खोई खोला ?

 जेठ २९, २०७६ बुधबार ११:३३:२९ | सजना तिमल्सिना
unn.prixa.net

कामको सिलसिलामा भैँसेपाटी पुगेको थिएँ । त्यहाँबाट म बस्ने ठाउँ नखिपोट पुग्न खोला तर्नुपर्छ । भैँसेपाटीमा मामाघर भएकाले बाल्यकालमा नखिपोट–भैँसेपाटी धेरै हिँडियो । धेरै वर्षपछि यसपटक फेरि उही बाटो जाने निधो गरें । अनि पाइला सारें । कति धेरै घर बनेछन् । १५–२० मिनेट हिँडिसक्दा पनि चोकमा निस्कने छाँट देखिएन ।

अझै नयाँ घरले आँखा नै घुमाइदिए । बाटो कुन ? ठम्याउन सकिनँ । अनि चोक सोध्दैखोज्दै बाटो छिचोल्दै गएँ । ४५ मिनेट हिँडेपछि मुख्य बाटोमा निस्किएँ । तर अझै पनि मैले भनेको बाटोमा पुगिनँ ।

ओरालो लागेँ त्यो बाटो भेटिन्छ भन्ने पक्का भयो । तर कति हिँड्ने ? थकाई लागिसकेको थियो । गाडीमा जाउँ भने तीन वटा, नत्र दुई वटा गाडी त चढ्नैपर्छ । बरु हिँडेरै जाँदा गाडीमा लगनखेल पुग्ने समयमा घरै पुगिन्छ । पहिले पहिले मामाघर आउँदा यही बाटो हिँडिन्थ्यो । त्यो याद ताजा पार्न मन लाग्यो ।

१० मिनेट हिँडेपछि मुख्य बाटोबाट दाहिने मोडिएँ । अनि पुराना दिनतिर फर्कँदै पाइला अघि सारें । तर जति पाइला अघि सारेँ, त्यति नै नयाँ मोड भेटिए । पहिलेका खेतबारी र पाखामा गगनचुम्मी घर मात्र थिए । सबैतिर साना गल्ली र बाटो मात्र । सानो गल्लीका सटरमा किराना पसल, रेष्टुरेन्ट, चटपटे पसल, होटल मात्र देखिए । 

अहो ! सबै नौला ? यो बाटो नहिँडेको थुप्रै भएछ । कति ठाउँमा त ब्लकले बनाएका घर । सबैमा होटल, किराना पसल  । तराईमा जस्तै पानी तान्ने ट्युबेल पनि रहेछ । फाँटमा सरर चल्ने हावा सबै छेकिन थालेछ । मलाई नख्खु खोला पुग्नु थियो ।

नख्खु खोला ललितपुरको लेलेदेखि चोभारको सुन्दरीघाटसम्म बग्छ । लेलेमा लेले खोला र नल्लु खोला मिसिएपछि नख्खु खोला बन्छ । भैँसेपाटीबाट नख्खु खोला तरेर १५ मिनेट हिँडेपछि मेरो घर पुगिन्छ ।

नख्खु खोला । जुन खोलामा हामी सधैं पौडी खेल्थ्यौं । त्यहाँ कति बच्चालाई बगायो भन्ने पनि धेरै सुन्थ्यौं । अनि कालिमाटीमा परियो भने निस्कन सकिँदैन पनि भन्ने गर्नुहुन्थ्यो आमाबुबाले । एकदिन दाइलाई खोलामा गएकोमा बुबाले कठालोमा समातेर घर ल्याउनुभएको थियो रे । यस्तै आरती, रुपा, सुचित्रा, मिना, रचना, सविना अनि म सधैंझै पौडी खेल्न गएका थियौं । माथि डाँडामा सबैले आफ्नै आमा जस्तो एकजना महिला देखेपछि हामी सबैजना हातमा लुगा बोकेर खेतको आलीबाट भागेका थियौं ।

यही खोलामा भैँसेपाटीका केटाहरुले हामीलाई पौडी खेल्न नदिँदा तिनीहरुको कट्टु बगाइदिएका थियौँ । मनमनै हाँसो उठ्यो । त्यो बालापन सम्झिएँ । रमाउँदै बाटो पहिल्याउँदै थिएँ । त्यो डाँडा हेरेर । 

त्यो डाँडा जहाँ हामी आर्मी बन्ने भन्दै उकाली ओराली गर्थ्याैँ । त्यो डाँडा जहाँ खोलामा पौडी खेलेर सुस्ताउन पुग्थ्यौं । त्यो डाँडा जहाँ हामी हरियाली बनाउनको लागि वृक्षारोपण पनि गर्थ्याैँ । त्यही डाँडामा हो एक दिन मिनाले डडेलो लगाएकी । ‘कोही आए मलाई भन्नु’ भन्दै थिइ । तर, चिनियाराम काका आएपछि सबैभन्दा पहिला भाग्ने नै उही थिई । 

यिनै पुराना दिन ताजा पार्दै आफ्नो झण्डै डेढ घण्टाको थकाई मार्दै खोला नजिक पुगें । पहिले यो बाटोमा धेरैले बंगुर पालेका थिए । अहिले त रहेनछ । सोच्दै थिएँ । नाकमा ह्वास्स आयो । त्यही बंगुरको मलको गन्ध । पहिलेको जति अहिले रहेनछ । अब चाहिँ खोला आइपुग्ने भयो । खुशी थिएँ । 

जुत्ता लगाएकी छु । खोला तर्न सक्दिन होला । पर पुल भएकै ठाउँमा जानुपर्छ भन्ने लाग्यो । नजिकै ट्रिपर तीब्र गतिमा गुडिरहेका थिए । अहो ! बाटोमा निस्कन लागेछु ? आफैंलाई प्रश्न गरेँ । अनि बाटोमा निस्किएकी एक जना बहिनीलाई बाटोमा कहाँबाट निस्कने भनेर सोधे । ‘थाहा छैन ।’ ठाडो जवाफ आयो ।

त्यसपछि बाटो छाडेर खेतको आलीतिर लागें । खोलासँगै ठोक्किएँ । पानी नभएको खोला । त्यही खोला जहाँ हामी लुकीलुकी पौडी खेल्न आउँथ्यौं । त्यही खोला जहाँ मेरो चप्पल बगाउँदा म रोएकी थिएँ । त्यही खोला जहाँ हामी साथीहरु मिलेर झण्डै आठ वर्ष लुगा पनि धोयौं । घरको धारमा पानी नआउने भएपछि हाम्रो मात्र नभई निकै परदेखि लुगा धुन आउनेको भिड नै हुन्थ्यो यो खोलामा । 

गाउँमा पानी अभाव भएपछि ललितपुरको वडा नम्बर १४ मा यही खोलाको पानी बोरिङ गरेर खानेपानी आयोजनाले वितरण गरिरहेको छ । अहिले पानी बोरिङ गर्ने ठाउँ नखिपोटको कान्तिपुर कोलोनीभन्दा तल पहिले ड्याम भएको ठाउँसम्म थोरै पानी बग्दैछ । त्यहाँबाट तल लागेपछि खोलाको पानी गोलिगाँठो पनि भिज्दैन रहेछ । अनि सम्झिएँ ‘कुखुरी काँ, बासी भात खाँ । खोई मेरो बासी भात ? बिरालोले खायो । खोई बिरालो ? मुुसो मार्न गयो । खोई मुसो ? गाईले कुल्चियो । खोई गाई ? खोलाले बगायो । खोई खोला ? सुक्यो ।’ 

साँच्चै नख्खु खोला पनि सुक्न लागेछ । हामी यहाँ पौडी खेल्थ्यौं, लुगा धुन्थ्यौँ । यो कुरा त सपना जस्तो पो लाग्यो । 

खोलामा एउटा एक्साभेटर थियो । नजिकै लोड गरिएको सामान छोपेको अवस्थामा ट्रिपर थियो । म खोलामा झर्न लागेको देखेपछि डोजरमा रहेका दुई जनाको हाउभाउ केही फरक महसुस गरें । मलाई त्यस्तो लागेको मात्र पनि हुन सक्छ । उनीहरु डोजरमा केही बिग्रिएर बनाउन लागेको जस्तो गर्दै थिए । यथार्थ के हो ? थाहा भएन । तर खोला छेउछाउमा नदीजन्य पदार्थ एकदम कम थियो । खोलामा कालिमाटीको थुप्रो थियो । त्यही कालिमाटी जहाँ हामी पौडी खेल्न जाँदा पुरिन्छ भनेर ममिबुबाले सधैं गाली गर्नुहुन्थ्यो ।

एकैछिन आँखा डुलाएँ । अघि आफ्ना पुराना दिन सम्झिएर खुसी भएको यो मन अहिलेको खोलाको अवस्था देख्दा ऐठन चल्यो । जुत्ता खोलेर खोला तर्नुपर्छ होला भन्ने कुरा त सपना जस्तो पो भएछ । गोलीगाँठो पनि नडुब्ने यो खोलामा कुनै बेला हामी पौडी खेल्थ्यौं । खोलामा डुबेर कसैको ज्यान गएको थियो भन्ने सम्झँदा साँच्चै सपनामै छु जस्तो लाग्यो ।

भैँसेपाटीभन्दा माथि वा त्यहाँभन्दा तल खोलाको अवस्था मलाई थाहा भएन । तर जुन ठाउँ मेरो बाल्यकालसँग जोडिएको छ, त्यो ठाउँमा हाम्रा सन्ततिले हामीले जसरी रमाउने त परको कुरा अहिलेका भाइबहिनीले पनि त्यो सुख, खुसी अनुभव गर्न पाएका छैनन् । 

मेरो हिँडाई डेढ घण्टाको भइसकेको थियो । पिँडाैला दुख्न थालिसकेका थिए । पिंडौंला मात्र होइन मेरो मन पनि दुख्न थालेको थियो, नख्खु खोलाको अवस्था देखेर । खोलाबाट पारि आएपछि झण्डै १० मिनेट उकालो उक्लिँदा त्यो डाँडामा पुगें । तर त्यो डाँडामा पनि थुप्रै घर बनिसकेका रहेछन् । 

पहिले दिउँसो पनि मान्छे हिँड्न डराउने त्यो ठाउँमा अहिले खाली जग्गा पनि कमै रहेछ । यस्तै हेर्दै पौने २ घण्टा हिँडेपछि आफ्नो गन्तव्यमा पुगेँ । 

हामी सानोमा त्यो खोला अनि डाँडामा खेल्न जाँदाको साक्षी त्यो घामले मलाई आज एक्लै हिँड्दा पनि साथ छाडेको थिएन । म असिनपसिन भइसकेकी थिएँ । निधारबाट बगेको पसिना मेरो आँखीभौंबाट बगेर गालालाई चुम्दै थिए । गाला तातेर भत्भती पोलिरहेको थियो । गाला जस्तै पोल्दै थियो मेरो मन पनि ।

नख्खु खोलाको किनार हुँदै लेले पुग्ने बाटो बनेकाले पनि यस्तो भयो कि ? जलवायु परिवर्तनको कारणले मुलमा पानी सुक्यो होला अनि खोलामा पानीको कमी भयो होला । तर नदीजन्य पदार्थ अस्तव्यस्त किन ? अनि खोलाको बीचमा त्यो डोजर किन थियो । अनि छोपिएको त्यो टिप्परमा के थियो । कसैको सहमतिमा थियो कि लुकिछिपी ? दिउँसै लुकीछिपी त नहुनुपर्ने ? झण्डै २ घण्टाको हिँडाईबाट थाकेको भन्दा पनि खोलाको देखिएको त्यो दृश्यले मेरो मन पोलिरह्यो ।  
 

अन्तिम अपडेट: जेठ ३२, २०७६

सजना तिमल्सिना

सजना तिमल्सिना उज्यालाेमा कार्यरत हुनुहुन्छ।  

तपाईको प्रतिक्रिया