पटक-पटक दोहोरिएका नेपाली चलचित्रका यी जोडी

 जेठ ३१, २०७६ शुक्रबार १३:३८:३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – सामान्यतया एउटा नेपाली चलचित्रमा काम गरेका अभिनेता र अभिनेतृको जोडी विरलै अर्काे चलचित्रमा दोहोरिन्छ । तीमध्ये पनि केही जोडी मात्र रुचाइन्छन् या भनौँ दर्शकले मन पराउँछन् ।

आज हामी नेपाली चलचित्रमा बारम्बार दोहोरिएका जोडीहरुको चर्चा गर्दैछौँ ।  

पल शाह र आँचल शर्मा

नेपाली चलचित्र ‘नाइँ नभन्नु ल ४’ बाट एकसाथ चलचित्रमा प्रवेश गरेकोे जोडी हो, पल शाह र आँचल शर्माको । 

पहिलो चलचित्रमा काम गरेपछि दुवैको अफेयरको हल्ला पनि चलिरहेको छ । उनीहरुको प्रेमको कुरा बाहिर चलिरहेको भए पनि यी दुईले भने अहिलेसम्म पनि आफूहरु प्रेममा रहेको कुराको आधिकारिक जानकारी दिएका छैनन् ।

पहिलो चलचित्र ‘नाइँ नभन्नु ल ४’ पछि उनीहरु अर्काे चलचित्र ‘जोनी जेन्टलम्यान’ मा दोहोरिए । ‘जोनी जेन्टलम्यान’ मा पनि दर्शकले यो जोडीलाई रुचाए । यो चलचित्रमा सँगै काम गरेपछि दर्शकले उनीहरुलाई रियल जोडीको रुपमा हेर्न चाहेको प्रतिक्रिया पनि आइरहेको छ । उनीहरुको जोडीलाई दर्शकले चलचित्रसँगै म्युजिक भिडियोमा पनि रुचाएका छन् ।  

‘जोनी जेन्टलम्यान’ पछि यो जोडी मह सञ्चारको निर्माणमा बनेको चलचित्र ‘शत्रु गते’ मा पनि सँगै देखिए । ‘शत्रु गते’ मा तेस्रो पटक दोहोरिएको यो जोडीलाई दर्शकले रुचाए पनि । 

आकाश श्रेष्ठ र पूजा शाह

त्यस्तै एकपछि अर्को चलचित्रमा दोहोरिएको अर्को जोडी हो, पुजा शर्मा र आकाश श्रेष्ठको । यो जोडीले चलचित्र ‘रामकहानी’ मा काम गरिसकेपछि छुट्टिएर काम गरेका छैनन्    । 

‘रामकहानी’ मा सँगै काम गरेपछि धेरै दर्शकले यो जोडीको प्रशंसा गरेका थिए । उनीहरुलाई पर्दाको जोडीका रुपमा मात्र नभएर रियल जोडीका रुपमा पनि हेर्न चाहने धेरै छन् । 

‘रामकहानी’ लाई दर्शकले रुचाएपछि यो जोडीले चलचित्र ‘सम्हालिन्छ कहिले मन’ मा पनि स्क्रिन सेयर गरेका छन् । यो चलचित्रलाई सुदर्शन थापाले निर्देशन गरेका हुन् । चलचित्रको छायाँकन सम्पन्न भैसकेको छ । 

त्यसपछि फेरि पनि यो जोडीले अर्को चलचित्रमा सँगै काम गर्ने अवसर पाए । अहिले छायांकन भैरहेको चलचित्र ‘पोइ पर्यो काले’ मा पनि यो जोडीले सँगै काम गरिरहेका छन् । तर चलचित्रमा उनीहरु जोडीकै रुपमा छन् या छैनन् त्यो भने खुलाइएको छैन । 

पल र आँचल जस्तै यो जोडीलाइ पनि दर्शकले अत्यन्तै रुचाएका छन् । यो दुई जोडी पछिल्लो समय एउटै चलचित्रमा धेरै पटक दोहोरिएको जोडी हो । 
यसअघि पनि केही सेलिब्रेटी जोडीहरु धेरै पटक दोहोरिएका छन् । 

राजेश हमाल करिश्मा मानन्धर

एक समय नेपाली चलचित्र उद्योगमा अभिनेता राजेश हमाल र करिश्मा मानन्धरलाई राख्यो भने चलचित्र चल्छ भन्ने छाप निर्माता तथा निर्देशकहरुमा परेको थियो । दर्शकले पनि यो जोडीलाई अत्यन्त रुचाउँथे । 

यही कारण यो जोडी केही चलचित्रमा दोहोरिन पुग्यो । सँगसँगै काम गर्ने क्रममा यी दुई एकअर्काको नजिक भएको खबर पनि थियो । तर त्यो हल्लामा मात्र सीमित भयो । 

‘साथी,’ ‘एक नम्बरको पाखे,’ ‘किन किन,’ ‘बरदान,’ ‘जिन्दगानी,’ ‘चण्डाल,’ ‘हो यही माया हो’ लगायतका सिनेमामा यो जोडीले सँगै काम गरेका छन् । यसका साथै यी दुईले केही म्युजिक भिडियोमा पनि स्क्रिन सेयर गरेका छन् । 

राजेश हमाल निरुता सिंह

अभिनेता राजेश हमाल अभिनेत्री निरुता सिंहसँग पनि केही चलचित्रमा दोहोरिएका छन् । यी दुईको जोडी पनि दर्शकले रुचाएको जोडी हो ।

यी दुईले ‘खान्दान,’  ‘मन  मन्दिर,’ ‘अजम्बरी नाता,’ ‘चाँदनी,’ ‘फर्की आउ,’ ‘राम लक्ष्मण’ लगायतका सिनेमामा पर्दा सेयर गरेका छन् । सिनेमामा यी दुईको जोडी सुहाएका कारण यी दुईको नाममा केही गीतहरु पनि बनेका थिए ।

निखिल उप्रेती र सञ्चिता लुइँटेल

अहिले जीवनसाथी भैसकेका निखिल उप्रेती र सञ्चिता लुइँटेल पनि पटक पटक दोहोरिने जोडीमा पर्छन् । यी दुईले चलचित्र ‘दाग,’ ‘माया त माया हो,’ ‘सम्झना,’ ‘भाग्य विधाता,’ ‘मर्यादा’ लगायतमा सँगै काम गरेका छन् । 

दीपकराज गिरी र प्रियंका कार्की

प्रियंका कार्की र दीपकराज गिरीको जोडी पनि लगातार तीनवटा सिनेमामा दोहोरिएको छ ।  ‘वडा नम्बर ६,’ ‘छक्का पञ्जा’ र ‘छक्का पञ्जा २’ मा दीपक र प्रियंकाले जोडीको रुपमा काम गरेका छन् । ‘छक्का पञ्जा ३’ मा पनि दिपक र प्रियंका दुवैले अभिनय गरे पनि जोडीको रुपमा भने प्रस्तुत भएका छैनन् । 

दयाहाङ राई र प्रियंका कार्की

अभिनेता दयाहाङ राई र प्रियंका कार्कीको जोडी पनि पटक पटक दोहोरिएको छ । यो जोडीले ‘झोले,’ ‘फन्को,’ ‘पुरानो डुङ्गा,’ ‘ह्याप्पी डेज’ लगायतका चलचित्रमा काम गरेका छन् । 

आर्यन सिग्देल र नम्रता श्रेष्ठ

आर्यन सिग्देल र नम्रता श्रेष्ठको जोडी पनि यही सूचिमा पर्छ । यी दुईले ‘मेरो एउटा साथी छ,’ ‘नोभेम्बर रेन,’ ‘क्लासिक,’ ‘होमवर्क’ लगायतका सिनेमामा स्क्रिन सेयर गरेका छन् । 

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया