन । छोराको मृत्युको खबर सुनेको केही दिनपछि रोशनका ससुरा ल्याकत मिया कवारी काठमाण्डौ आए ।

केही कागजपत्रसहित छोराको शव झिकाउने काममा सघाउन अनुरोध गर्दै अनामनगरमा रहेको प्रवासी नेपाली समन्वय समिति (पीएनसीसी)को कार्यालयमा पुगे ।

गाउँमा राँगाभैंसी किन्दै हिँड्ने, साइकलमा कराउँदै टोलटोल चाहार्ने ल्याकत मिया कवारीलाई आफ्नो कार्यालयमा देखेपछि पूर्णिमा हमालले चिनिहाल्नुभयो । ल्याकतले पनि पूर्णिमालाई चिने । सोधे, ‘तिमी त फलानोको छोरी हैन ?’ 

कुराकानीको सिलसिलामा ल्याकतले आफ्नो छोरा साउदीमा बितेको र शव झिकाउनका लागि आफू यहाँसम्म आएको बताए । पूर्णिमाले पनि प्रक्रिया बताउनुभयो ।

‘साउदीबाट शव ल्याउन समय लाग्छ, शव ल्याएपछि बुहारीलाई पनि लिएर कागजपत्रसहित आउनु, क्षतिपूर्तिका लागि वैदेशिक रोजगार बोर्डमा निवेदन दिन पर्छ,’ पूर्णिमाले भन्नुभयो । तर बुहारीको कुरा गर्नासाथ ल्याकतले पूर्णिमाको हातबाट कागजपत्र खोसे । 

‘छोराले आत्महत्या पनि बुहारीकै कारणले गर्‍यो, पैसा त्यसलाई दिन पर्छ भने लास उतै किरा परोस्, म झिकाउँदिन भन्दै कागज पत्र खोसेर यहाँबाट हिँडे,’ त्यतिबेला ल्याकतको आवेग सुनाउनुभयो पूर्णिमाले । 

झण्डै चार महिनापछि ल्याकत फेरि पूर्णिमालाई भेट्न पीएनसीसी पुगे । पूर्णिमासँग नरम हुँदै कुरा गरे । छोराको शव झिकाउन सबै प्रक्रिया पूर्णिमाले नै गरिदिनुभयो । 

तेस्रो पटक पूर्णिमालाई भेट्न आउँदा ल्याकतले छोरा अविवाहित भएको कागज बनाएर आए । गाउँकै मान्छे भएकाले पूर्णिमालाई उहाँको छोराको बिहे भएको थाहा थियो । पूर्णिमाले सोधीखोजी गर्नुभयो । ल्याकतले ढाँटे ‘बुहारी पोइल गई ।’

जे भए पनि विवाहित मान्छेको कागज कसरी अविवाहित बन्यो ? पूर्णिमालाई चित्त बुझेन ।

पूर्णिमाले सचिवसँग सोधपुछ गर्नुभयो । सचिवले बिहे भएको कुनै आधार नभेटिएकाले कागज बनाइदिएको स्वीकार गरे । 

पूर्णिमाले सोधपुछ गरेर बुहारीलाई पनि ल्याउन पर्छ भनेपछि ल्याकत पहिलेझैं कागजपत्र बोकेर हिँडे । ल्याकत फर्किएपछि पूर्णिमा भने रोशनको खोजीमा लाग्नुभयो ।

धनुषामा आप्रवासी कामदारको समस्या सुन्ने सूचना केन्द्र छ । त्यहाँको सूचना केन्द्रबाट ल्याकतको बुहारी पोइल गए वा नगएको बुझ्न पूर्णिमाले कर्मचारीलाई महेन्द्रनगर –१, दुर्गाटोल पठाउनुभयो ।

रोशन माइतमै हुनुहुन्थ्यो ।  दुई अक्षर नपढेकी रोशनलाई कहाँबाट के राहत पाइन्छ के थाहा ? सूचना केन्द्रकै कर्मचारीको सहयोगमा रोशन काठमाण्डौ आउनुभयो । केन्द्रबाटै रोशनले बिमा र सरकारबाट राहत रकम पाउने जानकारी पनि पाउनुभयो । 

क्षतिपूर्ति बुझ्न रोशन काठमाण्डौ त आउनुभयो । तर सबिरको पत्नी भएको कुनै सरकारी कागजात थिएन । ससुराले त छोरो अविवाहित भएको कागज बनाइसकेका थिए । 

रोशनको नागरिकता, विदेशमा मृत्यु भएको कागजात, स्थानीय निकायको सिफारिस, नाता प्रमाणित कागजात भएपछि मात्रै राहत रकम मिल्थ्यो । यी कागजात केही पनि थिएन रोशनसँग । साउदीबाट शवसँगै आएको सबै कागजात ससुरा ल्याकतले राखेका थिए । फोनमा सोध्दा उनले सबै कागजपत्र जलाइदिएको बताए ।

रोशनसँग बिहे गर्दा त परको कुरा नागरिकतासम्म थिएन । ससुरा ल्याकतले सिफारिस गरे मात्रै नागरिकता बन्ने भयो । सिफारिस गर्न ल्याकत तयार भएनन् । धेरै प्रयासपछि जिल्ला प्रशासन कार्यालय धनुषाले कागज बनाइदियो ।

शव नेपाल आउँदाको कागजपत्र ल्याकतले नदिएपछि पूर्णिमाले विमानस्थलबाट लिनुभयो । अन्तिममा दुवै पक्ष क्षतिपूर्ति आधाआधा बाँड्नसम्म राजी देखिए । तर कुरो अड्क्यो त्यो कसले बुझ्ने भन्नेमा ।

‘मलाई सबै पैसा चाहिन्न, आधी पैसा दिन्छु,’ रोशनको अडान थियो । 

‘तँबाट किन पैसा बुझ्ने ? मेरो नाममा पैसा आउनुपर्छ । म तँलाई आधा दिन्छु,’ ल्याकतको ढिपी थियो, ‘मेरो छोराका क्षतिपूर्ति मेरै नाममा आउनुपर्छ ।’ 

अन्तिममा ल्याकतको केही चलेन । पूर्णिमाकै सहयोगमा गएको वर्ष २०७५ असारमा वैदेशिक रोजगार बोर्डबाट रोशनले तीन लाख रुपैयाँ पाउनुभयो । डेढ लाख रुपैयाँ ससुरा ल्याकतलाई दिनुभयो । 

झण्डै एक वर्षपछि बोर्डले दिएको चेकलाई नै आधार बनाएर बिमाको रकम पनि दियो इन्स्युरेन्सले । 

यही जेठ २४ गते इन्स्यूरेन्समार्फत रोशनले बिमाको रकम पाउनुभयो । यो रकम भने उहाँले ससुरालाई दिनु पर्ने छैन । 

‘बिमाको रकम त ससुरालाई दिनुपर्छ भन्ने छैन, रोशनले पैसा पाएको ल्याकतलाई थाहा पनि छैन, ’ पूर्णिमा भन्नुहुन्छ, ‘नेशनल लाइफ इन्स्युरेन्सले पनि सहयोग गर्‍यो, सबैको सहयोगले रोशनले ससुरासँगको लडाईं जितिन् ।’

रोशन थोरै बोल्नुहुन्छ । टोलाइरहनुहुन्छ । १४ वर्षमै बिहे हुनु, अनि बिहे भएको दुई वर्ष पनि नपुग्दै सिउँदो पखालिनु ! पतिको मृत्युपछि पनि हजारौं अप्ठ्याराहरुसँग लड्नु पर्‍यो । अरु  अप्ठ्याराका त के कुरा र, आफ्ना भन्नेहरु नै रोशनको जीवनमा अप्ठ्यारा बनिदिए । 

उमेर सानै छ । पढेलेखेको छैन । हातमा सीप पनि छैन । गरी खाउँ भन्दा के गर्ने पनि थाहा छैन । थाहा छैन, यो सबै पीडाको छाप रोशनको कलिलो मनस्थितीमा कसरी परेको छ ।

बिहेले दुःख दिन्छ भन्ने छाप उहाँमा गडेको छ । त्यसैले कयौं दुःख सहेर हात परेको पैसाले फेरि बिहे गरेर उस्तै दुःख निम्त्याउन रोशनलाई मन छैन । 

याे पनि पढ्नुहाेस् 

सरकारी राहत ससुराले खान खोजे, १७ वर्षिया विधवा न्यायको खोजीमा

अन्तिम अपडेट: बैशाख ६, २०८१

सन्जिता देवकोटा

उज्यालोमा कार्यरत सन्जिता देवकोटा वैदेशिक रोजगार र नेपाली महिलाका बिषयमा कलम चलाउनुहुन्छ ।  

तपाईको प्रतिक्रिया