काठमाण्डौमा आन्दोलनको हुरी चल्दैछ : कांग्रेस सांसद प्रधान

 जेठ ३०, २०७६ बिहिबार १२:५८:४२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद भीमसेनदास प्रधानले गुठीसम्बन्धी विधेयक संविधानविपरीत भएको भन्दै तत्काल फिर्ता लिन सरकारको ध्यानाकर्षण गराउनुभएको छ । 

प्रतिनिधिसभाको बिहीबारको बैठकमा बोल्दै उहाँले संविधानले गरेको व्यवस्थाविपरीत सरकारले गुठीसम्बन्धी विधेयक ल्याएको दाबी गर्नुभयो । राजधानीमा गुठीसम्बन्धी विधेयकलगायत सरकारले संविधानविपरीत ल्याएका विधेयकविरुद्ध काठमाण्डौमा दिनहुँ विरोध प्रर्दशन र आन्दोलनहरु भैरहेको भन्दै उहाँले समयमै सच्चिन सरकारलाई चेतावनी दिनुभयो ।

उहाँले भन्नुभयो, 'काठमाण्डौमा आन्दोलनको हुरी चल्दैछ । बादल गर्जिँदै छ दिनका दिन आन्दोलनको । विधेयक तुरुन्तै फिर्ता गरी सरोकारवालाकाे मागअनुसार विधेयक संशाेधन नगरे आन्दोलन चर्किन्छ  र त्यो आन्दोलनले कहाँ पुर्‍याउँछ भनेर भन्न सकिन्न ।'

काठमाण्डौ उपत्यकावासीको आन्दोलन कुनै पनि शक्तिले थेग्न नसक्ने भन्दै उहाँले समयै सचेत हुन सरकारको गभ्भीर ध्यानाकर्षण गराउनुभयो । उहाँले भन्नुभयो, 'काठमाण्डौका जनता उठेपछि कुनै पनि शक्तिले रोक्न सक्दैन । हेक्का राख्नुहोस् अहिले केपी शर्मा ओलीको सरकार ढल्ने भन्ने चिन्ता होइन । संविधानप्रति नै जनताले अनास्था गर्लान् भन्ने चिन्ता हो । काठमाण्डौका जनता जुरुक्क उठेपछि राजतन्त्र फालियो ।'

गुठीसम्बन्धी विधेयकमार्फत सरकारले ऐतिहासिक, पुरातात्विक महत्व, धर्म, संस्कृति र सम्पदामाथि धावा बोल्ने काम गरेको आरोप उहाँले लगाउनुभयो ।

सभामुख कृष्ण बहादुर महराले बिहीबारको बैठक प्रारम्भ भएको जानकारी गराएलगत्तै नेपाली कांग्रेस र राजपाका सांसदहरुले उभिएर सभामुखको ध्यानाकर्षण गराएपछि उहाँले भीमसेनदास प्रधानलाई बोल्नका लागि समय दिनुभएको थियो ।

अन्तिम अपडेट: चैत ११, २०८०

तपाईको प्रतिक्रिया