घाटु जोगाउन ढोलीमाराका आमा समूह सक्रिय (फोटोसहित)

 जेठ २८, २०७६ मंगलबार १५:४५:१० | देव पचभैया
unn.prixa.net

पाल्पा - आँखा चिम्म गरेर किशोरीहरु मात्रै नाच्ने मगर संस्कृतिको घाटु नाच लोप हुँदैछ ।

एकोहोरो गीतमा देवीदेवताको नाउँमा घण्टौँ नाच्नु पर्ने भएकाले पनि हिजो आजका नानीहरुले घाटु नाचमा मन नदिएका ७४ वर्षीया फनिसरा कंवरको भनाइ छ ।

‘धेरै नानीहरुलाई तालिम दिइयो’, उहाँले भन्नुभयो,‘आजकालका केटीहरु आँखा चिम्म गरेर नाच्न झ्याउ मान्छन् ।’

७१ वर्षीया केशमाया सारुको विचारमा पढ्ने नाउँमा या बसाइ सराइका कारण गाउँ छोडेर शहर जाने चलनले पनि गाउँमा घाटु नाच्ने नानीहरु हराउँदै गएका हुन् । जंगल जाने, शिकार गर्ने र सरकार प्रमुखलाई चढाउने प्रसंग घाटु गीतमा आउने केशमायाले बताउनुभयो ।‘महिलाले गाउने, किशोरीमात्रै नाच्ने हो, आफ्नो पालाका पुराना दिन सम्झिँदै उहाँले भन्नुभयो, ‘उ बेला उज्यालो नहुन्जेल गाउने, नाच्ने चलन अहिले हरायो ।’ 

फनिसराले गाँउमा उमेर पाकेका ७ जना आमाहरुको नाम औलामा भाँच्दै भन्नुभयो, ‘बुढीहरु बरु धेरै छौँ , गाँउन, नाच्नका लागि नानीहरुलाई कर गर्नुपर्छ ।’ 

फनिसरा, केशमाया मात्रै हैन, हराउन लागेको पुरानो घाटु संस्कृति जोगाउन पूर्वखोला गाउँपालिका-२ ढोलीमारा, जल्पाकाे आमा समूह नै सक्रिय छ । तालिम दिने, घाटुका लागि आवश्यक सरसामान किन्ने काम समूहबाटै भएको छ ।

‘घाटु नाचकै कारण ढोलीमाराको इज्जत चुलिएको छ’, वडाध्यक्ष निर बहादुर सारुले भन्नुभयो, ‘यहाँका आमाहरु सक्रिय हुँदा पुराना संस्कार र संस्कृति बचाउन र अहिलेका पुस्ताले जान्ने अवसर मिलेको छ ।’

हरेक नयाँ वर्षका दिन वडाभरिका संस्कृतिको प्रर्दशन गर्ने र उनीहरुलाई आर्थिक सहयोग गर्ने गरी गएकाे वर्षदेखि थालनी गरेको अध्यक्ष सारुको भनाइ छ । 

अन्तिम अपडेट: चैत १४, २०८०

देव पचभैया

पाल्पाका उज्यालो सहकर्मी देव पचभैया श्रीनगर एफएममा पनि कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया