‘लाेकसेवाकाे विज्ञापन रद्द गर्न संसदीय समितिले दिएको निर्देशन प्रशासनिक कू’

 जेठ २९, २०७६ बुधबार १७:५१:९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - लोकसेवा आयोगका पूर्व कार्यवाहक अध्यक्ष टिकादत्त निरौलाले आयोगको विज्ञापन रद्द गर्न संसदीय समितिले दिएको निर्देशनलाई प्रशासनिक ‘कू’ को संज्ञा दिनुभएकाे छ ।

बुधबार काठमाण्डौमा आयोजित एक साक्षात्कार कार्यक्रममा निरौलाले यस्ताे अभिव्यक्ति दिनुभएकाे हाे ।

‘२०१७ साल तत्कालीन राजा महेन्द्रले राजनीतिक ‘कू’ गरेका थिए’, उहाँले भन्नुभयाे, ‘अहिले संसदीय समितिले लोक सेवा आयोगको विज्ञापन रद्द गर्ने निर्णय गरेर प्रशासनिक ‘कू’ गरेको छ ।’ उहाँले लोकसेवा आयोगको मुख्य कामनै कर्मचारी छनौट गर्नु रहेको उल्लेख गर्दै त्यसलाई रोक्ने काम उचित नभएको तर्क पनि गर्नु भयो ।

कार्यक्रममा लोकसेवा आयोगका प्रवक्ता किरणराज शर्माले आयोगले खुलाएको स्थानीय तहको कर्मचारी नियुुक्ति सम्बन्धी विज्ञापन संविधानसम्मत भएको स्पष्ट पार्नुभयाे । 

प्रवक्ता शर्माले विज्ञापन रद्द गर्न संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिले दिएको निर्देशन पालना गर्न आयोग बाध्य नहुने पनि स्पष्ट पार्नुभयो । संविधानको परिधिभित्र रहेर सो सम्बन्धमा आफ्नो निर्णय आफै गर्न आयोग स्वतन्त्र रहेको उहाँको भनाइ थियाे ।

प्रवक्ता शर्माले विज्ञापनको सम्बन्धमा आयोगको पूर्ण बैठक बसेर आवश्यक निर्णय लिने पनि बताउनु भयो । विज्ञापनका लागि फारम भरेका उम्मेदवार, सरकार, संसदीय समिति कसैलाई पनि अप्ठयारोमा पार्ने पक्षमा आयोग नरहेको उल्लेख गर्दै प्रवक्ता शर्माले लोक सेवा आयोगलाई विवादमा पार्ने काम कसैले गर्न नहुने पनि बताउनु भयो ।

प्रवक्ता शर्माले राज्य व्यवस्था तथा सुशासन समितिले विज्ञापन रद्द गर्न दिएको निर्देशन छलफलको प्रक्रियामा रहेको र आयोगको पूर्ण बैठकले छिट्टै त्यस सम्बन्धमा आवश्यक निर्णय लिने पनि स्पष्ट पार्नुभयो । संविधानले दिएको अधिकार प्रयोग गरेर आयोगले विज्ञापन खुलाउने गरिरहेको प्रवक्ता शर्माको भनाइ छ ।

कार्यक्रममा बोल्दै प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसकी सांसद डा. डिला संग्रौलाले संविधान विपरीत भएकाले संसदीय समितिले सो विज्ञापन रद्द गर्न लोक सेवा आयोग र सरकारलाई निर्देशन दिएको दावी गर्नु भएको थियो । 

अन्तिम अपडेट: चैत ३०, २०८०

तपाईको प्रतिक्रिया