फिल्म उद्योगभन्दा बाहिरबाट आउनु नै मेरो सबल पक्ष हाे: तापसी पन्नु

 जेठ २८, २०७६ मंगलबार १८:३९:२९ | उज्यालो सहकर्मी
unn.prixa.net

बलिउड अभिनेत्री तापसी पन्नुले दक्षिण भारतीय फिल्मबाट आफ्नो करियरको सुरुवात गरेर सफलता हासिल गर्दै छुट्टै पहिचान बनाइसकेकी छिन् । तापसी आफू फिल्म उद्योगमा आउटसाइडर हुनुलाई आफ्नो ताकत मान्छिन् ।

मिडियासँगको कुराकानीका क्रममा बलिउडमा बाहीरबाट आउनेहरुलाई ‘आउटसाइडर’ जस्ता ट्याग दिइन्छ, यस्ता कुरासँग उनी कसरी डिल गर्छिन भन्ने प्रश्नमा तापसीले भनिन्, ‘हो म एक आउटसाइडर हुँ । म फिल्मी जगतका नामी हस्तीहरुबीच चर्चित छैन । जब म कुनै फिल्मको छायांकन गरिरहेकी हुँदिन, तब म घुमिरहेकी हुन्छु । साथै फिल्मी दुनियाभन्दा बाहिर एक सामान्य व्यक्तिको जीवनलाई नजिकबाट नियालेर बुझ्ने कोशिश गरिरहेकी हुन्छु ।’ 

उनले अगाडि भनिन्, ‘म फिल्म इण्डष्ट्रिभन्दा बाहिरबाट आउनु नै मेरो ताकत हो जस्ताे लाग्छ। यसैकारण म सामान्य जिन्दगी बाँच्दै अभिनयमार्फत कैयौं वास्तविक कुरालाई देखाउन सक्छु । यससँगै म राति छिट्टै सुत्छु र बिहान छिट्टै ब्युँझन्छु । त्यसैले भएर आधारातसम्म पार्टी गर्नु मेरो जीवनशैलीसँग मिल्दैन । वास्तवमै म मेरो संसारमा खुशी छु ।’  

गएकाे वर्ष तापसी अभिनित ‘मुल्क, मनमर्जियाँ, र दक्षिण भारतीय फिल्म लगायत ४ वटा फिल्महरु रिलिज भएका थिए । यस वर्ष उनी अभिनित ‘गेम ओभर, मिशन मंगल, साँड की आँख जस्ता फिल्म रिलिज हुनेछन् ।  

तपाइँले प्राप्त गरेको सफलतालाई कसरी लिनुहुन्छ? भन्ने प्रश्नमा उनले भनिन्, ‘मैले मेरो बकेट लिष्टमा ३० वर्षको उमेरभित्रमा आफ्नै कार, आफ्नो छुट्टै अपार्टमेन्ट र स्थिर करियर होस भन्ने राखेकी थिएँ र म धन्य छु, मैले ती सबै कुरा पुरा गर्न सफल भएँ ।’ 

तापसी पन्नु अभिनित यस वर्ष रिलिज भएको फिल्म ‘बदला’ ले बक्स अफिलमा राम्रो प्रदर्शन गरेको थियो । तर पनि यस फिल्मबारे सामाजिक सञ्जालमा खासै चर्चा भएन । साथै बलिउड फिल्म जगतका कलाकारहरुले पनि कुनै प्रतिक्रिया जनाएनन् ।

यस्ता कुराले कत्तिको असर पार्छ? भन्ने प्रश्नमा तापसीले भनिन्, ‘ती त्यस्ता व्यक्ति होइनन् जसलाई मेरा फिल्मले बक्स अफिसमा राम्रो पैसा कमाउँदा फाइदा मिल्नेछ । यदि कुनै फिल्म हप्तौंदेखि सिनेमा हलमा चलिरहेको छ भने त्यसको मतलब दर्शकहरु त्यो फिल्म हेरिरहेका छन् भन्ने नै हाे । तसर्थ म कसैसँग किन गुनासो गरौं ? 

साथै उनले आफू बलिउडका खानहरुसँग काम गर्न उत्सुक रहेको बताएकी छिन् ।  

अन्तिम अपडेट: चैत १०, २०८०

तपाईको प्रतिक्रिया