विद्यालयमै खाजाको व्यवस्था: नियमित हुन थाले विद्यार्थी

 जेठ ३१, २०७६ शुक्रबार १८:८:१९ | श्यामशितल परियार
unn.prixa.net

लमजुङ - लमजुङको सुन्दरबजार नगरपालिका–८, बलिथुममा रहेको भारती सदन माविमा दिवा खाजाको व्यवस्था गरिएकाे छ ।

विद्यालय र अभिभावकको साझेदारीमा विद्यालयमा जेठ १ गतेदेखि दिवा खाजाको व्यवस्था सुरु गरिएको हो । सुरुवातका चरणमा बाल विकास केन्द्रका साथै कक्षा १, कक्षा २ र कक्षा ३ सम्ममा पढ्ने ३६ जना विद्यार्थीलाई लक्षित गरी दिवा खाजाको व्यवस्था गरिएको विद्यालयका प्रधानाध्यापक ज्ञानबहादुर कार्कीले जानकारी दिनुभयो ।

विद्यालयमा दिवा खाजाको व्यवस्था गरिएसँगै विद्यार्थी नियमित विद्यालय आउनुका साथै पढाइमा समेत ध्यान दिने गरेको प्रअ कार्कीले बताउनुभयो ।

‘पहिले विद्यार्थी नियमित विद्यालय आउँदैनथे । पढ्न आएतापनि बीचैमा कक्षा छोडी घर जाने गर्दथे । पढाईमा त्यति ध्यान दिदैँनथे,’ उहाँले भन्नुभयो, ‘विद्यालयमा खाजाको व्यवस्था भएसंगै अहिले विद्यार्थी नियमित विद्यालय आउन थालेका छन् । पढाइमा ध्यान दिन थालेका छन् ।’

उहाँका अनुसार खाजामा भएको खर्चको मासिक रुपमा हिसाब गरी ५० प्रतिशत रकम विद्यालयले र बाँकी रकम सम्बन्धित अभिभवाकले बेहोर्छन् ।

विद्यालयका शिक्षक नारयाण सेढाइँका अनुसार प्रत्येक अभिभावकले आफ्नो पालोमा विद्यालयसम्म आएर खाजा पकाउनुका साथै विद्यार्थीलाई खुवाउँछन् अनि सरसफाइ गर्छन् ।

‘खाजा पकाउने, खुवाउने र सरसफाइ गर्ने काम अभिभावकले नै गर्नुहुन्छ । प्रत्येक अभिभावकले पालैपालो यो जिम्मेवारी लिनुहुन्छ,’ उहाँले भन्नुभयो, ‘यस कामका लागि प्रत्येक अभिभावकको महिनामा एकचोटी पालो पर्छ ।’

विभिन्न संघसंस्थासँग सहयोग माग गरिएको र सहयोग पाएमा सबै विद्यार्थीलाई दिवा खाजाको व्यवस्था गर्ने विद्यालयको लक्ष्य रहेको प्रअ कार्कीले बताउनुभयो ।

१ सय ६४ विद्यार्थी पढ्दै आएका यस विद्यालयमा ९० प्रतिशतभन्दा बढी दलित र जनजाति समुदायका विद्यार्थी अध्ययनरत छन् । 

अन्तिम अपडेट: चैत २९, २०८०

श्यामशितल परियार

श्यामशितल परियार उज्यालोकाे लमजुङ र मनाङ जिल्ला सम्वाददाता हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया