मेयरले गौरवको योजनाको टेन्डर नखोली अलपत्र पारिदिएको वडाध्यक्षको आरोप

 जेठ ३२, २०७६ शनिबार १४:२६:२३ | हेमराज शर्मा
unn.prixa.net

दाङ - तुलसीपुर उपमहानगरपालिका-१३ का वडाध्यक्ष डम्मरबहादुर न्यौपानेले मेयर घनश्याम पाण्डेले आफ्नो वडामा परेको गौरवको योजनामा टेन्डर नै नखोलेको आरोप लगाउनु भएको छ । 

शनिबार तुलसीपुरमा पत्रकार सम्मेलन गर्दै वडाध्यक्ष न्यौपानेले आर्थिक वर्ष २०७५-०७६ को वडाले पाउनु पर्ने नगर सभाबाट पारित ३५ लाख बजेट नपाएको गुनासो गर्नुभयो । सात लाखभन्दा बढीको विकासे काम गर्दा उपमहानगरपालिकाले नै टेन्डर आह्वान गर्नुपर्ने भए पनि गौरवको योजनामा राखेको राप्ती राजमार्गदेखि पनालीबोटसम्म सडक कालोपत्रे तथा स्तराेन्नतिको लागि छुट्याइएको बजेटमध्ये ३५ लाख नदिएको वडा अध्यक्ष न्यौपानेले बताउनुभयो ।

पटक-पटक कार्यपालिका बैठकमा कुरा उठाउँदा समेत सुनुवाइ नभएपछि आफू बाध्य भएर मिडियासमक्ष आएको पत्रकार सम्मेलनमा न्यौपानेले बताउनु भयो ।

‘मेरो वडाको गौरवको योजना नै गायब पारिएको छ । नगरकै विकट १३ नम्बर वडालाई झनै पछाडि धकेल्ने षड्यन्त्र भएको छ,’ न्यौपानेले भन्नुभयो, ‘अविलम्ब सडक स्तराेन्नतिको लागि टेन्डर आह्वान हुनुपर्छ । मलाइ र जनतालाई झुक्याउने खेल बन्द हुनुपर्छ।’

राप्ती राजमार्गदेखि पनालीबोट सडक खण्डको स्तराेन्नति हुने आशामा बसेका जनता आर्थिक वर्ष सकिनै लाग्दासमेत तुलसीपुरका मेयरले टेन्डर आह्वान नगर्दा निराश भएको वडा अध्यक्ष न्यौपानकाे भनाइ थियो ।

 

अन्तिम अपडेट: बैशाख ७, २०८१

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया