स्याउडाँडा विमानस्थल: सम्भाव्यता अध्ययन दुई पटक, प्रगति शून्य

 जेठ ३०, २०७६ बिहिबार १३:३०:२० | उपेन्द्र येक्तेन
unn.prixa.net

पाँचथर - फिदिम नगरपालिका–८, रानिटारमा निर्माण हुने भनिएको स्याउडाँडा विमानस्थलकाे सम्भाव्यता अध्यय्न गरिएको एक दशक बित्नलाग्दा पनि काम सुरु भएको छैन ।

दुई पटक सम्भाव्यता अध्ययन भए पनि विमानस्थल निर्माण चरणमा भने पुग्न सकेकाे छैन । २०६७ सालमा पहिलोपटक सम्भाव्यता अध्यय्न गरिएको त्यस ठाउँमा अघिल्लो वर्षको जेठ महिनामा फेरि सम्भाव्यता अध्ययन गरिएको थियो । दुई पटकसम्म सम्भाव्यता अध्ययन भएपछि  विमानस्थल निर्माण प्रक्रियामा अघि बढ्ने आशामा रहेका स्थानीय निर्माणको काम सुरु नभए पछि निराश हुन थालेका छन् ।

विमानस्थल नबन्ने  हो कि भन्ने स्थानीयमा शंकासमेत उत्पन्न भएको छ । त्यस ठाँउमा विमानस्थल निर्माणको लागि स्थानीयले एक सय रोपनी जग्गा निःशुल्क र अन्य आवश्यक जग्गा प्रतिरोपनी दश हजार रुपैयाँको दरले उपलब्ध गराउने प्रतिबद्धता जनाएका थिए ।

अघिल्लाे वर्ष गरिएको सम्भाव्यता अध्ययनमा १२ सय मिटर लम्बाई र ३० मिटर चौडाइको रनवेका लागि अध्ययन गरिएको अध्ययन टोलिले बताएको थियो ।

आर्थिक वर्ष २०७६-०७७ को बजेटमा पनि कुनै तहबाट हवाइमैदान निर्माणको लागि नसमेटिएपछि  विमानस्थल नबन्ने हो कि भन्नेमा जिल्लावासीको शंका बढ्न थालेको छ ।

हवाइमैदान निर्माणको जिम्मा संघीय सरकारको कार्यक्षेत्रमा पर्ने भएकाले संघीय सरकार र संघीय संसदसँग स्याउडाँडा हवाइमैदानको बारेमा छलफल भइरहेको प्रदेश एकका आर्थिक मामिला तथा योजनामन्त्री इन्दबहादुर आङबोले बताउनुभयो ।

अन्तिम अपडेट: चैत १४, २०८०

उपेन्द्र येक्तेन

पाँचथरका उज्यालो सहकर्मी उपेन्द्र येक्तेन इगल एफएममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया