किसानको गुनासो : ऋण पाइँदैन, उत्पादनले मूल्य पाउँदैन अनि कसरी गर्नु कृषि?

 जेठ ३२, २०७६ शनिबार ९:७:२४ | श्यामशितल परियार
unn.prixa.net

लमजुङ – लमजुङका किसानहरुले सरकारी अनुदान बाँड्दा वास्तविक किसानलाई दिनुपर्ने बताएका छन् । कतिपय अवस्थामा सरकारी अनुदान पहुँच भएकाले पाउने तर वास्तविक किसानले नपाएको अवस्था रहेको उनीहरुले बताएका छन् ।

साना किसान कृषि सहकारी संस्था लिमिटेडद्वारा सुन्दरबजारमा आयोजित स्थानीय सरकार (नगरपालिका) र किसानबीच भएको अन्तरक्रियामा स्थानीय किसानले यस्तो बताएका हुन् ।

अन्तरक्रियामा बोल्दै सुन्दरबजार नगरपालिका–७, पाउँदीकाव् यावसायिक गाईपालक किसान दिनेश पोखरेलले असल किसानलाई सरकारी अनुदान दिनुपर्ने बताउनुभयो । ‘किसानको पहचिान गरी वास्तविक किसानलाई सरकारी अनुदान दिनु आवश्यक छ’, उहाँले भन्नुभयो ।

माछापालक किसान शैलेन्द्र पौडेलले आफूले व्यावसायिक रुपमा कृषि कर्ममा लाग्द पनि अनुदान पाउन नसकेको गुनासो गर्नुभयो । ‘धेरै पहिलेदेखि कृषि कर्ममा छु । सुरुमा कुखुरा पालेँ । कुखुराबाट राम्रो आम्दानी हुन सकेन । लगानी डुब्यो । अहिले माछापालन व्यवसाय सुरु गरेको छु’, उहाँले भन्नुभयो, ‘तर अनुदान पाउन सकेको छैन ।’

आफूले झण्डै २ रोपनीजग्गामा ३ वटा माछा पोखरी बनाई माछा पालेको र २ वटा टनेलमा तरकारी उत्पादन गरिरहेको उहाँले बताउनुभयो । किसान रघुनाथ भट्टराईले वास्तविक किसानले अनुदान पाउन नसक्नुका साथै वित्तीय संस्थाले पनि खासै ऋण नदिएको बताउनुभयो । ‘ऋण पाइँदैन । मेहनतले कृषि उत्पादन गर्यो, उचित मूल्य पाइँदैन’, उहाँले भन्नुभयो, ‘अनि कसरी गर्नु कृषि?’

व्यावसाियक माछापालक किसान श्रीकृष्ण घिमिरेले आफूले विधिवत् रुपमा कृषि फर्म दर्ता गरी व्यवसाय अघि बढाएको बताउनुभयो । ‘फर्म दर्ता गरी आवश्यक तालिम लिएर कृषि कर्ममा लागेको छु’, उहाँले भन्नुभयो, ‘सम्बन्धित निकायबाट सहयोग मिलिरहेकै छ ।’ 

सुन्दरबजार–६, ऐशेलुचौरका चन्द्रबहादुर तामाङले युवालाई व्यवसायिक कृषिकर्ममाआकर्षित गर्न स्थानीय सरकार लाग्नुपर्ने बताउनुभयो । ‘कृषिमा युवाको आकर्षण बढाउन स्थानीय सरकारले ठोस योजना बनाई लगानी बढाउनु आवश्यक छ’, उहाँले भन्नुभयो ।

धानको बीउ उत्पादक किसान खुशीराम मिश्र, रघुनाथ भट्टराई, राजु पोखरेल, ऋषिराम पोखरेल, पार्वती पौडेल, रुद्रहरि ढकाललगायतले बोल्दै किसान मर्कामा परेको र बिचौलिया मोटाउने गरेको बताएका छन् ।

उनीहरुको स्थानीय सरकारलाई सुझाव छ, ‘स्थानीय सरकारले किसानको समस्या हलका लागि पहलकदमी लिनुपर्छ । अनुगमनको पाटोलाई अगाडि बढाउनु आवश्यक छ ।’ सहभागी किसानको जिज्ञासा, गुनासा सुनेपश्चात् सुन्दरबजार नगरपालिकाका मेयर जनकराज मिश्रले कृषकको समस्या समाधानका लागि स्थानीयले सरकारले पहलकदमी लिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । कृषि तथा पशुपालनमा कृषकको आकर्षण बढाउन लगानी पनि बढाइने उहाँले बताउनुभयो ।

खाद्यान्नमा आत्मनिर्भर बनाउने लक्ष्यका साथ आफूहरु लागिपरेको बताउँदै मेयर मिश्रले भन्नुभयो, ‘समृद्धिको आधार नै कृषि हो । कृषिमैत्री बजेट निर्माण गर्नुपर्छ भन्ने बुझेको छु ।’

सहकारीका अध्यक्ष सुकमाया गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा सुन्दरबजार नगरपालिकाका विभिन्न विषयगत कार्यालयका प्रमुख प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
 

अन्तिम अपडेट: बैशाख ८, २०८१

श्यामशितल परियार

श्यामशितल परियार उज्यालोकाे लमजुङ र मनाङ जिल्ला सम्वाददाता हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया