संसदले सरकारको अप्ठयारो के छ भनेर बुझ्नु पर्ने होइन र ?: मन्त्री बाँस्काेटा

 जेठ ३०, २०७६ बिहिबार १९:१६:२६ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै - सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले स्थानीय तहमा कर्मचारी भर्नाका लागि लोकसेवा आयोगले खुलाएको विज्ञापन संविधान र प्रचलित कानुन बमोजिम नै रहेको बताउनु भएको छ । 

सरकारका प्रवक्तासमेत रहनुभएका उहाँले बिहीबार सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा संविधान र प्रचलित कानुन अनुसार नै लोकसेवा आयोगले विज्ञापन खुलाएको प्रतिक्रिया दिनुभएको हो । मन्त्री बाँस्कोटाले संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिले जनतालाई सेवा दिनुपर्ने सरकारको अप्ठयारो नबुझी त्यस सम्बन्धमा निर्देशन दिएको पनि उल्लेख गर्नुभयो ।

‘संसदले सरकारको अप्ठयारो के छ भनेर बुझ्नु पर्ने होइन र ?’ मन्त्री बास्कोटाले थप्नुभयो, ‘अप्ठयारो पारे पनि सरकारले जनतालाई सेवा दिनका लागि पनि स्थानीय तहको माग बमोजिम कर्मचारी त दिनुपर्ला नि ।’

मन्त्री बाँस्कोटाले संसदीय समितिले करारमा कर्मचारी नियुक्ति गर्न दिएको निर्देशनमाथि पनि प्रश्न उठ्ने स्पष्ट पार्नुभयो । ‘पोलिटिकल टाइपबाट साला-साली, भदा-भदै नियुक्ति गरियो’ भनेर प्रश्न उठाउने गरेको पनि मन्त्री बाँस्कोटाले स्मरण गराउनु भयो ।

मन्त्री बाँस्कोटाले गुठीसम्बन्धी विधेयकमा देखिएको समस्या सरोकारवाला निकायसँग छलफल गरेर टुंगो लगाउने पनि बताउनु भयो । सरकार मुलुकको संस्कृतिको संरक्षण गरेर अघि बढ्न प्रतिबद्ध रहेको मन्त्री बाँस्कोटाको भनाइ छ ।

उहाँले मिडिया काउन्सिल विधेयकमा पनि सरोकारवालाको जायज माग सम्बोधन गर्न सकिने बताउनु भयो ।

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया