अब भक्तपुर आफैले विपद् व्यवस्थापन गर्न सक्छ (फाेटाे फिचर)

 जेठ ३२, २०७६ शनिबार १३:३८:१९ | उज्यालो सहकर्मी
unn.prixa.net

भक्तपुर – कुनै पनि विपद्को पूर्व तयारी र तत्काल उद्धार गरी विपद् व्यवस्थापन गर्न भक्तपुर जिल्ला अब सक्षम भएको छ । 

नेपाली सेना वीरदल गणले शनिबार मध्यपुरथिमि नगरपालिका ४ मा रहेको दुई वटा पोखरीमा डुबानमा परेकाहरुको उद्धार एवं प्राथमिक उपचारसम्बन्धी 'डेमोनस्ट्रेशन' अर्थात् परीक्षण प्रर्दशन गरेको हाे ।

परीक्षण प्रदर्शनपछि गत वर्षको असार २७ गते भीषण वर्षाका कारण हनुमन्ते नदीमा आएको बाढीले मध्यपुरथिमि नगरपालिका क्षेत्रका बस्ती डुबानमा पर्दा उद्धार सामाग्रीको अभावमा झेल्नु परेको समस्या अब नदोहोरिने सरोकारवालाहरुले बताएका छन् । गत वर्षको डुबानमा उद्धार सामग्रीको अभावमा सुन्दरी जलबाट नेपाली सेनाको ब्यारेकबाट बोट (डुङ्गा) लगायतका उद्धार  सामाग्री मगाउनु परेको थियो । 

गत वर्षको डुबानपछि भक्तपुर क्षेत्र नं. २ का प्रतिनिधि सभा सांसद एवं पूर्व उद्योगमन्त्री महेश बस्नेतको पहलमा स्थानीय रोमन शिलाकार, श्रीभक्त कासिछ्वा, विज्ञान राई, निर्भयबाबु प्रसाइँलगायतका २३ जनाबाट प्रतिव्यक्ति  एक लाख रुपैयाँका दरले सहयोग रकम संकलन गरेर उद्धारका सामाग्रीहरु खरिद गरेको थियो ।  

डुबान, बाढी, पहिरो, आगोलागीजस्ता विपद्का बेलामा आवश्यक पर्ने सम्पूर्ण सामाग्रीहरु र उद्धारमा खटिने सुरक्षाकर्मीसहित स्थानीय व्यक्तिहरुलाई तालिम दिई जनशक्ति समेत तयार पारेको छ । 

मध्यपुरथिमि नगरपालिकाले हालै जिर्णोद्धार गरेर पानी भरेको दुई वटा पोखरीमा शनिबार नेपाली सेनाले आयोजना गरेको प्रर्दशनमा तीन वटा ढुङ्गामा उद्धारकर्मी सहितको टोलीले पानीमा डुबेका व्यक्तिको डुङ्गामार्फत उद्धार गर्ने र प्राथमिक उपचार गर्ने बारेमा प्रर्दशनी गरेको हो ।  

सांसद महेश बस्नेतले भक्तपुरका आम जनताको समन्वय, नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरीलगायत विभिन्न संघसंस्थाले खेलेको भूमिकाकै कारण भक्तपुर विपद् व्यवस्थापनमा अन्य जिल्लाभन्दा अघि रहेको बताउनुभयो । ‘भक्तपुरमा अब जस्तोसुकै विपद् आए पनि सबै खालको उद्धार गर्ने सामग्री र जनशक्ति पूर्णरुपमा तयारी अवस्थामा रहेको छ’, सांसद बस्नेतले भन्नुभयो । 

भक्तपुरको विकासमा सबैको एकताबाट मात्र समृद्धि हासिल गर्न सकिने बताउँदै उहाँले गत वर्षको असार २७ गते हनुमन्ते नदीमा आएका बाढीले ल्याएको विपद्जस्ता समस्या अब दोहोरिन नदिन तयारी अवस्थामा रहनुपर्नेमा जोड दिनुभयो ।

भक्तपुरमा दीर्घकालीन बाढीको समस्या समाधान गर्न पहिलो चरणमा ८१ करोड रुपैयाँको लागतमा राधे–राधेदेखि चारदोबाटोसम्म हनुमन्ते नदीको करिडोर निर्माण कार्य भैरहेको र दोस्रो चरणमा ७५ करोड रुपैयाँको लागतमा दुई चरणमा निर्माण सम्पन्न गर्ने तयारी भएको बताउनुभयो । उहाँले अब मनोहरा करिडोरको लागि समेत बहुवर्षीय आयोजना पार्न सफल भएको बताउनुभयो ।

मध्यपुरथिमि नगरपालिका प्रमुख मदन सुन्दर श्रेष्ठले मध्यपुरथिमिमा भएको प्रर्दशनीले भक्तपुर अब विपद व्यवस्थापनमा सक्षम भएको बताउनुभयो । त्यस्तै प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले गत वर्षको जस्तो विपद् अब भक्तपुरले भोग्नु नपर्ने र विप आएमा अरुको भर पर्न नपर्ने बताउनुभयो । 

नेपाली सेनाको वीर दल गणका प्रमुख एवं कर्णेल शिवप्रसाद पौडेलले रेस्क्यू रोप, सेफ्टी हेल्मेट, भर्याङ, लाइफ ज्याकेट, अग्नि नियन्त्रक यन्त्र, चेन स, डोरी, बोटलगायत विभिन्न सामग्रीहरु सुरक्षित रुपमा राखिएको बताउनुभयो । 

उहाँले दुई दिने विपद् व्यवस्थापनसम्बन्धी तालिममा ६७ जनालाई विपद् व्यवस्थापन तालिम दिएर दक्ष बनाइएको बताउनुभयो । 

अन्तिम अपडेट: बैशाख ४, २०८१

तपाईको प्रतिक्रिया