शिखर धवन अझै विश्वकपबाट बाहिरिएका छैनन्: ब्याटिङ प्रशिक्षक सञ्जय बांगर

 जेठ २९, २०७६ बुधबार १९:४६:१२ | उज्यालो सहकर्मी
unn.prixa.net

भारतीय क्रिकेट टिमका ब्याटिङ प्रशिक्षक सञ्जय बांगरले ओपनर ब्याट्सम्यान शिखर धवन अझै विश्वकपबाट बाहिर नभएको बताएका छन् ।

अस्ट्रेलियाविरुद्धको खेलमा धवनको औँला फ्याक्चर भएको थियो । प्रशिक्षक बांगरले धवन १०–१२ दिनमा ठिक हुने पनि बताए । अहिले विकल्पको रुपमा ऋषभ पन्त इंग्ल्याण्ड आएको बताउँदै खेलाडी परिवर्तनबारे अन्तिम निर्णय केही समयपछि लिइने पनि बताए । उनले भने, ‘ऋषभ पन्त केही समय म्यानचेस्टरमै हुने छन् ।’ 

पत्रकारसँग कुरा गर्दै बांगरले भने, ‘धवनको औंलामा लागेको चोटको चिकित्सकहरुले निगरानीमा राखेर उपचार गरिरहेका छन्, उनी ठिक हुन १०–१२ दिन लाग्न सक्छ । हामीले उनलाई सहयोग गरिरहेका छौँ, अहिले विकल्पको रुपमा विजय शंकरलाई लिन सक्छौं, ब्याक अपका लागि ऋषभ पन्त छन् ।’

विकेट कीपर ब्याट्सम्यान ऋषभ पन्त शिखर धवनको विकल्पको रुपमा इंग्ल्याण्ड प्रस्थान गरिसकेका छन् । तर अझै पनि टिम म्यानेजमेन्ट कमिटिले धवनलाई परिवर्तन गर्ने मनस्थिति बनाएको छैन जसका कारण धवनलाई इंग्ल्याण्डमै उपचार गराउन लागिएको हो ।

बीसीसीआईको मेडिकल टिमले भने धवनले न्यूजिल्याण्ड र पाकिस्तानविरुद्ध नखेल्ने बताइसकेको छ ।

आइतबार अस्ट्रेलियाविरुद्धको खेलमा धवनले शानदार ११७ रनको पारी खेलेका थिए । जुन खेलमा भारत ३६ रनले विजयी हुँदा उनी म्यान अफ दी म्याचसमेत भएका थिए ।

ब्याटिङ गर्दा अस्ट्रेलियाका नेथन कुल्टर नाइलको बाउन्सर बलले हातको औंलामा चोट लागेको थियो । पछि एक्स रे गर्दा फ्याक्चर भएको पत्ता लागेको हो । उनी पहिलो इनिङमा घाइते भएपछि अस्ट्रेलियाविरुद्ध भारतले बलिङ गर्दा उनी पुरै ५० ओभर पेभेलियनमा बसेका थिए । उनको ठाउँमा रवीन्द्र जडेजाले फिल्डिङ गरेका थिए ।

अन्तिम अपडेट: चैत २७, २०८०

तपाईको प्रतिक्रिया