तोक सेवामा जागिर, मुठीमा गुठी : मन्त्रीलाई खोला, युवालाई खाडी !

 जेठ ३२, २०७६ शनिबार ८:११:३१ | मिलन तिमिल्सिना
unn.prixa.net

यो हप्ता देशमा के–के मात्र भएन ! पुल उद्घाटन गरेर फर्किएका मन्त्री गाडीमा चढी चढी पुल नभएको खोलामा डुबे ।

यता देशमा रेल ल्याउन लागेका मन्त्री खोलामा डुबेको खबर आउँदा उता रेलको सपना देखाउने प्रधानमन्त्री लण्डनबाट पानी मुनि चल्ने रेल चढेर पनि ओभानै लुगामा पेरिस पुगेको खबर आयो । लोक सेवा आयोग तोक सेवाको पुरानै बाटोमा फर्कियो । प्राचीन गुठी मुठीमा पार्ने काम यसै साता सुरु भयो ।

स्कुल क्याम्पसका चौरमा दुबो उखेल्ने काम दिएर रोजगार कार्यक्रम सुरु भयो । देशभित्र रोजगारी अभियान सुरु हुँदा विदेश जानेलाई बाटो फराकिलो बनाउने काम पनि नबिर्सिकन भैरह्यो । यी सबै काम यसै साता सुरु भए । अथवा नहुनुपर्ने सबैथोक भयो, हुनुपर्ने केही भएन ।

सतहमा एकैपटक देखिएका यी उदेकलाग्दा कुरालाई एकछिन एकै ठाउँमा राखेर घोलघाल पारौँ है त  !

लोक सेवा र तोक सेवामध्ये कुन चाहिँ सजिलो होला ? उत्तर सजिलो छ – तोक सेवा । लोक सेवामा घुँडा धसेर, टुपी कसेर, कलम टोकीटोकी कनीकुथी लेखेर, भनसुन गरेर, पाउ परेर, ज्यू हजुर गरेर मात्र सरकारी जागिर खान पाइन्छ । तर तोक सेवामा नेताजीलाई धनुष्टंकार नमस्कार गरे मात्र पुग्छ । त्यसपछि नेताजीले आफै जागिर दिन्छन् । न टुप्पी कसेर पढ्न पर्छ, न कलम धसेर लेख्न ।

तोक सेवाले धनुष्टंकार नमस्कार गर्दै दिनरात पाउ मोल्नेलाई मात्र होइन, नमस्कार खाँदै र पाउ तेर्साउँदै गम्किनेहरुलाई पनि फाइदा पुग्छ । सेवा लिनेलाई पनि फाइदा, सेवा दिनेलाई त झन् दीर्घकालसम्मको फाइदा ।

पढ्दै नपढी जागिर पाउँदा कार्यकर्तालाई फाइदा । ठाउँमा आफ्नै कार्यकर्ता हुँदा नेताजीलाई फाइदा । जे भन्यो त्यही गर्न पाइने, जति मन लाग्यो त्यति खान पाइने । आज नगरे कहिले गर्ने ? आज नखाए कहिले खाने ? आफू ठाउँमा भएकै बेला आफूले भनेअनुसार गर्न नपाए, अरुबेला कहिले गर्ने ?

देश लोक सेवामा भन्दा तोक सेवामै चलेको राम्रो । त्यसैले त लोक सेवालाई तोक सेवा र ठोक सेवा बनाउन नेताजीहरु कम्मर कसेर लागेका छन् । लोक सेवालाई तोक सेवा बनाउन पाए ठाउँमा आफ्ना मान्छे राख्न पाइन्छ । अनि गुठीलाई मुठीमा लिन पाए भूमाफियासँग मित लगाउन मिल्छ ।

बालुवाटार नै बालुवाको भाउमा किनबेच भैसक्दा गुठीलाई मुठीमा पार्न खोज्नु नयाँ कुरा पनि भएन । दुई तिहाईले जे गर्न खोज्यो, त्यही हुनुपर्छ । तर गुठीको भरमा जात्रामात्रा, संस्कृति र परम्परा धान्दै आएकाहरुलाई यो कुरा चित्त बुझेन । गुठीलाई मुठीमा लिन हुँदैन भनेर माइतीघर मण्डलामा धर्ना दिन गए ।

पहिलेपहिले माइती घर जाँदा सासुले बुहारीलाई बेला न कुबेला गएकी भनेर गाली गर्थिन, हप्काँउथिन् । कुनै कुनै बुहारीले त पिटाई पनि भेट्थे । अहिले जमाना फेरियो । माइतीघर जाँदैमा बुहारीले सासूको हातबाट पिटाई खानु पर्दैन । तर प्रहरीले चाहिँ माइतीघर जानेलाई पिट्न थालेको छ । गुठी विधेयकको विरोधमा माइतीघरमा धर्ना दिन गएकालाई प्रहरीले लौरोसँगै पानीको फोहोरा वर्षायो । चर्को घाममा पानीको फोहोरा पाउँदा केहीलाई त अलिअलि मज्जै भयो होला । तर लौरो र लात्ती खानेहरुले चै पानीको साटो पसिनाका धारा छुटाए । चित्त दुखाए ।

यता माइतीघरमा पानीको फोहोरा चलिरहँदा स्याङ्जाको खोलामा डुबुल्की मार्न पुगेका यातायात मन्त्रीलाई चाहिँ साहै्र नमज्जा भो । मन्त्री महोदय एउटा खोलामा हाल्न लागेको पुल उद्घाटन गरेर गमक्क परेर गाडीमा फर्किंदै थिए । तर अर्को खोलाले पुल नपाएको झोँकमा मन्त्रीको गाडी डुबाइदियो । रिबन काटेर अबीर जात्रा गरि फर्केका मन्त्रीको रंग खोलाको पानीले स्वात्तै पखालिदियो । मन्त्री महोदय खाल्डोमा परेको मुसोझैँ भिजे । चिसै दौरा सुरुवालमा फर्किए ।

यसरी खोलामा ओहोरदोहोर गर्दा को कति डुबे, त्यसको हिसाब भएन । तर मन्त्री डुब्दा चारैतिर हल्लाखल्ला भयो । यातायातमन्त्री खोलामा डुबेर निस्कँदै गर्दा प्रधानमन्त्री युरोपमा समुन्द्र मुनिको भूमिगत रेलमा सयर गर्दै थिए ।

यहाँ रेल चल्ने ठेगान छैन । रेलकै कुरा गरेर चर्चा कमाएका प्रधानमन्त्रीले उता एउटै रेलमा चढेर जमिनमाथि, जमिनमुनि र पानीमुनि कुद्ने रेल यात्राकोे आनन्द लिए । पहिले राजनीतिमा भूमिगत हुँदा लुक्नुपथ्र्यो, अहिले भूमिगत रेल चढ्दा सल्लाहकारहरुले फोटो हालेर प्रचार गरिदिन्छन् ।  अब नेपाल फर्केपछि प्रधानमन्त्रीले रेलको गफमा केही लिटर तेल त थपेरै कुरा गर्लान् । हिजोआज देश रेलका कुरामा मसला जसरी तेल थप्दा आउने हाँसोको प्रतीक्षामा छ । प्रधानमन्त्रीका मसालेदार गफ सुन्न धेरै मानिस बिमानघाट पुगेको हेर्न मलाई चाहिँ आजैदेखि टीभी बन्द गर्न नपरे हुन्थ्यो जस्तो लागेको छ ।

प्रधानमन्त्रीका मसालेदार गफ कुनै मसालेदार फिलिमभन्दा कम हुन्नन् । फिलिम मसालेदार र धमाकेदार होस् या नहोस्, त्यसलाई राम्रो छ भन्नुपर्छ । नत्र फिल्म राम्रो छैन भनेर समीक्षा गर्दा प्रहरीको खोरमा पुग्ने डर हुन्छ । त्यसैले प्रधानमन्त्रीले फिलिमको शैलीमा भन्ने कुरा पनि पत्याउनुपर्छ । राम्रो छ भन्नुपर्छ ।

प्रधानमन्त्रीकै कुरा गर्दा उहाँसँग जोडिएर आएको एउटा कार्यक्रमको पनि यतिबेला खुब चर्चा छ– प्रधानमन्त्री रोजगार कार्यक्रम । यसले सत्तारुढ पार्टीका कार्यकर्तालाई पैसा बाँड्ने खेलो भयो भनेर विरोधीले विरोध गरेका छन् । नामै प्रधानमन्त्री रोजगार कार्यक्रम । अनि प्रधानमन्त्री र उहाँको नजिक भएका मान्छेलाई नभए अरु कसलाई हुन्छ ? यदि भिन्न पार्टीका कार्यकर्तालाई काम र दाम दिन थालिएको छ भने पनि रोक्नुपर्छ । नामै प्रधानमन्त्री रोजगार भएपछि प्रधानमन्त्री र उहाँको पार्टीलाई मन पराउने मान्छेलाई मात्र रोजगारी दिनुपर्छ । अनि पो नाम अनुसारको काम हुन्छ । काम अनुसारको दाम मिल्छ ।

त्यसमाथि काम नपाउनेलाई काम र बेरोजगार भत्ता दिनुभन्दा विदेश धपाउनै सजिलो हुन्छ । लोक सेवा पास गरेर सरकारी जागिर खान्छु भनेर मुख आँ गर्नेहरु ट्वाँ परे । नेताको दौराको फेरो नसमाएरै काम गर्छु भन्नेहरु पनि हेरेका हेर्यै हुने भए । अनि ट्वाँ पर्ने र हेरेको हेर्यै गर्नेहरुलाई देशमै राखेर किन पाल्ने ? त्यसैले विदेश धपाउने । सित्तैमा जान पाइन्छ भन्दै विभिन्न देशसँग सम्झौता गर्ने । फाइल साटासाट गर्ने । के के न गर्छु भन्दै धाक लगाउने, तर पुरानै कुरामा रमाउने । विदेशबाट आएकै पैसामा दंग पर्ने ।

कुरो जति गरे पनि, दिमाग जति घुमाए पनि कुरो यही हो– नेता रिझाउन सक्नेलाई तोकसेवा, रिझाउन नसक्नेलाई खाडीकै मेवा ! मुठीमै गुठी, सक्नेले खान्छन् लुटीलुटी, नसक्नेले विरोध गर्छन् उठीउठी ।

अन्तिम अपडेट: असोज ३, २०७६

मिलन तिमिल्सिना

दुई दशकदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न मिलन तिमिल्सिना समसामयिक विषयमा विश्लेषण र व्यंग्यमा दखल राख्नुहुन्छ। 

तपाईको प्रतिक्रिया