सफ्ट्वारिका कलेजमा ३ दिने आईओटी प्रदर्शनी, ८० वटा स्मार्ट सोलुसनका मोडल

 जेठ २८, २०७६ मंगलबार २०:३३:४७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - काठमाण्डौको सफ्ट्वारिका कलेजमा ३ दिने आईओटी प्रदर्शनी सुरु भएको छ ।

कम्प्युटिङ सोलुसनबाट दैनिक जीवनयापन कसरी स्मार्ट बनाउन सकिन्छ भन्ने विषयमा जानकारी दिन मंगलबारदेखि प्रदर्शनी सुरु भएको हो । बिहीबारसम्म डिल्लीबजारमा चल्ने प्रदर्शनीमा स्मार्ट स्कुल-कलेज, स्मार्ट पार्किङ्, स्मार्ट होटल र रिसोर्ट, स्मार्ट फोहोर व्यवस्थापन, स्मार्ट मापसे जाँच, स्मार्ट सुरक्षा गार्ड, स्मार्ट सवारी साधनसहित स्मार्ट सिटीको नमुना राखिएका छ्न् ।

प्रदर्शनीका ८० वटा स्मार्ट सोलुसनका मोड्युल सफ्ट्वारिका कलेजमा कम्प्युटिङ विषयमा स्नातक तह अन्तिम वर्षमा अध्ययनरत १ सय ९४ विद्यार्थीले तयार गरेका हुन् ।

प्रदर्शनी अवधिमा तीनै दिन आईटीमा भविष्य बनाउन चाहने विद्यार्थीका लागि विषेश कार्यशाला समेत सञ्चालन गरिएको छ । बेलायतको आईटीसम्बन्धि कभेन्ट्री युनिभर्सिटिका एकेडेमिक पाटर्नरसिप म्यानेजर एबि लिटलरले कार्यशालाको संयोजन गर्नुभएको हाे ।

विद्यार्थीलाई प्रयोगात्मक पढाइमा जोड दिएर दक्ष जनशक्ति उत्पादन गर्ने र सर्वसाधरणलाई कम्प्युटिङ सोलुसनको अवधारणा बुझाउने उद्देश्यका साथ प्रदर्शनीको आयोजना गरिएको र निशुल्क प्रवेश रहेकोले प्रदर्शनी राज्यका नीति निर्माता, विद्यार्थी, अभिभावक र आईटी क्षेत्रका जिज्ञाशुका लागि उपयोगी हुने कलेजकाे विश्वास छ । 

 

अन्तिम अपडेट: चैत ९, २०८०

तपाईको प्रतिक्रिया